अहिलेको विश्वमा प्रधान अन्तर्राष्ट्रिय अन्तर्विरोध वैदेशिक प्रतिक्रियावाद अर्थात् साम्राज्यवाद र उत्पीडित राष्ट्र अर्थात् गरीब तथा पिछडिएका राष्ट्रहरू बिचको अन्तर्विरोध हो भन्ने मान्ने नेपाली कम्युनिस्ट क्रान्तिकारीहरूले राष्ट्रिय अन्तरविरोध कुन–कुन शक्तिका बिच छ भन्नु ठिक होला ? अथवा यसो भनौं : अहिलेको नेपाली क्रान्तिको कार्यदिशा के होला ? आज साम्राज्यवाद मुख्यत: अमेरिकी साम्राज्यवादको एकछत्र जस्तै हुकुम–हैकम र हस्तक्षेप सामान्यतया नेपाल जस्ता तेस्रो विश्वका सबैजसो मुलुकहरूमा भैरहेकोले स्वत: स्वाभाविक र अनिवार्य रूपले प्रधान राष्ट्रिय अन्तर्विरोध पनि साम्राज्यवादसँग नै छ वा हुनुपर्छ भन्ने देखिन्छ । विश्वमा साम्राज्यवादका विविध स्वरूपहरू छन् । ती मध्ये विस्तारवाद पनि एक हो ! दक्षिण एसियामा त्यसमध्ये पनि हाम्रो देश नेपालमा भारतीय विस्तारवादको शोषण–दमन र हस्तक्षेप विगत लामो समयदेखि रहँदै आएको छ । अझ यो परम्परागत हस्तक्षेप दिन प्रतिदिन बढ्दै पछिल्लो चरणमा बहुआयामिक रूपमा पेचिलो र कसिलो पनि हुँदै आएको छ । सन् १८१६ को सुगौली सन्धिपछि सुरु भएको बृटिश–भारतीय अतिक्रमण र औपनिवेशिकरणको यो प्रकृया आजको मुक्ति, स्वाधीनता र स्वतन्त्रताको आधुनिक युगसम्म आइपुग्दा त झन् भौगोलिक, राजनीतिक, आर्थिक, भाषिक, धार्मिक, सांस्कृतिक, जनसाङ्ख्यिक र सामरिक रूपका विविध हस्तक्षेपका आयामहरू मार्फत् बरकरार रहेको मात्र होइन, झन् झन् हाकाहाकी, तीव्र, पेचिलो, कसिलो, जटिल र गम्भीर रूपमा बढिरहेको छ । फलस्वरूप राणा कालमा सुरु भएको बृटिश साम्राज्यवादप्रतिको नेपाली शासकवर्गले गर्दै आएको भक्ति, दलाली, चाकरी र वफादारीको प्रकृया पनि आजसम्म आउँदा त प्रभुकरण र आत्मसमर्पणको स्वरूपमा विकसित भएको छ ।

आज देशमा २००७, २०२८, २०३६, २०४६, २०५२ र २०६२–०६३का भिषण आन्दोलनहरू हुँदा र देशभक्त क्रान्तिकारीहरूका त्याग, तपस्या र बलिदानका उच्चतम कीर्तिमान कायम हुँदासम्म समेत् देशको अस्मिता, अस्तित्व, स्वत्व, स्वाधीनता र स्वाभिमान सुरक्षित हुन सकेको छैन । र, नेपाललाई प्राथमिकता क्रमअनुसार क्रमश: सिक्किमीकरण, भुटानीकरण, फिजीकरण वा कम्तिमा खण्डीकरण गरेर यसको नामो निसान मेटाउने जालझेल र चलखेलहरू भैरहेका छन् ! विचित्रको विडम्बना त यो भएको छ कि यस प्रकृयामा नेपाली नेता–शासकहरू नै वैदेशिक शक्तिकेन्द्रहरूको दलाली र दासता निर्बाध र निर्भिकतापूर्वक नाङ्गै, खुल्लै र सिधै गरिरहेका छन् । यसले गर्दा देशको अस्तित्व झन्पछि झन् गम्भीर सङ्कटमा परेको छ । आजसम्म स्वतन्त्रता र समानताको लागि नेपालमा भएका उपरोक्त आन्दोलनहरूबाट यस दिशामा राज्य व्यवस्थामा भए–गरेका परिवर्तन र परिमार्जन पछाडि पनि विभिन्न व्यवस्था अन्तर्गत देशका विभिन्न शक्तिहरूले शासन गरिरहेका छन् । जहानियाँ हुकुमी राणाशासन र यस अन्तर्गत राणाहरूले, निर्दलीय निरङ्कुश पञ्चायत शासन र यस अन्तर्गत राजा र पञ्चहरूले, पुँजीवादी संसदीय शासन र यस अन्तर्गतका काङ्ग्रेस, कम्युनिस्ट, राप्रपा, मधेसवादी आदि शक्तिहरूले लामो समयसम्म पनि एकल वा संयुक्त रूपमा पटक पटक सरकार सञ्चालन गरेका छन् । यस क्रममा राज्यको लोकतान्त्रिकरण गर्ने र आधुनिक राज्यका विशेषताहरू अवलम्बन गर्ने अर्थात् गणतन्त्र, राजनीतिक स्वतन्त्रता, मानव अधिकार, प्रेस स्वतन्त्रता, कानुनी राज, आवधिक निर्वाचन, मौलिक हक, अनि उपेक्षित र बहिष्कृतहरूको समेत् राज्यसत्तामा सहभागिता आदि जस्ता कुराहरूको थोरबहुत प्राप्ति त भएको छ तर यो उपलब्धि सँगसँगै नेपालको राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र अखण्डता भने दिनानु दिन चरम खतरामा परिरहेको छ । आज कालापानी, सुस्ता लगायतका ६ दर्जन जति स्थानहरूमा ६० हजार हेक्टरभन्दा बढी नेपाली भूमिमा भारतीय विस्तारवादीहरूबाट भैरहेको सीमाक्षेत्रमा अतिक्रमणलगायतका माइक्रो म्यानेजमेन्टसम्मका काम कुराहरूमा हुँदै आइरहेका राजनीतिक, आर्थिक, सामाजिक, धार्मिक, सांस्कृतिक र सामरिकसम्मका हस्तक्षेपले के कुराको पुष्टि गर्छन् ? स्पष्ट छ कि हाम्रो देश आजको युगमा पनि समयानुकुल स्वतन्त्र र सार्वभौम छैन ! यो अद्यापि अर्ध वा नव उपनिवेशको अवस्थामा छ । तसर्थ देशलाई पूर्ण र सच्चा स्वाधीन राष्ट्र बनाउनु हामी नेपालीहरूको यतिबेलाको पहिलो र प्रमुख जिम्मेवारी हो ! यस निम्ति हामीले राष्ट्रिय स्वाधीनताको लडाइँ लड्नुपर्ने हुन्छ ! त्यो भनेको हाम्रो प्रधान अन्तर्विरोध वैदेशिक प्रतिकृयावादसँग अर्थात् इन्डो–पश्चिमा साम्राज्यवादसँग रहेको छ भनेको हो । यो भनेको यो वैदेशिक शक्ति अर्थात् इण्डो–पश्चिमा साम्राज्यवादी शक्तिहरू नै नेपाल, नेपाली र नेपाली क्रान्ती, मुक्ति र प्रगतिका मुख्य दुश्मन शक्ति हुन् भनेको हो । यो अवस्थामा प्रथमत: देशको स्वत्व र अस्तित्व रक्षाको लडाइँलाई सबल र सफल पार्न र द्वितीयत: जनवादी र समाजवादी क्रान्तिमा अघि बढ्न आज सम्पूर्ण देशभक्त शक्तिहरू गोलबन्द गर्नु–हुनुपर्दछ र हाम्रो मोर्चाको निसाना वैदेशिक प्रतिक्रियावादी विशेषत: भारतीय विस्तारवाद, अमेरिकी साम्राज्यवादलगायतका नेपालमाथि विविध प्रकारले हस्तक्षेप गरिरहेका साम्राज्यवादी शक्तिहरू र तिनका नेपाली अनुहारका दलाल र दासहरूलाई बनाउनु पर्छ । यसरी मात्र राष्ट्रिय मुक्ति आन्दोलनलाई विजयसम्म पुर्‍याउन सकिन्छ र सक्नु नै पर्दछ । राष्ट्रिय मुक्ति पूर्ण रूपले प्राप्त भैसकेपछि मात्र जनतन्त्र र जनजीविकाका अपूरा मुद्दाहरूलाई पूरा गर्न सङ्घर्ष गरेर नयाँ जनवादी क्रान्तिका दुई मुख्य कार्यभार वर्गीय मुक्ति र राष्ट्रिय मुक्तिलाई पूर्णता दिई समाजवादको दिशामा अघि बढ्नु पर्दछ ।

हार्दिक शुभकामना !

साँच्चै भन्ने हो भने आज नेपालमा वर्गीय मुक्तिको दिशामा केही प्रगति र उपलब्धिहरू भएपनि राष्ट्रिय स्वाधीनता र मुक्तिको दिशामा केही प्रगति र उपलब्धि भएको छैन, बरू उल्टै राष्ट्र नै समाप्त हुने गम्भीर खतरा छ । पछिल्लो चरणमा एमसीसी मार्फत् भारत र अमेरिकाको संयुक्त पहलमा पश्चिमा साम्राज्यवादीलगायतका साम्राज्यवादी शक्तिराष्ट्रहरूले नेपालमा गर्न थालेको सुनियोजित हस्तक्षेप, हैकम र हालीमुहालीले नेपालको अस्तित्व पूर्ण र सर्वाधिक रूपले खतरामा परेको छ । साथै चीन, उत्तर कोरियालगायतका साम्राज्यवाद विरोधी देशहरूको समेत् हैसियत र अस्तित्व खतरामा परेको छ । यति मात्र होइन, यसले गर्दा क्षेत्रीय शान्ति र अन्तत: विश्व शान्तिलाई समेत् खतरामा परेको छ । त्यसैले नेपालभित्रका सच्चा देशभक्त र क्रान्ति–शान्तिका पक्षपातीहरूको मात्र होइन, देश बाहिरका साम्राज्यवाद र त्यस्को युद्धका विरोधी सम्पूर्ण शक्ति, राष्ट्र र जनसमुदायहरूको समेत् राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा बृहद संयुक्त मोर्चा निर्माण गरी राष्ट्रिय स्वाधीनताको लडाइँ लडेर राष्ट्रिय मुक्ति आन्दोलनलाई विजयी बनाई स्वाधीनता, शान्ति, समृद्धि र समानताको दिशामा अघि बढ्नु पर्दछ । वास्तवमा नयाँ जनवादी क्रान्तिका दुई कार्यभारहरू मध्ये अहिले नेपालमा राष्ट्रिय स्वाधीनताको प्राप्तिको लडाइँलाई सबल र सफल पार्न हामीले प्राथमिकता र प्रधानता दिनु जरुरी छ भने तत्पश्चात् वर्गीय मुक्ति प्राप्तिको लडाइँलाई सबल र सफल पार्नु पर्दछ । यो नै अत्यावश्यक र सम्भव अनि नेपाली वस्तुगत आधार र मौलिकतामा आधारित सही, बैज्ञानिक, सिर्जनशील र क्रान्तिकारी तरिका हो । यसो नगरेर एकै पटक नयाँ जनवादी क्रान्तिका दुवै कार्यभार पूरा गर्ने भन्ने सोंच र तरिका यान्त्रिक, अवस्तुवादी र असम्भव सोंच र तरिका हो । यसैगरी नयाँ जनवादी क्रान्तिका बाँकी कार्यभार पूरा गर्दै समाजवादमा जाने वा अहिले नै समाजवादी क्रान्ति गर्ने कुरा पनि त्यत्तिकै अवस्तुवादी, अबैज्ञानिक, असम्भव र मनोगत आत्मरती भन्दा अरू बढी केही हुने देखिन्न । तसर्थ राष्ट्रिय मुक्ति आन्दोलनको यो कार्यदिशाले मात्र अहिलेको विश्वको प्रधान अन्तर्विरोधसँग पूर्ण सङ्गती राख्दछ । यसरी मात्रै राष्ट्रिय क्रान्ति हुँदै अन्तर्राष्ट्रिय क्रान्तितर्फ अघि बढ्न अर्थात् विश्वभरका उत्पीडित राष्ट्रहरू मिलेर विश्व साम्राज्यवादका विरुद्ध लडेर विजय र मुक्ति पाउन सकिन्छ भन्ने लाग्दछ । यस दिशातिर स्वतन्त्र, गम्भीर र जिम्मेवार भएर सोंच्न, विचार गर्न अनि आआफ्ना पार्टी र समूहभित्र आवश्यक छलफल चलाउन र यसप्रकारको सही नीति, निर्णय र कार्यदिशामा अघि बढ्न सम्पूर्ण अग्रज–दिग्गज, ठुला–बडा र सच्चा–पक्का देशभक्त–क्रान्तिकारी शक्ति–व्यक्ति र नेतृत्व–व्यक्तित्वहरू लगायत सबै बुद्धिजीवी–विश्लेषक र क्रान्तिका किल्ला र इतिहासका निर्माता सचेत जनसमुदायहरूलाई समेत् विनम्र अनुरोध गर्नु वान्छनीय भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर