काठमाडौं । एमसीसी खारेजीका लागि ५ कम्युनिस्ट पार्टी र मोर्चाले आव्हान गरेको नेपाल बन्दको प्रभाव विहानैदेखि परेको छ । काठमाडौं उपत्यकामा वन्दको अवज्ञा गरेको भन्दै बन्दकर्ताले कोटेश्वर र चावहिलमा सवारीसाधनमाथि कारबाही गरेका छन् ।
विहानैदेखि बन्दका लागि आग्रह गर्दै सडकमा निस्किएका नेकपा (क्रान्तिकारी माओवादी)का पीवीएम पवनमान श्रेष्ठसहित तीनजना पक्राउ परेको नेकपा (क्रान्तिकारी माओवादी)का पीवीएम दिनेश शर्माले जानकारी दिनुभएको छ । उहाँका अनुसार लगनखेलबाट पवनमान श्रेष्ठ, मजदुर नेता अर्जुनलाल श्रेष्ठ, कोटेश्वरबाट क्रान्तिकारी माओवादीकै मंगल तामाङ र कौशलटारबाट वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका सौरभलाई पक्राउ गरेको छ ।
बन्दको काठमाडौं उपत्यकामा विहानैदेखि परेको छ । राष्ट्रघाती एमसीसी सम्झौतालाई अनुमोदनका लागि देउवा सरकारले संसदमा टेबल गर्ने तयारी थालेपछि खारेजीका लागि संघर्षरत ५ कम्युनिस्ट पार्टी र एक मोर्चाले नेपाल बन्दको आव्हान गरेका हुन् ।
नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (विप्लव), देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल, नेकपा (ऋषि कट्टेल), वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपाल र नेकपा (माओवादी केन्द्र समाजवादी)ले मंगलबार संयुक्त वक्तव्य जारी गरी नेपाल बन्दको घोषणा गरेका थिए ।