देशव्यापी विरोधकै बीच एमसीसी सदनमा पेश भइसकेको छ । अब संसदीय प्रक्रिया अनुसार यसलाई पास गर्ने तयारीमा देउवा सरकार रहेको छ । उसले अब सजिलै पास हुने बताइसकेको छ । एमालेले पनि देउवाको राष्ट्रघातमा सहयोग गर्ने बाचा गरिसकेको छ । छद्म दलालहरु पनि अन्ततः देउवाकै राष्ट्रघातको मतियार बन्न पुगेका छन् ।
एमसीसी आइपिएसको अंग भएको, देशको कानुन र संविधान माथि पार्न संसदबाट अनुमोदन गर्न खोजेको, एमसीसी पास भए देश अमेकिाको उपनिवेश बन्छ, यो छिमेकी मुलुक चीनलाई घेर्ने रणनीतिमा आधारित छ, देशको स्वाधीनता र सार्वभौमिकता गुम्छ भन्दै बिना संशोधन कुनै पनि हालतमा संसदमा पेश नगर्ने बताउँदै आएका प्रचण्ड र माधव कुमार नेपालले अन्ततः सदनमा राष्ट्रघाती एमसीसी सम्झौता पेश गर्न दिएर देउवाको राष्ट्रघातका असली मतियारको रुपमा आफूलाई चित्रित गरेका छन् । उनीहरुले अमेरिकी साम्राज्यवादलाई खुशी पार्न र निहित स्वार्थका कारण देश र जनतामाथि घात गर्न पुगेका छन् । तर अझै पनि प्रचण्डले आफूले एमसीसीको विपक्षमा मतदान गर्ने बताउँदै देश र जनतालाई बेवकुफ बनाउन खोजिरहेका छन् ।
यतिखेर सिंगो मुलुक देशभक्त र दलालको कित्तामा ध्रुवीकृत भएको छ । छद्म दलालहरु पनि अब नाङिगइसकेका छन् । सत्ता स्वार्थका निम्ति देशै बेच्न तयार दलालहरु खुलेर डरलाग्दो राष्ट्रघातको मार्ग प्रसस्त गर्न पुगेका छन् । दैध चरित्र बोकेको यो प्रवृत्तिले नेपाली जनतामा ठूलो भ्रम पार्दै आएको छ ।
एकातिर उनीहरुले संसदमा टेबल गर्ने सहमति गरे र टेबल पनि भयो अर्कोतिर आफ्ना पार्टीका जनवर्गीय संगठनलाई सडकमा उतारेर एमसीसीको विरोधमा छौ भन्ने पनि देखायो । यो दोहोरो चरित्रले देशभक्त क्रान्तिकारीहरुमा केही भ्रम पारे पनि प्रचण्ड र माकुने भनेका राष्ट्रघाती दलाल नै हुन् भन्नेमा कुनै शंका रहेन । एमसीसी चाहिदैन, देश बेच्न पाइदैन, अमेरिकी साम्राज्यवाद मूर्दावाद, राष्ट्रिय स्वाधीनता जिन्दावाद, दलालहरु होशियार भन्दै सडकमा नारा लगाउँदै प्रदर्शन गर्ने र प्रदर्शनको क्रममा घाइते हुने कार्यकर्ताले अब प्रचण्ड र माकुनेहरुलाई बोकेर हिड्ने स्थिति रहेन । अब उनीहरु त्यही पार्टीमा रहेर प्रचण्ड र माकुनेले गरेको राष्ट्रघातको कलंकको भारी बोकेर हिड्छन् कि स्वाभिमानपूर्वक विद्रोह गरेर सच्चा देशभक्त तथा क्रान्तिकारी कित्तामा उभिन्छन्, त्यो भने हेर्न बाँकी छ ।
प्रचण्ड र माधव नेपालहरुलाई प्रष्ट रुपमा थाहा छ कि एमसीसी संसदमा टेवल हुने वित्तिकै यो सजिलै पास हुन्छ । उनीहरुले विपक्षमा मतदान गरे पनि एमसीसी पास हुन्छ भन्ने थाहा हुँदा हुँदै एमसीसी जस्तो राष्ट्रघाती सम्झौता संसदमा टेवल हुन दिनु भनेको अन्ततः एमसीसीकै पक्षमा मतदान गर्नु सरह नै हो । उनीहरुको राष्ट्रिय स्वाधीनताप्रतिको निष्ठा कति कच्चा, बनावटी र नक्कली छ भन्ने कुरा पनि यसबाट स्पष्ट हुन्छ । यस्तो अवसरवादी नीति लिनु भनेको राष्ट्रघातमाथि लालमोहर लगाउनु हो । इतिहासमा उनीहरुको अभिलेख ‘राष्ट्रघाती’कै दर्जामा रहने छ ।
माओवादी केन्द्रको संसदीय दलको बैठकले केही दिनअघि संशोधन बिना एमसीसी संसदमा लैजान नहुने, जबर्जस्ती लगिए माओवादीले सरकार छाड्ने निर्णय गरेको थियो । त्यसअघि पार्टीको सम्पन्न महाधिवेशनले पनि विना संशोधन एमसीसी पास नगर्ने लाइन पारित गरेको थियो । तर विदेशी शक्तिको दबाब र प्रभावमा अनि सत्ता र चुनावी स्वार्थको जोडघटाउका कारण प्रचण्ड र माधव नेपालहरु एमसीसी सम्झौता संसदमा टेबल गर्न सहमत हुन पुगेका हुन् ।
हिन्द प्रशान्त सैन्य रणनीतिको अंग भएको, नेपालको संविधान र कानूनमाथि पार्न खोजिएको, छिमेकी मुलुक चीनलाई घेर्ने र चीनका विरुद्ध नेपाली भूमि प्रयोग गर्ने रणनीतिमा आधारित रहेको भनेर एमसीसी सम्झौता खारेजीका लागि देशव्यापी रुपमा व्यापक आवाज उठिरहेको बेला एमसीसी सम्झौता सरकारले संसदमा पेश गरिहाले पनि संसद अवरुद्ध पारेर टेबल नै हुन नदिने जिम्मेवारी पूरा गर्नुपर्नेमा उल्टै टेबल गर्न दिने भनेर पार्टीको बैठकबाटै निर्णय गर्नु भनेको अन्ततः राष्ट्रघातकै मतियार बन्नु हो । राष्ट्रघातका मतियारलाई जनताले उचित सबक अवश्य सिकाउने छन् ।