काठमाडौं । संसदमा पेश भएको एमसीसी सम्झौताको विषयमा छलफल गर्ने गरी प्रतिनिध सभाको बैठक आज (बिहीबार) १ बजे बस्दैछ । संघीय संसद सचिवालयले बुधबार सार्वजनिक गरेको प्रतिनिधिसभाको सम्भावित कार्यसूचीमा पनि एमसीसी सम्झौतामाथि छलफल हुने उल्लेख गरेको छ । सम्भावित कार्यसूची अनुसार बैठक अघि बढे आज एमसीसीबारे छलफलको प्रस्ताव पेस हुनेछ ।
गत आइतबारको प्रतिनिधिसभा बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी सम्झौता पेस गरेका थिए । एमसीसीबारे छलफल सुरु हुने भएकोले नेपाली कांग्रेसले आफ्ना सांसदहरूलाई अनिवार्य उपस्थितिका लागि निर्देशनसमेत दिइसकेको छ । एमसीसी सम्झौता पारित गर्न संसदमा टेबल भए पनि सत्ता साझेदार दलहरू अझै पनि एकमत भएका छैनन् । साझेदार दलमध्ये माओवादी केन्द्र, एममाजवादी, जसपा र जनमोर्चाले एमसीसी सम्झौतामा राष्ट्रघाती प्रावधानहरु रहेकोले एमसीसी यथास्थितिमा पास गर्न नसकिने अडान राखेपछि जसरी पनि पास गराइछाड्ने मुडमा रहेका प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षी नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसित पनि छलफल अगाडि बढाएका छन् । ओलीले सत्ता गठबन्धन भत्काउनु पर्ने, सभामुख हटाउनु पर्ने, आफूले कारबाही गरेका सांसदहरुको पद खारेज गर्नुपर्ने लगायतका माग पूरा भए एमसीसी पास गर्न आफूले दुई तिहाई पु¥याइदिने बचन दिएका छन् । यता माओवादी केन्द्र, एसमाजवादी भने गठबन्धन बचाउने नाममा एमसीसीमा लत्रिदै गएका छन् । उता अमेरिकाले पनि एमाले कांग्रेसलाई मिलाएर एमसीसीलाई दुई तिहाई मतका साथ पारित गराएर एमसीसीलाई नेपालको कानुन र संविधानकै हैसित दिन चौतर्फी मुभ बढाएको छ ।
यता नेकपा (क्रान्तिकारी माओवादी)सहित एमसीसी खारेजीका लागि संघर्षरत आठ दलले आजै देशैभर विरोध प्रदर्शनसहित जिल्ला प्रशासन घेराउ कार्यक्रम राखेका छन् भने काठमाडौं उपत्यकाको शक्तिलाई संसद भवन घेराउका निम्ति परिचालित गर्ने निर्णय गरिसकेका छन् । सोही पूर्वघोषित संघर्षका कार्यक्रम अनुसार आज ११ बजे माइतीघर मण्डलामा जम्मा भई नारा जुलुससहित १२ बजे संसद भवन घेराउ गर्ने तयारी गरेका छन् । आजै माओवादी केन्द्र र एसमाजवादीका युवा विध्यार्थीहरु पनि सडकमा निस्कने तयारी गरेको सम्बद्ध स्रोतले जनाएको छ । आजको प्रदर्शनलाई हस्तक्षेपकारी रुपमा अगाडि बढाउने तयारीमा देशभक्त क्रान्तिकारीहरु रहेका छन् । उनीहरुले देशभक्त क्रान्तिकारीहरुमाथि देउवा सरकारले दमन गरे त्यसको कडा रुपमा प्रतिरोध गर्ने चेतावनी समेत दिंदै आएका छन् ।
यता क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणले पनि एमसीसी पास हुन नदिन चौतर्फी मुभ बढाउनु भएको छ । उहाँले उस्ति मात्रै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेटेर एमसीसीको विपक्षमा मतदान गर्न आग्रह गरिसक्नुभएको छ भने आज १२ बजे एसमाजवादीका अध्यक्ष माधव नेपाललाई भेट्दै हुनुहुन्छ ।
आठ दलले आजको संसद र सिडिओ कार्यालय घेराउको पूर्वसन्ध्यामा काठमाडौं उपत्यका लगायत देशैभर मशाल जुलुस प्रदर्शन गरेको थियो ।