काठमाडौं । एमसीसी खारेजीका लागि ५ कम्युनिस्ट पार्टी र मोर्चाले आव्हान गरेको नेपाल बन्दको क्रममा बन्दकर्ताले माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म विरोध प्रदर्शन गरेका छन् । विरोध प्रदर्शनमाथि देउवा सरकारले निर्मम दमन गरेको छ । प्रहरीको अन्धाधुन्ध लाठिचार्ज र बुट प्रहारबाट क्रान्तिकारी माओवादीका पीवीएम सुरेश श्रेष्ठ, विद्यार्थी नेता निर्गनविन जैसी, नेकपा (माओवादी केन्द्र)का कार्यकर्ता रोल्पा, सुलिचौरका झकास विक, नेकपा (विप्लव)की कार्यकर्ता सिर्जना शाही र कैलालीका विप्लव निकट विद्यार्थी संगठनका केन्द्रीय सदस्य लोकेश जोशी लगायत घाइते भएका छन् ।
घाइतेमध्ये निर्गनविन जैशीको स्थिति गम्भिर छ । उहाँको सिभिल अस्पतालमा उपचार भइरहेको छ । प्रहरीको लाठी चार्जबाट बेहोस भएका जैसीको अहिलेसम्म होश नआएको र टाउकाको सिटिस्क्यान भएको र रिपार्ट आउन बाँकी रहेको क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य समेत रहनु भएका अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका अध्यक्ष इश्वर तिमिल्सिनाले जानकारी दिनुभयो । घाइते नेता श्रेष्ठको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । उहाँको उपचारमा संलग्न डा.ज्ञानेन्द्र शाहका अनुसार उहाँको स्थिति खतरामुक्त रहेको छ ।
अन्य घाइतेहरुमा झकाश विकको फुटेको छ । उहाँको थप उपचारको लागि सिभिलबाट ट्रमा सेन्टर रेफर गरिएको छ । त्यसैगरी घाइते सिर्जना शाहीको पनि टाउकामा नै चोट रहेको छ । उहाँ अर्धचेत अवस्थामा हुनुहुन्छ । शाही र अर्का घाइते जोशीको सिभिलमा नै उपचार भइरहेको छ ।
अस्पताल स्रोतका अनुसार प्रहरीतर्फ प्र.ज.अमर रानामगर, प्र.ह.दिनेश कार्की, प्र.नि. अनिल अधिकारी, प्र.ज.अर्जुन थापा, प्र.ज. मित्र गुरुङ घाइते भएका छन् । उनीहरुको आँखा र टाउकोमा चोट लागेको जनाइएको छ ।
काठमाडौं उपत्यकामा एमसीसीका विरुद्ध अन्य पार्टीहरु माओवादी केन्द्र र एकीकृत समाजवादीका विध्यार्थी र युवा, मजदुर किसान पार्टी लगायतले समेत विरोध प्रदर्शन गरेका थिए ।
विरोध प्रदर्शनको क्रममा नेपाल बन्दका आयोजक पार्टीहरुका नेता तथा नेकपा (क्रान्तिकारी माओवादी)का पीवीएम दिनेश शर्मा सागर, नेकपा (माओवादी केन्द्र समाजवादी)का अध्यक्ष कर्णजीत बुढाथोकी, क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्यहरु कृष्णभक्त महर्जन, दिपक शाही, फुर्नाम्गेल मोक्तान, हरिकृष्ण गजुरेल, बसन्त बोगटी लगायत पाँच दर्जन बढी नेता कार्यकर्ताहरुलाई गिरफ्तार गरेर प्रदर्शनीमार्गस्थित महेन्द्र पुलिस क्लवमा राखिएको छ भने नयाँ बानेश्वरबाट गिरफ्तार गरिएका अन्यलाई सिंहदरबार प्रहरी परिसरमा राखिएको छ ।
बन्द र विरोध प्रदर्शनकै कारण राष्ट्रघाती एमसीसी आज टेबल गर्नबाट देउवा सरकार पछि हटेको छ । देउवा सरकारले फेरि ६ गते टेबल गर्ने दाबी गरेको छ ।
बन्दको क्रममा उपत्यका बाहिर पनि ठाउँ ठाउँमा धरपकड र घाइते भएको समाचार छ । विस्तृत विवरण भने आउन बाँकी छ ।