स्थानीय तहको निर्वाचन बैशाख ३० गते गर्ने देउवा सरकारको निर्णय

स्थानीय तहको निर्वाचन बैशाख ३० गते गर्ने देउवा सरकारको निर्णय

काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको सरकारले स्थानीय तहको निर्वाचन बैशाख ३० गते गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले आगामी वैशाख ३० गते शुक्रबार स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को बैठक बस्नुअघि सरकारले निर्वाचन आयोगका पदाधिकारीसँग यसबारे परामर्श गरेको थियो । आयोगका पदाधिकारीहरूले वैशाख ३० गतेका लागि निर्वाचन मिति उपयुक्त हुने सुझाव दिएका थिए ।

आयोगले यसअघि जेठ ४ गते स्थानीय निर्वाचन मिति प्रस्ताव गरेको थियो । सोमबारको बैठकपछि सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले वैशाख ३० गतेका लागि निर्वाचन मिति तय गरिएको जानकारी दिएका छन् ।

निर्वाचनको मिति घोषणाअघि राष्ट्रपति विद्यादेवी भण्डारीसँग आइतबार सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले शितल निवास पुगेर छलफल गरेका थिए । आइतवारै बेलुका प्रधानमन्त्री निवास बालुवाटारमा कार्की, कानुनमन्त्री दिलेन्द्रप्रसाद बडू र महान्यायाधिवक्ता खम्मबहादुर खातीसँग प्रधानमन्त्री शेरबहादुर देउवाले बैठक गरेका थिए ।

स्थानीय तह निर्वाचन, अमेरिकी आर्थिक सहयोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) का विषयमा सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल प्रचण्ड, प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलसँग देउवाले छलफल गरेलगत्तै कार्की, बडू र खातीसँग बसेका थिए ।

त्यसपछि सोमबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियासँग टेलिफोनमा संवाद गरेका थिए । त्यसको केही घण्टापछि बसेको मन्त्रिपरिषद् बैठकबाट देउवाले स्थानीय तहको निर्वाचन वैशाख ३० मै गर्ने निर्णय गराए ।

यसअघि आयोगको प्रस्ताव अनुसार प्रधानमन्त्री देउवा जेठ ४ गते एकै चरणमा निर्वाचन गर्न निर्णय तयार भएका थिए । त्यसका लागि गत बिहीबारै निर्णय गर्न लागिएको थियो । तर सत्ता गठबन्धनमा सहमति जुटि नसकेकाले रोकिएको थियो । आइतवार बालुवाटारमा विभिन्न चरणको बैठकपछि मिति घोषणा भएको हो ।