बिरबहादुर कामी कमरेड संसारसेन पृथकलाई सम्झिदा

बिरबहादुर कामी कमरेड संसारसेन पृथकलाई सम्झिदा

जाजरकोटको लहँ गाविस अन्तर्गत थाप्ला ग्राग्लीमा वि.सं. २०३५ सालमा जन्मीनु भएका कमरेड संसारसेन पृथक सानै उमेरदेखि विद्रोही स्वभावका हुनुहुन्थ्यो भन्ने कुरा उहाँँको परिवारबाट बुझेको छु र उहाँ अन्यायका विरुद्धमा जहिले पनि अगाडि उभिने एउटा क्रान्तिकारी योद्धा हुनुहुन्थ्यो । देशमा भइरहेको अन्यायका विरुद्धमा नेकपा माओवादीले २०५२ साल फगुन १ देखि सञ्चालन गरेको अत्याचारको वर्गीय मुक्ति युद्धमा कमरेड संसारसेन पृथक विद्यार्थी हुँदै विभिन्न जिम्मेवारी सम्हाल्दै जनमुक्ति सेनाको बटालिनयत सह–कमाण्डरको जिम्मेवारीमा हुनुहुन्थ्यो । जनमुक्ति सेना हुँदा उहाँले लडेका ठूलाठूला लडाईका मोर्चाहरूमा विजय प्राप्त गर्दै अगाडि बढेको इतिहास साक्षी छ । त्यसै क्रममा पार्टीमा देखा परेको वैचारिक बिचलन र त्यसमा परेका प्रचण्ड र बाबुरामले क्रान्तिकारी पार्टी र क्रान्तिकारी योद्धाहरूलाई धोका दिँदै युद्धलाई विर्सजन गरेका थिए । यो कुरा कमरेड संसारसेन पृथकलाई चित्त बुझेको थिएन र क्याम्पिङ भएका जनमुक्ति सेनामा ठूलो विद्रोह भएको थियो । त्यो विद्रोहको नेतृत्व गर्दै कमरेड संसारसेनले विद्रोहको लाइनलाई निरन्तर पकडी रहनु भयो । सेना समायोजनमा पनि भाग लिनु भएन र अवकाश रोज्नु भयो । अवकाशपछि पनि निरन्तर बहस छलफल र आफ्ना लेख, कविता तथा गीतमार्फत् क्रान्तिकारी आवाज बुलन्द गर्दै हुनुहुन्थ्यो । क्रान्तिकारीहरूलाई अनेकौं बाधा व्यवधानहरू आइरहन्छन् तर संसारसेन कहिल्यै पनि नडगमगाई आपूmमा आएको जिम्मेवारीलाई पूरा गर्न कहिल्यै पछाडि पर्नुभएन । पारिवारिक, आर्थिक समस्या भएका कारण उहाँले विदेशिनु परे पनि विदेशमा रहँदा पनि नेपाल र नेपाली सर्वहारा वर्गको मुक्तिका निम्ति सँधै क्रान्तिकारी बिचार प्रवाह गरिरहनु हुन्थ्यो । मसँग कुरा हुँदा केही व्यक्तिगत समस्याका कारण विदेश आउनु परेर पार्टी राजनीतिबाट टाढा भए पनि म कहिल्यै पनि क्रान्तिबाट टाढा छैन र हुँदैन साथै म आएर फेरी पनि वर्गीय मुक्ति युद्धमा सामेल हुनेछु भन्नुहुन्थ्यो ।

जाजरकोट र रुकुमको सीमानाको गाउँ सोतीमा भएको घटनाले उहाँलाई धेरै पीडित बनाएको थियो । किनभने आफ्नो जिल्ला र आफ्नै क्षेत्र भएका कारण पनि उहाँलाई धेरै पिडा भएको हो । त्यसैमाथि दलित युवाहरूको नरसंहार भएको बाँचेका युवाहरूले पनि कमरेड संसारसेनलाई खोजेको आपूm पनि भौतिक रूपमा त्यहाँ नभएको पिडा व्यक्त गर्नुहुन्थ्यो । उहाँले मसँग मेसेन्जरमा कुरा गर्दा त्यस घटनाका अपराधीहरूलाई जसरी पनि सजाय दिनुपर्छ भन्नु भएको थियो । बिडम्बना त्यसको भोलिपल्ट दु:खत घटना सुन्नु पर्‍यो । मलाई पनि यो कुरा सुन्दा धेरै दु:खी भएँ र अब उहाँलाई सम्झिने उहाँले गरेका काम समाजमा छोडेर गएका क्रान्तिकारी बिचारमा हामी निरन्तर अगाडि बढ्नु पर्छ त्यही नै उहाँप्रति साँचो सम्मान हुनेछ ।

उहाँको र मेरो भेट बाँके आएपछि भएको थियो । उहाँको सानो काठको घुम्ती पसल थियो । म समय मिलाएर त्यो उहाँको घुम्तीमा जाने गर्थें । भेटमा परिवर्तनका कुरा विभेदका कुरा, वर्गीय कुरा र सर्वहारा वर्गको मुक्तिका लागि कसरी अगाडि बढ्ने भन्नेमा छलफल भइरहन्थ्यो । यसले गर्दा हाम्रो सामिप्यता बढेको थियो । त्यसैले प्राय: भेटघाट भइरहने गर्दथ्यो । बिचारबाट लाल र सङ्घर्षबाट निपुण एक योद्धासँग भेट्न र कुराकानी गर्न असाध्यै मन लाग्ने गर्दथ्यो । वर्गीय मायाले होला आज पनि संसारसेन आँखा वरिपरि आउनुहुन्छ । उहाँको जीवनसाथी कमरेड प्रतिज्ञा बहिनीसँग भेट हुँदा त झन् उहाँको अनुहारमा छछल्किने मालेमावादप्रतिको चोखा निष्ठा सहित कुरा गरेको अनुहार आँखामै आउँछ । उहाँको निधनले मलाई असाध्यै मर्माहित बनाएको छ । उहाँको निधनपश्चात् उहाँको जीवनसाथी प्रतिज्ञाको वेदनालाई कम गर्नका लागि हामीहरू प्राय: सबै कामकाजहरूमा खटेर सहयोग गर्नुपर्छ । कमरेड प्रतिज्ञाको जीवनमा अकस्मात परेको पिडालाई पूर्णरूपमा निको पार्न त नसकिएला तर कम गर्ने प्रयत्न गर्नुपर्छ भन्ने ध्ययका साथ हामी सबै कमरेडहरू उहाँको सब नआन्जेल खटिरह्यौं । ठिक एक महिनाको अन्तरालमा वि.संं २०७७ असार १३ गते बिहान ११ बजे सववाहन गाडीमा कमरेड संसारको मृत शरीर बन्द बाकसमा उहाँको घरको आँगनमा आईपुग्यो । आँगनभरि उहाँका घरपरिवार, आफन्तजन, शुभचिन्तक र पार्टीका सहयोद्धा कमरेडहरूको घुँइचो थियो । त्यो कोभिडको कठिन परिस्थितिको प्रवाह नगरी उहाँलाई भेट्नेहरूको लाम आज पनि मेरो मानसपटलमा ताजै छ । मानिसको ठूलो उपस्थिति सहित उहाँलाई राप्ती नदीमा लिएर चितामाथि पार्टीको रक्तरञ्जित रातो झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिइयो । यति मात्र नभई उहाँले उठाएको झण्डालाई कहिल्यै झुक्न नदिने प्रतिवद्धता पनि गरियो । क्रान्तिकारी बिचारमा लामबद्ध हुन र गर्नका लागि उहाँका रचनाहरूले सँधै प्रेरणा दिइरहने छन् । क्रान्तिकारीहरूलाई उहाँको जीवन सङ्घर्षको कथा र उहाँद्वारा रचित रचनाहरूले अविरल लागिरहन प्रेरित गरिरहनेछन् । मालेमावादको आलोकभित्र रहेर वर्गीय मुक्ति आन्दोलनमा लागिरहनु नै उहाँप्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ ।