मैले पहिलो पटक पाख्रिन दाइलाई दाङ घोराहीमा देखेको हुँ । त्यतिवेला म महेन्द्र बहुमुखी क्याम्पस भरतपुर, घोराहीमा पढ्थेँ । यो २०४७ साल जेठ या असारको महिना थियो । भरखरै नेपालमा पञ्चायती व्यवस्थाको अन्त्य भएर बहुदल घोषणा भएको थियो । हामीले बहुदल घोषणा हुनुलाई ‘जनताको आन्दोलनमाथि भएको धोका थियो’ भनेर देशव्यापी २०४६ माघदेखि सुरु भएको जनआन्दोलन जारी नै राखेका थियौँ । त्यो बेला हाम्रो आन्दोलनको मोर्चा थियो, ‘संयुक्त राष्ट्रिय जनआन्दोलन संयोजन समिति’ । मैले सोधीखोजी त केही गरिन सायद पार्टीले पाख्रिन दाइलाई साङ्गीतिक प्रस्तुती लिएर देशव्यापी दौडाहामा पठाएको थियो होला, जनतामा जागरण ल्याउनका लागि । उहाँ र हामी एउटै पार्टीका सदस्य रहेछौँ, नेकपा (मशाल)का ।

ख्याउटे शरीर, रातो वर्णको, लामो झ्याप्प कपाल पालेको र सारङ्गी रेटेर गीत गाएको पाख्रिन दाइलाई सबैले निकै कुतुहलताका साथ हेरेका थिए । कार्यक्रम घोराहीको बालमन्दिरको प्राङ्गणमा भएको थियो । उहाँका गीत पहिलो पटक उहाँकै मुखबाट गाएको सुनेको हुँ । उहाँले आफ्नो गीतिसङ्ग्रह ‘आँशुका भाका’बाट केही गीत गाउनु भएको थियो । त्यतिबेला दाइले आफैले सारङ्गी बजाएर गाउनु भएको पहिलो गीत थियो–

‘गैँटी बेल्चा उचालेर, पहरालाई छिचलेर,
डाँडाकाँडा बाटो बनायो
के खायो नि कुल्ली दाइले
के पायो नि कुल्ली भाइले
अर्कैले ट्याक्सी गुडायो’

यो गीत सुन्दा मलाई तुलसीपुर–सल्यान जोड्ने बाटो खनेको दृष्य याद आएको थियो । २०३३ सालदेखि २०४० सालसम्म सल्यानरोड खन्दा सल्यानरोडमा पर्ने पहरेखोला, लाटीभीर, दक्सुडाँडा, चोरखोला, गोठेरीखोलाका अजङ्गका भीरहरू डाइनामाइट पड्काएर पहरा फोडेको दृश्य मैले नजिकैबाट देखेको थिएँ । बाटो खन्न आएका कुल्लीहरूको कडा परिश्रमलाई मैले आफ्नै हातले छामेको थिएँ । त्यतिबेला त्यो बाटो खन्ने क्षेत्रमै हाम्रो किराना सामानको दुकान र चिया पसल थियो । कुल्लीहरूले हाम्रो पसलबाट उधारोमा सामान लैजान्थे । कुल्लीहरूलाई ठेकेदारले ठगेको र पुरै ज्याला नपाएर कुल्लीहरू रिसाउँदै काम छोडेर हिँडेको मैले प्रत्यक्ष देखेको थिएँ । मलाई त्यो गीत सुन्दा तिनै सल्यानको बाटो खन्ने कुल्लीहरूको गीत बनाएर गाएको जस्तो लागेको थियो । गीतले मेरो मुटुमै चपक्क अँठ्याएको महसुस भएको थियो । त्यसपछि दाइले दोस्रो गीत गाउनुभयो गीटार बजाएर–

‘फाटेको जालैले छेकेको
छेकेपनि छर्लङ्गै देखेको
हेर गाउँले हो,
छर्लङ्गै देख्नुभो देशमा केके भो’

यो गीतले भर्खरै बिदा गरेको पञ्चायती निरङ्कुश शासन व्यवस्थाको पाप्रो उप्काइदिएको थियो । हामीले भोगेको शासनसत्ताको चरित्र राम्रैसँग उदाङ्गो बनाइदिनु भएको थियो पाख्रिन दाइले । पञ्चायती व्यवस्थाको क्रुरतम अनुहारको सजीव चित्र दाइको यो गीतमा देखिएको थियो । यद्यपि त्यो गीतको प्रभाव अहिलेसम्म नै यथावत छ । अहिले पनि सत्ताको चरित्र उस्तै छ । शासकहरू उस्तै निरङ्कुश र क्रुर छन् जस्तो पञ्चायतमा थिए । परिवर्तनकारी जनतालाई दमन गर्ने राज्यको रबैया उस्तै छ ।

पाख्रिन दाइले जीवन पर्यन्त जनताका गीत गाउनुभयो । देशको गीत गाउनुभयो । आफ्ना सबै अवसर, इच्छा आकाङ्क्षा, व्यक्तिगत जीवनका सुख, दु:ख त्यागेर माटोमा पसिना बगाउने र राष्ट्रका निम्ति रगत बगाउनेहरूका निम्ति गीत गाउँदै हिँड्नुभयो । पाख्रिन दाइ जनगायक बन्नुभयो।

पाख्रिन दाइसित मेरो दोस्रो भेट २०४८ असोजमा भारतको फरिदावादमा भएको हो । त्यतिवेला दाइले प्रवासका नेपाली बस्ती भएका गल्लीहरूमा जनताका भाका गाउँदै हिँड्नुभएको थियो । दाइलाई पार्टीले प्रवासमा साङ्गीतिक अभियान लिएर भारतका विभिन्न सहरहरूमा प्रवासिएका नेपालीहरूलाई जगाउँदै हिँड्न खटाएको थियो । म भने स्कुलको दशैँ विदाको समयलाई सदुपयोग गर्न भ्रमणका क्रममा त्यसतर्फ गएको थिएँ । त्यतिवेला भारतमा ‘नेपाली एकता समाज’का भेला र सम्मेलनहरूको अभियान नै चलेको थियो । किनकि यता हाम्रो पार्टीको एकता महाधिवेशनको अभियान चलेको थियो र प्रवासमा पनि एकता समाजको एकता सम्मेलनहरू चलेका थिए । मेरा निम्ति ‘एक पन्थ दुई काज’ भएको थियो । पहिलो पटक भारत भ्रमणको अवसर थियो भने दोस्रो एकता समाजका सम्मेलनहरूमा सहभागी भएर अनुभवहरू लिने अवसर मिलेको थियो । त्यतिवेला फरिदावादको १६ सेक्टरमा रहेका माहाकलीतिरका मजदुर कालिप्रसाद दाइको डेरामा पाख्रिन दाइसित भेट भएको थियो । पाख्रिन दाइको साथमा विना भुसाल र अरू दुइतीन जना कलाकार थिए । विना भुसालसित मेरो पहिलो भेट त्यहीँ भएको हो । त्यहाँको एउटा कार्यक्रममा मैले पनि पाख्रिन दाइसित गीत गाउने अवसर पाएको थिएँ । त्यतिवेला पाख्रिन दाइसित मैले ‘टाढैबाट चिनियो, ढाका टोपी लाउनेलाई’ गीत गाएको थिएँ । साथै अरू थुप्रै गीतहरू पाख्रिन दाइ र विना भुसाल (शर्मा)ले संयुक्त र एकल रूपमा गाउनु भएको थियो । फरिवाद र नइदिल्लीका विभिन्न ठाउँमा भएका कार्यक्रमहरूमा श्रमिकका आँशु र पसिना मुछिएका गीत गाएर दाइको टोली टि.वि. पाठकसँग चण्डिगढतिर लाग्यो भने म दाङ फर्किएको थिएँ । त्यतिबेला मैले दाङको भ्युँडहर सुनपुरको मावि पवननगरमा शिक्षण पेसा गर्थें ।

त्यसपछिको भेट जनयुद्धको पिकआवरमा २०६० मा भारतकै लखनउमा भयो । त्यो बेला पनि पाख्रिन दाइ पूर्वि नेपालको साङ्गीतिक अभियान सकेर पश्चिम नेपालका लागि जाँदै हुनुहुन्थ्यो । त्यसपछि हामी एक दुई वर्षको अन्तरालमा लगातार भेट भई नै रह्यौँ । २०६०को अन्त्यतिर म पनि केन्द्रीय र कमानको विभागीय जिम्मेवारीबाट सरुवा भएर केन्द्रीय आधार इलाकामा आएको थिएँ । हामीले रोल्पामा जनादेशको कार्यालय राखेका थियौँ । त्यहीँ हामीले ‘रिको अफसेट प्रेस’ राखेर जनादेश प्रकाशन गथ्र्यौं । म जनादेशको सम्पादक थिएँ । रोल्पामा रहुञ्जेल हामी बैठक, भेला, जनसभा, साङ्गीतिक कार्यक्रमहरूमा सँगै हुन्थ्यौँ । मैल त्यस समयमा पाख्रिन दाइसित अन्तरवार्ता पनि लिएको छु । उहाँसँग जनवादी गीतहरूको भण्डार नै थियो ।

औपचारिक शिक्षा धेरै नपढेता पनि पाख्रिन दाइले नेपाली समाजको वास्तविक जनजीवन प्रचुर मात्रामा पढ्नु भएको थियो । आपूm तामाङ समुदायको भएता पनि चितौनीयाँ थारु, अवधी भाषामा पनि उहाँले गीत लेख्ने सङ्गीत भर्ने र गाउने गर्नु हुन्थ्यो । त्यस्तै तामाङ शेलो, शेर्पा, भोटे, गण्डकतिरको कौडा, सालैजो, पश्चिमको टप्पा जस्ता लोक भाकाहरूमा पनि उहाँले गीत लेख्ने र सङ्गीत भरेर गाउनुभएको छ । यसरी पाख्रिन दाइका गीतले नेपालको तराइ, पाहाड र हिमालका सबै जनजीवनको वास्तविक जीवनको सजीव चित्र कोरेका छन् ।

२०६० पछिका दिनहरूमा पाख्रिन दाइसँग एकैसाथ सांस्कृतिक मोर्चामा रहेर सहकार्य गर्ने अवसर पनि मिल्यो । २०६३ मा त्रि.विको अडिटोरियम हलमा भएको अखिल नेपाल जनसांस्कृतिक महासङ्घको तेस्रो राष्ट्रिय सम्मेलनपछि हामी केन्द्रीय समितिमा रहेर एकसाथ सांस्कृतिक आन्दोलनमा सहभागी भयौँ । दाइले सामना परिवारको नेतृत्व सम्हाल्नुभयो । यद्यपि परिवारको संयोजकमा माइला लामा रहनु भएता पनि पाख्रिन दाइको भूमिका समग्र सांस्कृतिक आन्दोलनको अविभावकको रूपमा रह्यो । २०४७ सालमा पहिलो पटक दाङ घोराहीमा भेट भएदेखि पछिल्लो पटक हामी इच्छुक सांस्कृतिक प्रतिष्ठानको कार्यसमितिमा एकैसाथ रहँदासम्म मैले पाख्रिन दाइलाई राम्रोसँग पढ्ने, बुझ्ने, चिन्ने र जान्ने अवसर पाएँ । मैले दाइलाई बुझेको र पढेको पाठबाट पाएको अनुभव यस्तो रह्यो–

– पाख्रिन दाइमा वर्गप्रतिको इमान्दारिता प्रचुर मात्रमा थियो । उहाँले जेजति गीत सङ्गीत नेपाली समाजलाई दिनुभयो ती सबै नेपाली समाजको वास्तविकतामा आधारित छन् । उहाँका गीतहरूमा नेपाली समाजले युगौँदेखि भोग्दै आएको वर्गीय, जातीय, क्षत्रीय र लैङ्गिक उत्पीडनका कथा व्यथा प्रतिबिम्बित भएका छन् । उहाँका गीतहरूले समाजको यथार्थताको प्रस्तुती मात्रै गरेका छैनन् तिनले निकासको बाटो पनि देखाएका छन्।

– पाख्रिन दाइका गीतहरू कुनै एउटै भाषा, संस्कृति, पहिचान र तिनको नेपाली समाजमा प्रभावका बारेमा मात्रै छैनन् । उहाँका गीतहरूले नेपालका विभिन्न भाषा, संस्कृति, पहिचानको मूल्य र प्रभावलाई समेटेका छन् ।

– पाख्रिन दाइका गीतहरूमा शब्द, लय, स्वर, सुर, ताल र तिनको आफ्नै पृथक पहिचान दिने मौलिक सङ्गीतको राम्रो संयोजन छ ।

– उहाँका गीतहरूमा उत्पीडित समुदायका जनताप्रतिको वर्गीय पक्षधरताको पक्ष अत्यन्तै उच्च र सवल छ ।

–पाख्रिनका गीतहरूमा हिमाल, पाहाड र तराईका समाजको सजिव चित्र उतारिएका छन् । प्रकृतिको मानवीकरण, मानव समुदायको प्रकृतिकरण गर्नमा दाइका गीतहरू सवल देखिएका छन् । यसले गीतहरूलाई सुन्दर, मिठासपूर्ण, कर्णपृय र लालित्यमय बनाएका छन् ।

– पाख्रिनका कतिपय गीतहरू कालजयी छन् । ती जतिपटक सुने पनि सुनिरहुँ, गुनगुनाई रहुँ लाग्छन् । जस्तो कि, कालो बनको बिचैमा, गैटी बेल्चा उचालेर, फाटेको जालैले छेकेको, टाढैबाट चिनियो, हाम्री चेली बिरानो गाउँमा, डुल्दै आउँदा परदेशमा आदि गीतहरूले नेपाली समाज, नेपालको राज्य व्यवस्था, जनताको अवस्था, यहाँको वर्गीय स्वरूप आदिको स्यामश्वेत तस्बिर उतारेका छन् । यी कालजयी छन् । जनताका निम्ति अत्यन्तै लोकप्रीय र कर्णप्रिय छन् ।

– पाख्रिनका गीतहरूले नेपालका सबै जनवादी गीत, सङ्गीतहरू भन्दा फरक पहिचान दिएका छन् ।

–उहाँका गीतहरू अधिकांशले लोकलय समातेका छन् । सरल, सहस शब्दका माध्यमबाट नेपाली समाज र सत्ताको चरित्र देखाउन पाख्रिन दाइ सफल रहनु भएको छ ।

– पाख्रिन दाइका गीतहरूले अत्यन्तै तल्लो वर्गका मजदूरहरू जस्ले ज्यानको जोखिम मोलेर पाखुरा बजार्छन् तिनीहरू, किसान, महिला र ससाना बालबच्चाहरूसँग प्रत्यक्ष सम्वाद गर्छन् र तिनलाई राज्यसत्ताका विरुद्ध सङ्गठित भएर विद्रोहमा सामेल हुन आह्वान गर्छन् ।

पाख्रिन दाइलाई पनि एकको दुईमा विभाजन गरेर हेर्नुपर्ने हुन्छ । माक्र्सवादी दर्शनले त्यही भन्छ । हाम्रो नेपाली समाजमा मानिसलाई जिउँदो हुँदासम्म उसको गलत पक्षलाई बढ्ता उचाल्ने र सकेसम्मको खुइल्याउने अनि मृत्युपछि भने उसको दोष नै नदेख्ने र प्रशंसै प्रशंसाको पाहाड बनाएर देवत्वकरण गर्ने चिन्तन परम्परा छ । यसलाई दर्शनको भाषामा अधिभूतवादी चिन्तन भनिन्छ । यो चिन्तन नेपालको कम्युनिस्ट आन्दोलनमा पनि जब्बर बनेर बसेको छ । परन्तु हामी यदि सच्चा कम्युनिस्ट हौँ वा हुन चाहन्छौँ भने हरेक मानिसमा गुण र दोषसहित हुन्छ भनेर बुझ्न आत्मसात गर्न सक्नु पर्छ । तसर्थ यहाँ पाख्रिन दाइका बारेमा पनि उहाँका सीमाहरू थिए भनेर उल्लेख गर्न खोजिएको छ । ता कि त्यसबाट बाँचेका हामीले पाठ सिकेर ती गल्ती दोहोर्‍याउने छैनौँ । जस्तो कि–

– पाख्रिन दाइले कम्युनिस्ट आन्दोलनमा लागेदेखि मृत्युको घडिसम्म जनवादी गीत सङ्गीत क्षेत्रमा लाग्नु भयो । तापनि उहाँले जनवादी गीत सङ्गीतको ट्रयाक निमार्णमा शास्त्रीयताको अध्ययन गर्नु भएन । जसले गर्दा हामीले लोक, आधुनिक, र्‍याप, पप, आदि भन्दा पृथक कस्तो सङ्गीत र लय निर्माण गर्ने भन्ने कुरा अहिले पनि अन्यौलता नै रहेको छ । जनवादी गीत सङ्गीतमा लागेकाहरू कसैले पनि अहिलेसम्म यस बारेमा अध्ययन नै गरेको पाइँदैन । कमसेकम जीवनभर यही क्षेत्रमा जीवन विताएकाहरूले यसबारेमा अध्ययन, अनुसन्धान गर्नु पर्ने हो ।

– पाख्रिन दाइले जीवनभर क्रान्तिकारी धारामा आफ्नो सीप, कला, क्षमता, परिवार, र जीवनका सबै सुख दु:खहरू समर्पित गर्नुभयो । वैयक्तिक स्वार्थको तिलाञ्जली दिनुभयो । बलिदानीको बाटो रोज्नु भयो । तर जीवनको अन्तिम समयमा आएर उहाँमा लाभको पदीय स्वार्थले वैचारिक विचलनताको बाटो रोज्न लगायो । यो उहाँको कमजोरी थियो । जुन वर्ग र सत्ताका विरुद्ध उहाँले जीवनको सम्पूर्ण समय खर्चिनु भयो अन्तिममा आएर त्यसैको पक्षपोषण गर्न लागिपरेका नेताहरूको उपयोगको साधनमा आफूलाई समर्पित गर्नु भयो ।

– उहाँले महान् जनयुद्धका क्रममा आफ्नो छोरा गुमाउनु भयो । त्यसले उहाँलाई क्रान्तिप्रति अझ उर्जावान बानायो । परन्तु जब पार्टी कथित शन्ति प्रकृयामा आएपछि सरकारद्वारा प्रदान गरिएको सहिद परिवारलाई दिइएको राहत रकमप्रति आशक्ति देखाएर बुहारीप्रति सद्भाव र सहानुभुती जनाएर अविभावकत्व लिनु पर्नेमा उल्टो उनलाई आफ्नो जीवनसाथी गुमाएको पीडामा झन् पीडा थपिदिने जस्तो गलत कार्य गर्नुभयो । त्यसका बिरूद्ध बुहारीले न्यायको लडाइँ लड्नु पर्ने वातावरण बन्यो । यसो गर्नु हुँदैनथ्यो । सहिद परिवारको पहिलो हक जीवनसाथी नै हुन्छ, बाबुआमा होइन भन्ने कुरा बुभ्mने चेष्टा गर्नु भएन ।

यी र यस्ता केही वैचारिक, नीतिगत र मानवीय स्वभावका कमजोरी पाख्रिन दाइमा थिए । तथापि उहाँको सबल पक्षकै तराजु गह«ौँ छ । आधारभूत वर्ग, समुदायबाट आएको व्यक्ति पाख्रिन दाइले नेपालको कम्युनिस्ट आन्दोलनलाई क्रान्तिकारी धारामा बदल्नका निम्ति गरेको मूल्य, वर्ग सङ्घर्षमार्फत् नेपाली समाजलाई उहाँले पुर्‍याउनु भएको योगदान अतुलनीय छ । उच्च छ । स्तुत्य छ । यो नै उहाँको सबल पक्ष हो । हामी बाँचेका क्रान्तिकारी आन्दोलनका अभियन्ताहरूले पाख्रिन दाइबाट सिक्नु पर्ने शिक्षा धेरै छ । अल विदा पाख्रिन दाइ । हार्दिक श्रद्धाञ्जली सहित् यो संस्मरण पाख्रिन दाइमा समर्पित गर्दछु ।

प्रतिक्रिया

सम्बन्धित खवर