काठमाडौँ । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटामाथि एमसीसी संसदमा टेबल गर्न सत्तारुढ नेपाली कांग्रेसले दबाब दिएको छ । तर बुधबार १ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठकको सम्भाविक कार्यसूचिमा एमसीसीलाई राखिएको छैन । सभामुखले बुधबार ११ बजेका लागि प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकका लागि कार्यसूची तय गर्न सभामुख सापकोटाले कार्यव्यवस्था समिति बैठक बोलाएका हुन् ।
सरकारले एमसीसी संसद्मा पेस गर्ने औपचारिक जानकारी दिएपछि कार्यव्यवस्था समितिको बैठक बोलाइएको हो । आइतबार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले सभामुखलाई भेटेर एमसीसी टेबुल गर्नेबारे जानकारी दिएका थिए । सोही दिन प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालबीच पनि एमसीसी र स्थानीय तह निर्वाचनबारे छलफल भएको थियो ।
संसद् सचिवालयले बुधबारको बैठकको सम्भावित कार्यसूचीसमेत सार्वजनिक गरिसकेको छ । तर, त्यसमा एमसीसी राखिएको छैन ।
बुधबारको कार्यव्यवस्था समितिको बैठकमा कानुनमन्त्री बडूले एमसीसीलाई टेबुल गर्ने विषय राख्ने तयारी गरेको स्रोतले जनाएको छ ।