संसदीय व्यवस्था अन्तर्गत हुने चुनावलाई कम्युनिस्ट क्रान्तिकारीहरुले सामान्यत: कार्यनीतिक विषयको रुपमा लिने गर्दछन् । त्यो भनेको यी चुनावहरुलाई पार्टी र क्रान्तिको बढी हित चुनावलाई उपयोग वा बहिष्कार जे गरेर हुन्छ त्यही गर्नुपर्छ भनेको हो । कुनै एउटा चुनावमा एकपटक भाग लिएपछि अर्को पटकमा बहिष्कार गर्न सकिने र कुनै अर्को चुनावमा एकपटक बहिष्कार गरेपनि अर्को पटकमा भाग लिन सकिनेलाई अर्थात् तत्काल बदल्न सकिने नीतिलाई (कार्यनीति) भनिदै आइएको छ । लेनिनले त कार्यनीतिलाई २४ घण्टामै बदल्न सकिने नीतिको रुपमा व्याख्या गर्नुभएको जग जाहेरै छ ।
 
कुनै प्रतिक्रियावादी व्यवस्था अन्तर्गतको कुनै स्थानीय वा केन्द्रीय चुनावमा भाग लिएर यसलाई देस, जनता, पार्टी र क्रान्तिको लागि उपयोग गर्न सकिने स्थिति छ वा यसलाई बहिष्कार गरेर यसो गर्न सकिने स्थिति छ भनेर निर्णय गर्नुपर्ने हुन्छ । यो निर्णय गर्ने कुरा अलि जटिल, कठिन र गम्भीर कुरा हो । यही कुरालाई सही ढङ्गले खुट्टाउन नसक्दा कम्युनिस्टहरु गम्भीर संकटमा फस्दछन् । परिस्थितिको ठोस आँकलन आफैमा गाह्रो त हो नै तर त्यसलाई बढी जटिल, गम्भीर र गलत बनाउने काम हाम्रा गलत सोंच, स्वार्थ, शैली, संस्कार र संस्कृति आदिबाट हुन्छ । त्यसैले हामीले नितान्त स्वच्छ, निस्पक्ष, निस्वार्थ र आग्रह-पूर्वाग्रहमुक्त भएर सोंच्नुपर्छ भने वस्तुवादी, द्वन्द्ववादी र बैज्ञानिक  विश्लेषण गरेर निष्कर्ष निकाल्न सक्नुपर्छ । 
 
चुनाव उपयोग वा बहिष्कारबारे यसरी निर्णय गर्न सकेमा त्यो निर्णय वा नीति  क्रान्ति, पार्टी, देस र जनतालाई हित गर्ने सही क्रान्तिकारी कार्यनीति हुन्छ । अन्यथा त्यो निश्चित नेता, तिनका परिवा र गुटलाई हुने क्षुद्र  फाइदा दिलाउने रणनीति नै बन्न पुग्दछ । यस्ले गर्दा कि त क्रान्तिकारीताको नाममा सदा बहिष्कार गर्ने उग्रवामपन्थी गल्ती हुन पुग्छ कि भने सधै उपयोगका नाममा चुनावलाई प्रयोग गरेर संकीर्ण स्वार्थ पूरा गर्नेमा भुल्नेजस्तो संसदवादी दलदलमा भासिन पुगिन्छ । स्मरणीय छ कि विश्व कम्युनिस्ट आन्दोलनमा चुनावमा भाग लिएर पनि क्रान्ति गरेको र सफल भएको पार्टी लेनिनको नेतृत्वको बोल्सेभिक पार्टी मात्र हो भने नेपालमा चुनाव उपयोग गरेर पनि संसद र स्थानीय सरकारहरु छोडेर जनयुद्धमा गएको तत्कालीन माओवादी हो । अन्य प्राय: पार्टीहरुमा उपयोगका नाममा सधै भाग लिने प्रवृत्ति देखिएको छ । भन्ने कार्यनीति तर गर्ने रणनीति भएको छ चुनाव । यस्तो हुनु भनेको दक्षिणपन्थी संसदवादी हुनु र संसदीय भासमा उम्कनै नसक्ने गरी फस्नु त हुँदै हो; सँगसँगै भनाइ र गराइमा विपरीतता पनि हो । यस्तो हुनुका पछाडी नेतृत्वको स्वार्थी र सुविधाभोगी नियतले काम गरेको हुन्छ । 
 
निश्चित निकाय, नेतृत्व र नेताको नियतको निर्क्योल निर्धारित नीति, नियम, निर्णय, निर्देशन, निगरानी र निगाहबाट भन्दा नियति/परिणतिबाट बढी व्यक्त हुन्छ । त्यसैले पार्टी वा नेतृत्वले के भन्छ वा भनिरहेको छ भन्नुभन्दा पनि के गर्छ वा गरिरहेको छ भन्ने मुख्य कुरा हो । तसर्थ भनाइबाटभन्दा पनि गराइबाट कुनै पार्टी वा नेताका बारेमा सही धारणा बनाउनु पर्दछ । यसरी धारणा बनाउँदा हाम्रो देसमा आफूलाई मालेमावादी कम्युनिस्ट भन्नेसम्मले पनि लामो समयदेखि नै चुनावलाई रणनीतिको रुपमा प्रयोग गर्दै गैरहेका छन् ! यसक्रममा एमाले र माके त पूर्ण रुपले संसदवादी प्रतिक्रियावादीमा पतन भैसकेका छन् भने मसाल, नेमकिपा पनि त्यही बाटो पच्छाउँदै जाँदा संसदीय भासबाट उम्कनै नसक्ने अवस्थामा पुगेका छन् ! अब त उनीहरु उम्कन पनि चाहँदैनन् जस्तो छ भने उम्कन चाहे पनि सक्ने अवस्थामा छैनन् । हो, यही उम्कन नसक्ने अवस्थालाई संसदवादी भास भनिन्छ, जो चुनावलाई कार्यनीति भन्ने तर रणनीतिको रुपमा सधै भाग लिइरहने प्रवृतिको रुपमा देखा परेको छ । 
 
जहाँसम्म चुनाव उपयोग गरेर पनि क्रान्तिमा अर्थात् युद्धमा गएको प्रचण्ड नेतृत्वको पार्टी पनि अहिले संसदवादी प्रतिक्रियावादी बन्ने अवस्थामा पुगेबाट के कुरा बुझ्नुपर्छ भने संसदवादी चुनावको रणनीतिक अभ्यास भनेको सत्ता स्वार्थको मोहपास हो र संसदवादी भास नै हो, जसमा एकपटक छिरिसकेपछि फर्केर आएर क्रान्ति वा युद्धमा गएपनि क्रान्तिलाई निर्णायक  विजयसम्म नपुराई पुन: घुमीफिरी त्यही संसदवादी खेलमा नै आउँछन् ! यही नै संसवादी मोहपास वा भास हो जुन पासो वा भासबाट पूर्णरुपले मुक्त हुन सकेको त सम्भवत: विश्वकम्युनिष्ट आन्दोलनमा लेनिनको बोल्सेभिक पार्टीभन्दा अर्को पार्टी छैन ।
 
जहाँसम्म नेपालकै केही पार्टीहरु, जस्ले विगतमा राजनीतिक निकासको निम्ति वा सुधार र विकासका निम्ति जनसम्बन्ध बढाउने लोकतान्त्रिक अभ्यास अफि-इत्यादि भन्दै चुनावमा भाग लिएका थिए, तिनले अहिले गर्ने बहिस्कारको कुरा छ, त्यसको भने परीक्षण हुन बाँकी नै छ । तैपनि लाग्छ, क्रान्तिको कुनै ठोस तयारी नगरेको यो अवस्थामा गरिने  बहिष्कारको कुनै खास प्रभाव र परिणाम वा अर्थ र औचित्य हुने देखिंदैन । यस्ले गर्दा बहिष्कारभन्दा उपयोग नै परिणामदायी र अर्थपूर्ण हुने अर्थ लाग्नेछ । र, भविष्यमा यस्ले आगामी चुनाव उपयोग गर्नलाई आधार तयार पार्नेछ । अनि गरिने चुनाव उपयोग भनेको पनि घुमाएर नाक छुनु वा प्रचण्डले गरेजस्तो गर्नु नै हुन जान्छ । यो कुरा विगतमा बहिष्कार गरेको अर्को क्रान्तिकारी भनिएको शक्तिले अहिले सोझो औंलाले घिउ नझिकिएपछि बाङ्गो औंलो गराएर भाग लिंदै गरेको अर्थात् पार्टीमा चुनावमा भागलिने संकीर्ण स्वार्थ पूरा गर्ने नीति पास नभएपछि पार्टीबाट राजीनामा दिई स्वतन्त्र भएर वा अर्को कुनै स्वतन्त्र मान्छेलाई सिंगारेर पनि चुनावमा भाग लिई छाड्ने गरेबाट पनि देखिन्छ ।
 
जे होस्, अन्ततः र परिमामत: यो मति, गति, नीति र स्थिति पनि एकातिर संसदवादको कथित लोकतान्त्रिक अभ्यासको मोहपास वा भासमा फस्नु नै हो भने अर्कातिर संसदवादी चुनावलाई अप्रत्यक्ष रुपमा रणनीति स्वीकारेको संकेत हो ।
 
तसर्थ, हाल साम्राज्यवाद-विस्तारवादजस्ता वैदेशिक शक्तिकेन्द्रहरुद्वारा विकसित, संचालित र सम्प्रेषित दलाल पुँजीवादी संसदीय व्यवस्थामा तिनैद्वारा पालित, पोषित र निर्देशित सत्ता-  संसदीय शासनसत्तामा हुने यसप्रकारको महङ्गो निर्वाचन प्रणाली अन्तर्गत गरिने चुनावमा सच्चा सर्वहारावर्गको एउटा इमान्दार क्रान्तिकारी पार्टीले भाग लिनु भनेको या त पार्टी र आन्दोलनलाई नै भ्रष्टीकरण र दलालीकरण गर्नु हुनजान्छ अन्यथा सर्मनाक पराजित भएर जनताबाट विकर्षित हुने अवस्था हुन जान्छ । यो कुरा हामीले हाम्रै देसका कतिपय क्रान्तिकारी भनिएका पार्टीहरुका सन्दर्भमा देख्दै आएका छौं । त्यसैले आजको दलालीकरण र भ्रष्टीकरणले ग्रस्त समाज-व्यवस्थामा संसदवादी चुनावलाई  क्रान्तिकारीहरुले उपयोग गर्ने सम्भावना टरेको छ । यस्लाई उपयोग गर्न सकिनेभन्दा पनि उल्टै चुनावले क्रान्तिकारीहरुलाई उपयोग गरेर सिद्धाइदिने गरेको स्थिति  छ । यसरी के स्पष्ट भएको छ भने चुनावको प्रश्न विगतमा सिद्धान्तत: कार्यनीतिको प्रश्न भएपनि वर्तमानमा व्यवहारत: यो रणनीतिक प्रश्न भएको छ । पुँजीवादी व्यवस्थामा हुने चुनावलाई हेर्ने प्रश्न सर्वहारा वर्गले महङ्गो चुनावप्रणालीमा आफ्नो कमजोर  आर्थिक अवस्थाका कारणले उपयोग गर्न नसकिएर बहिष्कार गर्नै पर्ने दृष्टिले मात्र रणनीतिक प्रश्न भएको होइन कि यसलाई उपयोग गर्दा यसकै चक्रव्युहमा फसेर फर्कनै नसकिने गरी त्यहीं हराइने र सधै भाग लिइरहने गरेर पनि रणनीतिक प्रश्न बनेको-बनाइएको छ ।  सच्चा कम्युनिस्ट पार्टी र आन्दोलनका  विचार-सिद्धान्त, मूल्य-मान्यता, आचार-संस्कार र लक्ष-उद्देश्य आदि सबै ध्वस्त पारेर नाममा कम्युनिस्ट भए पनि काममा कमाउनिष्ट पार्टीको रुपमा वदनाम हुने गरी यही दलाल पुँजीवादी संसदीय व्यवस्थालाई आत्मसात गरेर वा यसको कथित भण्डाफोर गर्ने नाममा क्रान्तिकारी उपयोग गर्ने भन्दै सधैं भाग लिइरहनु वा कहिले बहिष्कार त कहिले उपयोग भन्दै सारमा त्यसैको सेरोफेरोमा  रमाउनुले पनि सार र परिणाम दुवै दृष्टिबाट चुनाव रणनीति नै बने-बनाएको प्रमाणित हुन्छ । 
 
यो व्यवस्थालाई आत्मसात गरेर चुनावलाई रणनीति बनाउने शक्तिहरु आज नेपालमा एमाले/एस र माकेजस्ता कम्युनिस्ट नामधारी शक्तिहरु हुन् भने यो व्यवस्थालाई भण्डाफोर गर्दै यसको विकल्प खोज्ने भनेर संसदवादी चुनावमा भाग लिने अभ्यासमा लागेको आफूलाई क्रान्तिकारी बताउने मसाल (एम बी समूह),  नेकपा (विप्लव समूह) लगायतका केही शक्तिहरु पनि वैकल्पिक व्यवस्था र विधिको बाटोलाई बिर्सिएर यसै दलाल  पुँजीवादी संसदीय व्यवस्था, विधि, बाटो र व्यक्तिहरुलाई समेत संरक्षण र सम्बर्द्धन गर्नतिर लागेका शक्ति हुन् भन्ने पुष्टि हुँदैछ । त्यसैले स्पष्ट भन्न सकिन्छ कि संसदवादी चुनावको  अभ्यास : राजनीतिक निकास र विकासको लागि गरिने लोकतान्त्रिक अभ्यास कदापि होइन र हुनै सक्तैन; बरु यो त क्रान्तिकारी सर्वहारावादी सच्चा कम्युनिस्टहरुलाई आफ्नो मोहपासबाट उम्कन नदिएर सिद्धाउने रणनीतिक भास नै हो । 
*****

प्रतिक्रिया

सम्बन्धित खवर