काठमाडौं । नेपाली जनताले सामन्ती दासता, पुँजीवादी शोषणउत्पीडन, साम्राज्यवादी दोहन र सबैखाले विभेदबाट मुक्तिका लागि हतियार उठाएको २६ वर्ष पूरा भएर २७ वर्ष लागेको छ । २०५२ साल फागुन १ गते नेकपा (माओवादी) को आह्वान र नेतृत्वमा आरम्भ भएको जनयुद्ध २६ वर्ष पूरा भएर २७ वर्ष लागेको हो । २७ औं जनयुद्धको अवसरमा नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य किरणले एक वक्तव्य जारी गरी जनयुद्धको कार्यभारको रुपमा रहेको नयाँ जनवादी क्रान्ति पूरा नभएको र मुलुकको विद्यमान अवस्थाले जनवादी क्रान्तिको अपरिहार्यतालाई पुष्टि गरेको भन्दै छरिएर रहेका सबै क्रान्तिकारी समूह र व्यक्तिहरुलाई क्रान्तिको प्रक्रियामा ध्रुवीकृत हुन विशेष आव्हान समेत गर्नुभएको छ । त्यसैगरी काठमाडौं उपत्यका लगायत सातवटै प्रदेशका जिल्लाहरुमा विभिन्न कार्यक्रम गरी क्रान्तिकारी माओवादीले जनयुद्ध दिवस भव्य रुपमा मनाउँदैछ । काठमाडौं उपत्यकामा भने पार्टी कार्यलय कुपण्डोलमा एक विशेष कार्यक्रमको आयोजना गरिएको छ । यो कार्यक्रमलाई महासचिव किरणले सम्बोधन गर्दै हुनुुहन्छ ।

त्यसैगरी जनयुद्ध दिवसको अवसमा नेकपा (विप्लव) र नेकपा (माओवादी केन्द्र)ले समेत वक्तव्य जारी गरेका छन् । र, विभिन्न कार्यक्रमको आयोजना गरी जनयुद्ध दिवस मनाउने बताएका छन् ।
जनयुद्धको मूल नेतृत्वको रुपमा रहेका प्रचण्डको वर्गीय र राष्ट्रिय आत्मसमर्पणवादी प्रवृत्तिका कारण जनयुद्धले धक्का खान पुग्यो र जुन व्यवस्था बदल्नका लागि हतियारबद्ध दशवर्ष युद्ध गरिएको थियो, प्रचण्ड अहिले त्यही प्रतिक्रियावादी संसदीय व्यवस्थाको मतियार र असली संरक्षक बनेर प्रतिक्रान्तिका खलनायकी भूमिका निर्वाह गरिरहेका छन् । र, साम्राज्यवादको नाङ्गो दलाली गरेर आफ्नो राजनीतिक अस्तित्व धानीरहेका छन् । उनले आफैले जनयुद्ध सुरु गर्दाका प्रतिबद्धताहरु रछ्यानमा मिल्काएर प्रतिक्रियावादीहरुसँग घाँटी जोड्न पुगे ।

यस्ता थिए जनयुद्ध सुरु गर्दाका ७ बुँदे प्रतिबद्धताहरु
१. हाम्रो यो योजना क्रान्तिकारी हिंसा सम्बन्धी माक्र्सवाद, लेनिनवाद, माओवादका शिक्षामा आधारित हुनेछन् । हाम्रो देशको विशिष्टता अनुसार गाउँबाट शहर घेर्ने रणनीतिमा आधारित दीर्घकालीन जनयुद्धका रुपमा अघि बढ्ने यस प्रक्रियाको पहलकदमीको योजना निर्माणका सन्दर्भमा पार्टी एक पटक पुनः माओद्वारा विकास गरिएको सर्वहारा वर्गको सार्वभौम र अपराजय माक्र्सवादी सैन्य सिद्धान्तका रुपमा जनयुद्धको सिद्धान्तप्रति अविचल रहने प्रतिज्ञा गर्दछ ।
२. जनयुद्धको थालनीको हाम्रो यो योजना राज्यसत्ता बाहेक अरु सबै भ्रम हो भन्ने मान्यतामा आधारित हुनेछ । जनताका निम्ति राजनीतिक सत्ता कब्जा गर्नु नै सशस्त्र संघर्षको प्रमुख उध्देश्ये हो भन्ने कुरामा दृढ रही यस प्रश्नमा देखापर्ने अर्थवाद, सुधारवाद, अराजकतावाद लगायतका सबै प्रकारका विचलनवादी चिन्तन प्रवृत्ति विरुद्ध निरन्तर संघर्ष गर्न पार्टी आफ्नो प्रतिबद्धता जाहेर गर्दछ ।
३. हाम्रो यो योजना सामन्तवाद र साम्राज्यवादलाई ध्वस्त गरी नयाँ जनवादी क्रान्ति पुरा गर्ने, त्यसको लगत्तै समाजवादी क्रान्तिमा अघि बढ्ने तथा सर्वहारा वर्गको अधिनायकत्व अन्तरगत क्रान्ति जारी राख्ने सिद्धान्तका आधारमा साँस्कृतिक क्रान्तिकारीहरु चलाउदै मानव जातिकै स्वर्णीम भविष्य साम्यवादको स्थापनासम्म जाने उद्देश्यमा आधारित हुनेछ । एक पटक हतियार उठएपछि त्यसलाई अन्त्यसम्म लैजाने दृढताविना सशस्त्र संघर्षको थालनी गर्नु सर्वहारा वर्ग एवम् आम जनताप्रति अपराध हुने कुरामा हामी दृढ छौ । यो संघर्ष जनताको स्थितिमा आंशिक सुधार गर्ने, प्रतिक्रियावादीलाई दवाव दिई सामान्य संझौतामा टुंग्याउने साधन बन्न कदापि दिइने छैन । यसरी हाम्रो सशस्त्र संघर्ष सबै प्रकारका निम्न पुँजीवादी , संकीर्ण रुपले मुक्त रहनेछ ।
४. हाम्रो यो योजना सर्वहारा अन्तर्राष्ट्रवादको महान् भावनामा आधारित रहने छ । नेपाली क्रान्ति, सर्वहारा विश्व क्रान्तिको अभिन्न अंग हो र यसले विश्व क्रान्तिको सेवा गर्नेछ । हाम्रो पार्टी यस सन्दर्भमा माक्र्सवाद, लेनिनवाद, माओवादको निर्देशनमा विश्व क्रान्ति अघि बढाउन तथा नयाँ अन्तर्राष्ट्रिय निर्माणको दिशामा अघिबढिरहेको क्रान्तिकारी अन्तर्राष्ट्रियतावादी आन्दोलन (रिम) जसको हाम्रो पार्टी पनि सदस्य छ । त्यसको विकासमा अझ बढी सहयोग पुर्याउने कुरालाई गम्भीरतापूर्वक लिन्छ ।
५. हाम्रो यो योजना नयाँ जनवादी क्रान्तिकालमा सर्वहारा वर्गको पार्टीको नेतृत्वमा क्रान्तिकारी संयुक्त मोर्चा र क्रान्तिकारी सेना निर्माणको सैदान्तिक मान्यतामा आधारित रहनेछ । अन्तरविरोध नियमको सार्वभौमिकता अनुसार पार्टी भित्री संघर्षलाई द्वन्द्वात्मक ढंगले ग्रहण र त्यसलाई सञ्चालन गर्नु र पार्टीलाई त्यसरी सजीव राखि हरक्षेत्रमा त्यसको नेतृत्व स्थापित गर्नु , पुरा ह्रदयले जनताको सेवा गर्न जनतासंग घनिष्ट सम्बन्ध कायम राख्ने जनदिशाको सिद्धान्तमा अविचल रहने कुरामा पार्टी कठिबद्ध छ ।
६. हाम्रो यो योजना सर्वहारा वर्गको पार्टीको स्वतन्त्र आत्मनिर्णयको अधिकारको मान्यता अनुसार बन्नेछ । पार्टीको नेतृत्वमा सामन्तवाद र साम्राज्यवाद विरोधि सबै तह र तप्काका जनसमुदायलाई गोलबद्ध गर्दै सशस्त्र संघर्ष सञ्चालन गरिनेछ । कृषि क्रान्तिलाई मेरुदण्ड मानी हाम्रो सशस्त्र संघर्ष श्रमजीवी जनसमुदाय मुख्यतः गरीब किसानहरु माथि भर परेर चल्ने छ । कहिल्यै र कुनै पनि हालतमा पार्टी देशी एवम् प्रतिक्रियावादी गुटहरुको दवाव, धम्की र प्रलोभनमा पर्ने छैन ।
७. युद्धका आफ्नै नियम अनुसार त्यो सरल रेखामा होइन जटिल बक्र रेखामा अघि बढ्नेछ । लेनिनको क्रान्ति आफैंले आफ्नो विकास क्रममा सधै नै असाधारण जटिल परिस्थिति सिर्जना गर्दछ भन्ने कुराको महत्त्वलाई आत्मसात गरेर जानु जरुरी छ । जीत र हार, उपलब्धी र क्षतिका चक्रहरु पार गरेर नै जनयुद्ध विजयी बन्नेछ । खराव कुरालाई असल कुरामा रुपान्तरण गर्ने अन्तर्विरोधको नियमलाई ठीक ढंगले पकडेर नै हामीले जनयुद्धको नेतृत्व गर्न सक्ने छौ ।






























