काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (विप्लव), नेकपा (मसाल), नेकपा (माले), नेकपा (ऋषि कट्टेल), वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी लगायत ६ कम्युनिस्ट पार्टी र दुई मोर्चा देशक्त जनगणतान्त्रिक मोर्चा र राष्ट्रिय जनमोर्चाको संयुक्त आयोजनामा २८ मंसिरमा गरिएको संसद भवन घेराउ कार्यक्रम एमसीसी सम्झौताका विरुद्धको एउटा सशक्त प्रतिरोध थियो ।


प्रहरी प्रशासनको घेरा तोड्दै संसद भवन प्रवेश गर्ने सबै द्वार अगाडि गरिएको विरोध प्रदर्शन, प्रहरीसँगको पटक पटकको झडप, अन्धाधुन्ध लाठिचार्ज, सैयौं जना घाइते, जसमा २६ जना गम्भिर घाइते, ७५ जनाको गिरफ्तारी आदिले एमसीसी सम्झौता विरुद्धको यो संघर्ष आफैमा एउटा सशक्त प्रतिरोध थियो ।


प्रहरीको लाठिचार्जबाट नेकपा (क्रान्तिकारी माओवादी)का केन्द्रीय सदस्य गणेश खड्गी गगन, अखिल (क्रान्तिकारी)का सचिव महेश श्रेष्ठ, घनश्याम बोगटी, मंगल तामाङ लगायत दर्जनौको टाउको फुट्यो । गणेश खड्गीको त टाउकोमा ७ वटा टाँका लगाइएको छ भने घनश्याम बोगटीको टाउकोमा रगत जमेको भन्दै चिकित्सकले सघन उपचार गर्नुपर्ने सुझाब दिएको छ । २६ जनाको टाउकोमा नै गम्भिर चोट लागेको र उहाँहरुको उपचार भइरहेको देशभक्त जनगणतान्त्रिक मार्चा, नेपालका अध्यक्ष सीपी गजुरेलले जानकारी दिनुभएको भएको छ । उहाँका अनुसार प्रहरीसँगको झडप र प्रहरीको लाठि खाएर सामन्य रुपमा घाइते हुनेको संख्या त सयभन्दा बढी छ ।


प्रहरीको लाठि चार्जबाट नेकपा (विप्लव)का प्रवक्ता प्रकाण्ड, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका संयोजक आहुति, नेकपा (क्रान्तिकारी माओवादी)का नेता दिनेश शर्मालगायतका नेताहरु समेत घाइते हुनुभयो । उहाँहरु लगायत अखिल नेपाल जनसाँस्कृतिक महासंघका अध्यक्ष प्रा.डा. जगदीशचन्द्र भण्डारी, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका महासचिव बसन्त बोगटी, नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य प्रेम दर्नाल, नेपाल कम्युनिस्ट पार्टीका कार्यालय सचिव चिरञ्जीवी ढकाल, अखिल (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष प्रकाश शाहीलगायतका नेता, कार्यकर्ता घाइते हुनु भयो ।

नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका महासचिव परि थापा, क्रान्तिकारी माओवादीका पीवीएम दिनेश शर्मा, प्रा.डा. जगदीश चन्द्र भण्डारी, अनेमसंघ (क्रान्तिकारी)ं की महासचिव शारदा महत, क्रान्तिकारी युवा लिग नेपालका अध्यक्ष अमिर महर्जन, अखिल (क्रान्तिकारी)का अध्यक्ष हरिकृष्ण गजुरेल, नेकपा (विप्लव)का नेता ओम पुन, दलित नेता टेक ब. बिक, शेखर आर्चाय, भारत लामिछाने, शोभा बि.क., समिर थापा, प्रदिम बोम्जन, गणेश घिमिरे, सुरेश तामाङ्ग, श्याम केसी, निरन तुलाधार, हिक्मत परियार, दिनेश नेपाली, प्रेम तामाङ्ग लगायत ७५ जनालाई बानेश्वर प्रहरीवृत तिनकुनेमा थुनियो । साँझ नेकपा (क्रान्तिकारी माओवादी)का पीवीएम पवनमान श्रेष्ठको रोहबरमा सबैलाई छाडियो ।


दमन र गिरफ्तारीको विरोधमा महासचिव किरणको वक्तव्य
नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य किरणले एक वक्तव्य जारी गरी संसद भवन घेराउ कार्यक्रमको क्रममा प्रहरी प्रशासनले गरेको निर्मम दमन र गिफ्तारीको घोर भत्र्सना गर्नुभयो । प्रहरीले अन्धाधुन्ध लाठिचार्ज गर्दा घाइते हुन पुग्नु भएका नेता कार्यकर्ताहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै गिरफ्तार नेता कार्यकर्ताहरुलाई अविलम्ब रिहाइ गर्न जोडदार माग गर्नुभयो ।
वक्तव्यमा भनियो, “सरकारको यो बहुलठ्ठीपूर्ण कार्वाहीले नेपालका दलाल शासकहरुको अमेरिकी साम्राज्यवादप्रतिको भक्तिभावलाई प्रष्ट पार्नुका साथै नेपाली शासक वर्ग अमेरिकी साम्राज्यवाद तथा एमसीसी परियोजनाका विरुद्ध बढिरहेको नेपाली जनताको समर्थनबाट कति धेरै आतङ्कित रहेछ भन्ने कुरालाई पुष्टी गर्दछ ।”
वक्तव्यमा अगाडि भनियो, “हाम्रो पार्टी राष्ट्रघाती एमसीसी संझौताका विरुद्ध आन्दोलनमा उत्रिएका देशभक्त नेपाली जनतामाथि गरिएको सरकारी दमन र गिरफ्तारीको घोर निन्दा तथा भत्र्सना गर्दछ र घाइतेहरुको शीघ्र उपचार र गिरफ्तार गरिएका सम्पूर्ण नेता तथा कार्यकतालाई अविलम्ब रिहाइका लागि सरकारसँग जोडदार माग गर्दछ । साथै, हाम्रो पार्टी अमेरिकी साम्राज्यवादको हस्तक्षेपको अन्त्य र राष्ट्रघाती एमसीसी परियोजना खारेजीका लागि जोडदार आवाज उठाउन सम्पूर्ण देशभक्त नेपालीलाई हार्दिक आह्वान गर्दछ ।”
एमसीसी खारेज नभएसम्म संघर्ष जारी ः आठ दल
नेकपा (क्रान्तिकारी माओवादी) महासचिव मोहन वैद्य किरण, नेकपा (विप्लव)का महासचिव विप्लव नेकपा (मसाल)का महामन्त्री मोहनविक्रम सिंह, नेकपा मालेका महासचिव सीपी मैनाली, नेकपाका अध्यक्ष ऋषि कट्टेल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका संयोजक आहुती, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले मङ्गलबार साँझ संयुक्त विज्ञप्ति जारी गर्दै एमसीसीविरुद्धको आन्दोलनमा सक्रिय सहभागिता जनाउने सबैमा धन्यवाद दिनुभयो । आन्दोलनमा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभ र बन्दी बनाइएकाहरूको अविलम्ब रिहाइको माग गर्नुभयो ।
संंयुक्त प्रेस विज्ञप्तिमा भनियो, ‘नेपाल राष्ट्रको स्वाधीनतामाथि अमेरिकी साम्राज्यवादी हस्तक्षेप गर्ने एमसीसी परियोजना र त्यसलाई नेपालको संसद्बाट पारित गराउने देउवा सरकार एवम् नेपाली दलाल तत्वहरूका विरुद्ध ६ कम्युनिस्ट पार्टी र २ वटा मोर्चाले आज आयोजना गरेको संसद् भवन घेर्ने आन्दोलनको कार्यक्रम ऐतिहासिक, जुझारु, भव्य र सानदार रूपमा सपन्न भएको छ । सङ्घर्षको कार्यक्रमलाई यो स्तरबाट सफल पार्न सशक्त रूपमा सहभागी हुने पार्टीका नेता, कार्यकर्ता, सङ्घ, सङ्गठन, अभियन्ताहरू र आमनेपाली जनसमुदायमा हार्दिक बधाई तथा धन्यवाद ज्ञापन गर्दछौँ ।’
विज्ञप्तिमा अगाडि भनियो, ‘काठमाडौँ र चितवनमा योे सरकारले गरेको निरङ्कुशतावादी बर्बर दमनको हामी घोर निन्दा एवम् भत्र्सना गर्दछौँ । घाइते नेता तथा कार्यकर्ताहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ । गिरफ्तार गरिएका आन्दोलनकारीहरूलाई तुरुन्त रिहा गर्न र घाइतेहरूको निःशुल्क उपचार गर्न सरकारसँग जोडदार माग गर्दछौँ ।’
संयुक्त विज्ञप्तिमा चेतावनी दिएको छ, ‘राष्ट्रघाती एमसीसी परियोजनालाई अमेरिकी जो बाइडन सरकारले तत्काल फिर्ता नलिए र देउवा सरकारले खारेज नगरे आगामी दिनमा कडा आन्दोलनको घोषणा गर्ने चेतावनी पनि दिन चाहन्छौँ ।’
एमसीसी पास गराउने देउवा सरकारको षड्यन्त्र
अघिल्लो पटक शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा नेपाल र अमेरिकाबीच सन् २०१७ मा एमसीसी सम्झौतामा हस्ताक्षर भएको थियो

अमेरिकी सहायता निकाय मिलेनीअम च्यालेन्ज कर्पोरेशनले निकट भविष्यमा झन्डै ६० अर्ब रुपैयाँ बराबरको आर्थिक अनुदान अनुमोदन गर्ने प्रतिबद्धता नेपाल सरकारले व्यक्त गरेको जनाएको छ ।
वाशिङ्टन डीसीमा बुधवार जारी गरिएको विज्ञप्तिमा नेपाललाई विद्युत् प्रसारण लाइन र सडक पूर्वाधारका लागि प्रतिबद्धता जनाइएको आर्थिक सहायताबारे समीक्षा गरिएको उल्लेख गरिएको छ ।
हालैका महिनामा अमेरिकी सरकारका वरिष्ठ अधिकारीहरूले काठमाण्डू भ्रमण गरी सन् २०१७ मा नेपाल र अमेरिकाबीच भएको उक्त अनुदान सम्झौताबारे चाँडो निर्णय लिन नेपालको सरकारलाई दबाब दिएका थिए ।
गएको सेप्टेम्बरमा एमसीसी उपाध्यक्ष फातिमा जी सुमार र नोभेम्बर महिनामा अमेरिकी सहायक विदेशमन्त्री डोनल्ड लूले प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्तापक्षीय र प्रतिपक्षका प्रमुख नेताहरूसँग भेटेर एमसीसी सम्झौता पास गर्न दबाब दिएका थिए ।
नेपालमा विवादास्पद मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौता संसदबाटै पारित हुनेमा अमेरिका अझै आशावादी देखिएको छ । सञ्चालक समितिको चौमासिक बैठकमा चाँडै नै कम्प्याक्टलाई संसदबाट अनुमोदन गर्ने प्रतिवद्धता नेपाल सरकारबाट आएको जानकारी गराइएको र त्यसतर्फ ध्यान दिइएको एमसीसी मुख्यालयले जनाएको छ ।
एमसीसी बोर्ड बैठककै दिन पारेर नेपाल सरकारले मंसिर २८ का लागि संसदका दुवै बैठक आह्वान गरेको थियो । तर एमसीसीका विरुद्ध आठ दलको घेराउ र प्रदर्शन लगायतका कारण संसद बैठक एकसाताका लागि स्थगित भएको बैठक पौष ६ गते पुनः बोलाइएको छ । र, ८ दलले पनि पुनः संघर्षका कार्यक्रम घोषणा गर्दै देशव्यापी विरोध प्रदर्शन गर्ने तयारी गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर