(शार्दूलविक्रीडित छन्दमा)
तिम्रा सन्तति देख्छु राजकुलका सन्तान झै मस्त छन्
तिम्रा श्वेत विशाल शैलसरिका अट्टालिका भव्य छन्
हीरा स्वर्ण जडान छन् पलङमा ती कौच झन् भव्य छन्
हेलीकप्टर सैर हुन्छ दिनमा रङ्गीन छन् साँझ झन् ।
रुघा लाग्न हुँदैन हुन्न रुचिमा कैल्यै कमी आउन
निद्रा गड्बडिएर रात्रिसुखमा केही फरक आउन
तिम्रै खाँतिर अस्पतालहरुमा भीआइपि शय्या सधैँ
छन् तैयार तथापि राष्ट्र ढुकुटी लूटेर खान्छौ अझै ।
शिक्षाको छ खुलम्खुला मुलुकमा व्यापार देशैभरि
त्यस्ले सक्दछ पढ्न द्रव्य जसले खर्चन्छ पानी सरी
शिक्षा स्वास्थ्य यहाँ गरीबजनले आँक्नै नसक्ने भयो
तिम्लाई छ समाजवाद जनता कङ्गाल बन्दै गयो ।
अर्काका ऋणले थिच्यो मुलुक यो उठ्नै नसक्ने भयो
देशै टाट भयो र गौरव गयो भूभाग गुम्दै गयो
आफै मात्र रम्यौ शहीद सपना पोलेर खाँदै गयौ
सत्तास्वार्थ र लोभ भ्रष्टमतिले सर्वाङ्गनाङ्गै भयौ ।
यौटै फोन पराइको जब सुन्यौ तर्सेर सातो गयो
आफ्नाका अघि फेरि धाक छ ठुलो के सुन्नु के देख्नु यो
तिम्रा आसन शान शासन सबै हेरी हरेछन् जन
खोक्रा भाषण दम्भ रोदनहरू झूटो छ आश्वासन ।
मान्छेभित्र जली रहेछ भुसको आगो सरी भैकन
ज्वाला दन्कन सक्छ भ्रष्ट अखढा पोलेर सिध्याउन ।
२०७८ फागुन २