काठमाडौं । ६ कम्युनिस्ट पार्टी र २ मोर्चा लगायत एमसीसीका विरुद्ध संघर्षरत सम्पूर्ण देशभक्त र क्रान्तिकारीहरुले सडकमा र देशभक्त सांसदहरुले संसदमा विरोध गरिरहेकै अवस्थामा देउवा सरकारले राष्ट्रघाती एमसीसी सम्झौता संसदमा टेबल गरेको छ ।
संसदमा मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संसदमा सांसदहरुको तीव्र विरोध र नाराबाजीका बीच एमसीसी टेबल गरेका हुन् । एमसीसी टेवल भएपछि १२ गते बस्ने गरी संसदको बैठक सकिएको छ ।
यता सडकमा प्रदर्शनकारी र प्रहरीबीच भिडन्त चलिरहेको छ । सरकार आन्दोलनकारीका विरुद्ध निर्मम दमनमा उत्रिएको छ । आन्दोलनलाई तितरवितर बनाउन अश्रुग्यास, पानीका फोहरा, ढुंगा, लाठी, बुट प्रहार गरी निर्मम दमन गरिरहेको छ ।
सो क्रममा नेकपा (क्रान्तिकारी माओवादी)का केन्द्रीय सदस्य बसन्त बोगटी लगायत दर्जनौलाई गिरफ्तार गरेको छ भने अखिल (क्रान्तिकारी)का अध्यक्ष हरिकृष्ण गजुरेल, उपाध्यक्ष शिलु न्यौपाने लगायत दर्जनौं घाइते भएका छन् ।