एमसीसी सम्झौता खारेजीका लागि क्रान्तिकारी माओवादीको चौतर्फी मुभः सडक संघर्ष चर्काउँदै, दलका नेताहरुलाई भेटेर विपक्षमा मदतान गर्न आग्रह गर्दै

एमसीसी सम्झौता खारेजीका लागि क्रान्तिकारी माओवादीको चौतर्फी मुभः सडक संघर्ष चर्काउँदै, दलका नेताहरुलाई भेटेर विपक्षमा मदतान गर्न आग्रह गर्दै


काठमाडौं । अमेरिकाको साम्राज्यवादी मिसनमा आधारित मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झौता खारेजीका लागि नेकपा (क्रान्तिकारी माओवादी)ले चौतर्फी मुभ बढाएको छ । उसले लामो समयदेखि एमसीसीका विरुद्ध एकल वा संयुक्त संघर्षको नेतृत्व गर्दै आएको छ भने एमसीसी टेबल भइसकेको अवस्थामा यसलाई फेल खुवाउन अर्कोतिर शीर्ष नेतृत्वहरुले संसदमा प्रतिनिधित्व गर्ने दलका नेताहरुलाई भेटेर विपक्षमा मतदान गर्न आग्रह गरिरहेका छन् । पार्टीको हालै सम्पन्न स्थायी समितिको बैठकले गरेको निर्णय अनुसार नै क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरण र पार्टी सम्बद्ध देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेलले संसदवादी दलहरुका नेताहरुसँगको भेटलाई तीव्रता दिनुभएको हो ।


सोही क्रममा आज मोर्चा अध्यक्ष सीपी गजुरेलले सत्तारुढ दल समेत रहेको नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालसँग भेट गर्नुभएको छ । नेपाल निवास कोटेश्वरमा भएको भेटमा आफूले एमसीसीको विपक्षमा मतदान गर्न र एमसीसीका विरुद्ध सडकमा भइरहेको संघर्षमा सहकार्य गर्न आग्रह गरेको बताउनु भयो । माधव नेपालले एमसीसीको पक्षमा मतदान गरे आफ्नो राजनीतिक भविष्य नै सिद्धिने र आफ्नो पार्टीले यसअघि नै एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरिसकेकोले विपक्षमा नै मतदान गर्ने र त्यसो गर्दा सरकारबाट बाहिरिनुपर्ने स्थिति आएपनि बाहिरिने बताउनु भएको अध्यक्ष गजुरेलले जानकारी दिनुभयो ।


त्यसैगरी एमाजवादीका युवा विध्यार्थीहरु समेत एमसीसी खारेजीका लागि सडक संघर्षमा रहेकोले सडक संघर्षको नेतृत्व गरिरहेको क्रान्तिकारी माओवादी, देजमो लगायत संघर्षरत पक्षसँग सहकार्य गरेर जाने समेत सहमति भएको पनि अध्यक्ष गजुरेलले जानकारी दिनुभयो ।

भेटपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै अध्यक्ष गजुरेलले आफूले केहीदिन पहिले संसदमा प्रतिनिधित्व गरेको दल नेमकिपाका अध्यक्ष नारायणमान विजुक्छे रोहितसँग पनि भेट गरेको बताउनु भयो । रोहितले जुनसुकै हालतमा पनि एमसीसी खारेज गर्नैपर्ने धारणा राख्नुभएको पनि उहाँले जानकारी दिनुभयो ।


त्यस्तै अस्ति सोमबार मात्रै पार्टीका महासचिव मोहन वैद्य किरणले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेटेर एमसीसीको विपक्षमा मतदान गर्न आग्रह गरेको र प्रचण्डले सकारात्मक जवाफ दिएको पनि उहाँले जानकारी दिनुभयो ।

आफूहरुले एमसीसीका विरुद्ध संघर्षरत सबै पक्षलाई समेटेर वृहत आन्दोलन अगाडि बढाइरहेको र यसलाई थप सशक्त र वृहत बनाउन पहल भइरहेको पनि बताउनु भयो ।

उहाँले एमसीसी पास वा फेल गराउनेमा संख्याका हिसाबले एमाले निर्णायक रहेकोले एमाले अध्यक्ष केपी ओलीलाई समेत भेटेर एमसीसीको विपक्षमा मतदान गर्न आग्रह गर्ने प्रयास भइरहेको पनि बताउनु भयो ।

अमेरिका र प्रम देउवाले पैसाको खोलो बगाएर सांसदहरु खरिद बिक्री गर्न थालेको भन्ने सुन्नमा आएको समेत जानकारी दिंदै पैसाका लागि देशको स्वाधीनता बेच्न उद्दत पार्टी, तिनका नेता र सांसदहरुलाई जनताले राम्रो हिसाब बिताब गर्ने समेत चेतावनी दिनुभयो ।