एमसीसी सम्झौता खारेजीको माग गर्दै भोलि संसद भवन घेराउ

एमसीसी सम्झौता खारेजीको माग गर्दै भोलि संसद भवन घेराउ

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालसहित २२ दलीय मोर्चाले एमसीसी सम्झौता खारेजीको माग गर्दै भोलि संसद भवन घेराउ गर्ने भएको छ ।

२२ दलीय मोर्चाको आव्हानसँगै नेकपा (क्रान्तिकारी माओवादी), देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल सहित ६ दल र दुईवटा मोर्चाले पनि संयुक्त रुपमा वक्तव्य जारी गर्दै २६ गते अर्थात् भोलि बुधबारको संसद भवन घेराउ तथा विरोध प्रदर्शनलाई सशक्त बनाउन आव्हान समेत गरेका छन् ।

राष्ट्रघाती एमसीसी सम्झौतालगायत राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विषयमा संयुक्त रूपमा आन्दोलन गर्दै आएका नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य, नेकपाका महासचिव विप्लव, नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंह, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका संयोजक आहुती, नेकपा माओवादी केन्द्र समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकी, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सीपी गजुरेल र राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीले संयुक्त रुपमा जारी गरिएको पे्रस विज्ञप्तिमा भनिएको छ, ‘शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले राष्ट्रघाती एमसीसी सम्झौता संसद्बाट अनुमोदन गर्न गरेको प्रयत्न नेपालको राष्ट्रिय स्वाधीनतामाथिको निर्मम प्रहार र दुस्साहस भएको ठहर गर्दै यसका विरुद्ध सशक्त आन्दोलन सृष्टि गर्न आम देशभक्त जनसमुदायहरूसँग हामी गम्भीर रुपमा आव्हान गर्दछौं ।”

त्यसैगरी २२ दलीय मोर्चाको तर्फबाट देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेलले जारी गर्नुभएको वक्तव्यमा भनिएको छ, “‘राष्ट्रघाती एम.सी.सी. सम्झौताको खारेजी’को निम्ति नेपालका वामपन्थी र देशभक्त शक्तिहरुले विविध प्रकारका सङ्घर्षका कार्यक्रमहरु सञ्चालन गर्दैै आएको तथ्य सर्वविदितै छ । पूर्व र बहालवाला प्रधानमन्त्रीहरु केपी शर्मा ओली एवम् शेरबहादुर देउवाले पटक–पटक यो राष्ट्रघाती सम्झौतालाई संसद्बाट पारित गराउने प्रयास गरे पनि असफल हुँदै आएका छन् । फेरि पनि अमेरिकी सरकारको दबावको अगाडि घुँडा टेकेर शेरबहादुर देउवा संसद्मा जसरी पनि एम.सी.सी. प्रस्तुत गरी त्यसलाई पारित गराउने कसरतमा लागेको कुरा व्यापकरुपमा सार्वजनिक भएको छ । नेपालको सार्वभौमिकताको रक्षा गर्न र हाम्रो देशलाई विदेशी शक्तिहरुको क्रिडास्थल बन्न नदिनका लागि हामी पुनः सडकमा उत्रिन बाध्य भएका छौं । यसका लागि सम्पूर्ण देशभक्त, वामपन्थी, राष्ट्रवादी शक्ति (व्यक्तित्व)हरुसँग एकताबद्ध भएर सङ्घर्ष गर्न हामी आह्वान गर्दछौं ।”

कार्यगत एकतामा सम्मिलित २२ राजनीतिक दल÷सङ्गठनहरुमा १. नेकपा (क्रान्तिकारी माओवादी) २. नेकपा (मसाल) ३.नेकपा (माले) ४. नेपाल कम्युनिस्ट पार्टी ५. राष्ट्रिय जनमोर्चा ६. देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल ७. नेपाल कम्युनिस्ट पार्टी, ८. नेकपा (माओवादी केन्द्र समाजवादी) ८. नेकपा (माओवादी मोर्चा) १०. राष्ट्रिय जागरण मञ्च ११. जनसमाजवादी पार्टी १२. नेकपा (संयुक्त) १३. राष्ट्रिय जागरण परिषद्, नेपाल १४. वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी १५. नेकपा (बोल्शेविक) १६. एम.सी.सी. खारेज अभियान १७. पुष्पलाल अध्ययन समाज १८. सर्वहारा कम्युनिस्ट पार्टी (माओवादी) १९. माक्र्सवादी एकता अभियान २०. नेकपा (माक्र्सवादी) २१. नेकपा माक्र्सवादी (पुष्पलाल) २२.समाजवादी राष्ट्रिय मञ्च, नेपाल लगायत रहेका छन् ।