बागलुङमा पनि एमसीसी विरुद्ध जिप्रका घेराउ कार्यक्रम सम्पन्न

बागलुङमा पनि एमसीसी विरुद्ध जिप्रका घेराउ कार्यक्रम सम्पन्न

८ फाल्गुन बागलुङ ।

बागलुङमा पनि एमसीसी विरुद्ध जिप्रका घेराउ कार्यक्रम बागलुङ बजारमा सम्पन्न भएको छ ।
नेकपा (क्रान्तिकारी माओवादी), नेकपा विप्लब पक्ष, नेकपा (मसाल), राष्ट्रिय जनमोर्चा, देशभक्त जनगणतान्त्रिक मोर्चालगायतका राजनैतिक दल र मोर्चाहरूले सो कार्यक्रम आयोजना गरेका थिए ।
कार्यक्रमपूर्व जुलुसले बजार परिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालय बागलुङमा पुगी विरोधसभामा परिणत भएको थियो ।
सभामा बोल्दै नेकपा (क्रान्तिकारी माओवादी) को तर्फदेखि सम्बोधन गर्दै पूर्णबहादुर गुरुङले यदि नेपाली जनताको विरुद्ध अहित हुने यो सम्झौता लागु गरे उक्त पार्टी र पार्टीका नेतालाई बागलुङ बासी जनताले गाउँ छिर्नसमेत नदिने चेतावनी दिनुभयो ।
राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य एवम् जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुङ्गानाले हाम्रो जस्तो असंलग्न परराष्ट्र नीति अवलम्बन गर्ने देशले एम.सी.सी. जस्तो परियोजना कुनै पनि हालतमा स्वीकार्य नरहेको बताउनुभएको थियो ।
विप्लब नेतृत्वको नेकपा बागलुङका सदस्य महेन्द्र विकले एमसीसीले देशमा एउटा विद्रोहको स्थिति सृजना गर्ने हुनाले यसलाई खारेज गर्नुपर्ने कुरामा जोड दिनुभयो ।
त्यस्तै, नेकपा (मसाल) बागलुङका प्रवक्ता मेकबहादुर पाइजाले देशभन्दा गठबन्धन कुनै पनि हालतमा ठुलो हुन नसक्ने धारणा व्यक्त गर्नुभयो । कार्यक्रमको सञ्चालन अखिल नेपाल युवक सङ्घका महासचिव भीमसेन वनले गर्नुभएको थियो ।