नौलो ठाउँको यात्रामा डुल्दा मेरो प्राथमिकतामा चारवटा विषय पर्छन् । भूगोल, प्रकृति, उत्पादन र संस्कृति । बाँके जिल्ला समथर भूगोल र घना जङ्गल भएर पनि उत्पादनको लागि माटोको उर्वरता अलि कमजोर जस्तो देखिन्थ्यो । त्यसो त, भित्री बस्तीसम्म हामी पुग्न पनि सकेका छैनौं । सडक यात्राबाट जे देखियो सोही ठीक भन्नु पनि वैज्ञानिक होइन । बाँके जिल्ला पार गरेपछि बर्दियाको पेटपेटै हामी गुडिरहेछौँ । सडकको दायाँतिर घना जङ्गल छ । बायाँतिर हरियाली फाँटले म मख्ख पर्छु । गुड्दै गुड्दै जाँदा बर्दिया राष्ट्रिय निकुञ्जभित्र हामी छिर्‍यौँ । निकुञ्जभित्र गाडि गुडिरहँदा, मैले केही वर्ष अघिको घटना सम्झिएँ । निगुरो टिप्न जङ्गल पसेका महिलाहरूमाथि निकुञ्जका रक्षकले गोली हानी हत्या गरेका थिए । मन भारी भयो । हाम्रै नेपालका भाइहरूले हाम्रै नेपालका गरिब महिलामाथि यस्तो दुव्र्यवहार किन गर्छन् । जवाफ कसले दिन्छ । मन जति कुँडिए पनि त्यो दु:खद घटना इतिहासको गर्भमा विलिन भइ त गयो ।

कर्णालीको पूल तरेपछि कैलालीको भू–भाग शुरु भयो । कैलाली पस्ने वित्तिकै मलाई डुडेंझाडीको नमिठो याद आयो । त्यो स्थान कहाँ पर्ला ? गाडीको रफ्तारसँगै सोचाई र सम्झनाको तरङ्ग लम्किँदै गयो । लम्की बजारबाट अघि बढेपछि घामले विश्राम लियो । अँध्यारो साम्राज्यमा तेज गतिमा गुडेको बाहन भित्र म मस्त निदाएछु । रातको नौ बजे धनगढी पुगिएछ ।

हार्दिक शुभकामना !

नौलो भूगोलभित्र केही विषय जुन इतिहासमा पुरिएका छन् । तिनको खोजी गर्ने रहरले म बिहानै उठेर धनगढी बजारमा भौतारिएँ । बस्ति बस्तिको रहन सहन भाषा संस्कृति बारे बुझ्ने रहर मनभरी थियो । झण्डै एक घण्टा बिहान एक्लै भौतारिएँ । सानो चिया पसलमा चिया पिएँ । धनगढीबाट प्रकाशन हुने दुईवटा पत्रिका लिएँ र होटलमा फर्किएँ । त्यतिबेलासम्म मोहन कमरेड पनि घुम्न निस्कने तयारीमा हुनु भएछ । एकछिन फेरि भौंतारियौँ । अरू केही पत्रिकाको सङ्कलन गर्‍यौँ । धनगढीबाट निस्कने सबैजसो दैनिक पत्रिकाहरूले काठमाडौं दार्र्चुला अभियानको बारेमा मुख्य खबर बनाएको पाएपछि हामी पनि मख्ख पर्‍यौँ ।

बिहानको दस बजेको कोणसभाका लागि हाम्रो टोलीका साथीहरूको जुलुस निस्कियो । म धनगढी बजारको मुख्य चोकमा उभिएको छु । जिल्ला बन्दका कारण बजारका पसलहरू खुलेका छैनन् । छिटफुट रिक्सा र मोटरसाइकल मात्र चलेका छन् । म लखर लखर बजार डुल्छु । बजार अलि फोहोर देखिन्छ । त्यस्तो त भारतीय सीमा नजिकका बजार उस्तै उस्तै छन् । जनकपुर, कृष्णनगर, नेपालगञ्ज, धनगढी मैले डुलेका नगरहरू उस्तै धुलो, उस्तै फोहोर फ्याँकिएको देखेको छु ।

हाम्रो टोलीले बोकेको तुल पढेपछि दुईजना स्थानीयले आपसमा कुरा गरे र एकले मलाई सोधे “यो प्रचण्डको विद्यार्थी सङ्गठन हो ?” मैले ‘होइन वैद्यको हो’ भनेँ । उनले जसरी सोधे मैले त्यसरी नै जवाफ त दिनै पर्‍यो । तर पार्टीको व्यक्तिको सिङ्गो नाममा झुण्डिएको अन्तर्यले मलाई औधी सास्ती दियो । र अझै पनि दिने गरेको छ । सँगैको अर्को भद्रले टिप्पणी गरे– ‘वो (वैद्य) लोभी पापी ना’जुलुश चौराह चोकमा आइपुगेपछि म पनि मिसिएँ । जुलुसपछि हिड्ने तर्खर गर्नु अघि मैले एकजना पूर्व लडाकु भेटँे हाल सानो व्यवसाय गर्दै रहेछन् । उनको दुखेसो थियो– ‘पार्टी फुट्यो कमजोर भइयो ।’ तर पनि विश्वास मरेको रहेनछ भने– ‘क्रान्तिको झण्डा उठोस् अझै तयार छु ।’

हामीबीच यस्तै वार्ता चल्दै गर्दा एक पुर्व लमजुङ निवासी रेग्मी भेटिए । २०५४–०५५ देखिका पूर्णकालिक कार्यकर्ता र पछिल्लो समयका के.स.को जिम्मेवारी पाएका नेता रहेछन् । गएको चुनावमा ए.ने.क.पा. (माओवादी) बाट सभाषद्को उम्मेदवारसम्म बनेका उनी पराजयको पीडा पोख्दै थिए । “यसरी लिपुमा पुगेर त्यो फिर्ता हुँदैन बेकारको प्रचार मात्र ।”

छ्या, कस्तो दरिद्र छन् क्या नेताजीहरू पनि । मलाई थोरै घृणा जाग्यो । कैलालीको आकाशमा घाम चर्कँदै गर्दा हाम्रो यात्राका बसहरूले आवाज दिए । हामी आ–आफ्नो कुम्लो बोकेर विदाइका हात हल्लाउँदै बसभित्र छिर्यौं । बसहरू उत्तरतर्फ लागे । गोदाबरी खोलाको साँघु तरेपछि हाम्रो बाहन उकालो लाग्यो । महाभारत पर्वतको काखभरि बटारिएको कालोपत्रे बाटो, दायाँ बायाँ उभिएका घना वृक्षहरू एकपछि अर्को बिरानो हुँदै गए । अघि भर्खरको अत्तिरियाको हप्हपी गर्मी माथि चढ्दै गर्दा कता पो बिलायो ।

बसको झ्याल बाहिर देखिने हरियालीको सौन्दर्य आँखा झिम्कन नपाउँदै भागिहाल्छ । देखिएका सबै दृश्यहरूलाई गिदीको क्यामराले कैद गर्न सके पो । रसिलो, घँसिलो बाटोमा बसले तानिरहँदा मोहन कमरेड र म हाम्रै आन्तरिक छलफलमा छौँ । मुलुकको भौगोलिक विविधता र यिनमा आश्रृत जनताको जीवन जिउने आधार भूगोलानुकुल पनि छ । सडक छेउमा दगुरिरहेका बाख्राहरूको बथान छिटफुट बस्ती छल्दै दगुर्दै गरेका बस कुदेको कालोपत्रेको तलमाथि देखिएको मटिलो पाटो चिस्यान र खोला खोल्सीमा अलैंची, अम्रिसो वा इस्कुसको व्यवसायिक खेति गर्न सकिने थियो । तर मुल्य छ धान छैन जस्तै लाग्छ । उत्पादन र वितरण प्रणालीको चेत भएकाहरू सत्तामा भएको भए पो ! बाटो जति माथि उक्लियो चिसो हावा उति बढ्दै गयो । माथि घना जङ्गलको उचाइँमा पुग्दा हाम्रो सवारीको साधन कुहिरोभित्रको अँध्यारोमा पो छिर्‍यो । लौ, खा दिउँसै बत्ती बाल्नु पर्ने ।

कैलालीको सबैभन्दा अग्लो टाकुरा चढेर हाम्रो बस ओह«ालो लाग्यो । सडकको दायाँ साइडमा गाडिएको सूचना पाटीमा लेखिएको छ – ‘बाटो चिप्लो छ ।’ मुटु ढक्क फुल्यो । यो जाबो फुच्चे ज्यानको कति माया ?

पहाडको उचाई झण्डै १६०० मिटर होला म अनुमान गर्छु ।

सल्लाघारीको पेटपेटै बस ओरालो लागिरहेछ । अग्ला सल्लाका रुखको फेदमा घाउ पारेर खोटो झिकिएका दृश्यहरू प्रशस्त देखिन्थे । पोथ्रा सल्लाको फेदमा कोपिएको घाउ र सो पोथ्राको भाव देख्दा एउटी अवोध किशोरी वलिष्ठ पुरुषको बलात्कारपछिको जीवन जस्तै निस्सार लाग्छ । मन चसक्कै दुख्छ । प्रकृतिको सिर्जनामाथि यस्तो बलात्कार किन ? हो मान्छे सर्वशक्तिमान छ र स्वार्थी छ । यदि यी पोथ्राहरूलाई अझ हुर्कने अवसर दिए हामीले प्राप्त गर्ने खोटो अझै बढी निसेचन गर्ने थिए, तर यो तातै खाउँ जल्दी मरुँ किन ?

गुड्दै गरेको बाहनको गति धिमा भयो । एउटा सानो बजारको बीच पुगिएछ । बसको झ्यालबाट एउटा पसलको ढोकामाथि लेखिएको पाटीमा आँखा पुगे– ‘शिखरपुर मरहट्टी’ अहा ! म मरहट्टा यो बजार मरहट्टी’ कतै इतिहास जोडिएको पो छ कि ? हाम्रा पुर्खाहरू भारतबाट नेपाल आएका हुन् । कुनै मरहट्टाको अवशेष पो पाइन्थ्यो कि तर न म ओर्लेर जान्न सकेँ न इतिहास थाहा छ । मन खिन्न भयो । बस दगुरिरह्यो । मलाई मरहट्टीको इतिहास बुझ्ने रहर थियो तर पुरा भएन ।

अब हामी कैलाली छोडेर डोटी प्रवेश गर्‍यौँ । बस चालकको इच्छामा कतै कतै बस रोकिन्छ । यसो बुटोको छेक पारेर शौच गर्छौँ, फेरि चुपचाप बसभित्र कोचिन्छौँ । दिनको साढे चार बजे हामी डडेलधुरा पुग्छौँ । झण्डै १८०० मिटरको उचाईको यो सानो बजारको साँधुरो बस बिसौनिमा बस रोकिन्छ । पछिल्ला बसहरू न आइपुग्दासम्म हामी बजारमा पोखिन्छौँ । यात्रा सामुहिक भएपनि रुचि आ–आफ्नै हुन्छन् । आवश्यकता आ–आफ्नै हुन्छन् । मलाई एउटा कलमको हर्ज थियो । अलि माथिको पुस्तक पसलमा पसेँ । पसलकी साहुनी फर्‍याक फुरुक गर्दै थिइन् । ‘साहुनी एउटा कलम दिनोस्न’ मैले माग गरेँ । “दिन्या त दिन्याउँ कत्ना दामको दिन्याउँ” उनको भाषालाई मेरो कानले अनौठो मान्यो । खल्तिबाट रु.१५।– निकालेँ र एउटा जेलपेन लिएँ । र चुरोट तान्दै एक प्रहरीको छेउ पुगेँ ।

यसअघि म प्रहरीसँग केही जानकारी लिँदै थिएँ । अर्को प्रहरी भाइले मलाई सम्झाए– ‘बा, चुरोट फाल्नुस् । यहाँ चुरोट पिउन पाइँदैन ।’ म पानी पानी भएँ । मैले चुरोट भुइँमा फालेँ र कान समातेर माफी मागेँ । ती प्रहरी भाइले भने– ‘तपाईँ नयाँ मान्छे भएर छुट पाउनु भयो नत्र रु.१००।– जरिवाना तिर्नु पथ्र्यो ।’

आफ्नो गल्तीले मलाई लखेट्यो । सँगैका भाइहरू चिया पिउन बसे तर म हीनताबोधले कुचुक्क भएँ । मैले उतिखेरै देखेँ त्यही बसपार्कमा एकजना अचिनारु शीसाको बोतलको मदिरा पिउँदै थिए । चुरोट प्रतिबन्ध, मदिरा खुल्ला मलाई अनौठो लाग्यो । मैले प्रहरी भाइसँग यो बिषय उठाएँ उनले भने हामीलाई चुरोट रोक्ने आदेश छ । समाजको चरित्र देख्दा लज्जाबोध भयो ।

पछिल्ला बसहरू आइपुगे । छोटो कोणसभा सुरु भयो । एउटा कविता वाचनका लागि फेरि मेरो नाम आयो । ‘अगस्ति दक्षिण तिर बस्छ’ मैले त्यही कविता बाचन गरेँ । चुरोटको पीडाले थिल्थिएको मनलाई श्रोताहरूको तालीले थोरै राहत दिलायो ।

साँझको छ बज्नै लाग्दा हाम्रो बस गुड्यो । कसैले भन्यो– ‘हामी बैतडीको पाटनमा बास बस्छौँ ।’ त्यो कति टाढा छ कोसँग सोध्नु । डडेलधुरा बजार छिचोलेर बस जङ्गलभित्र पस्यो । उच्च पहाडी भूगोलमा पाइने कोणधारी वनस्पतीको फेदफेदै गुडिरहँदा मैले गोरखाको सिराञ्चोकको जङ्गल सझिएँ । काफल, एैशेलु, घघौरा, फलामेका वन बुट्यान र चट्टाने माटोले ठ्याक्कै सिरानचोक सम्झाउँछ । खोड्पेबाट अघि बढेपछि अँध्यारो बाक्लियो । भोकले आन्द्रा छुती खेल्न थाल्यो । बाटोमा खाजाको जोहो पनि गरिएन मोहनहरिको गुनासो रह्यो । मसँग अलिकति दालमोठ थियो । अस्ति बिहान कान्छी छोरीले झोलामा खाँदेकी थिई । त्यहीं बाँडी चुँडी चपाइयो ।

रातको बाह« बजे अचानक बस रोकियो । खहरेले बगाएको ढुङ्गा र गेग्रेनले बस गुड्न हम्मेहम्मे छ । झम्झम् पानी पर्दै थियो । दर्कंदो पानीमा छाता खोलेर म पनि तल झरेँ । त्यो अन्धमुष्ठि अँध्यारोमा मैले के पो गर्न सक्थेँ र । भल अगाडिको बसका युवा भाइहरूले ढुङ्गा पन्छाए । बसलाई जोडले धकेले । बुरुक्क उफ्रँदै त्यो बस खहरे तरेर पारिपट्टि उत्रियो । ला, ‘ला हाम्रा टि.भि. प्रतिनिधिको क्यामेरा भलमा मिसिएछ ।’ फेरि अर्को लेठो थपियो । अघिल्लो बस घुचट्ने र पछिल्ला बसको बाटो बनाउँदासम्म मैले धीत मर्ने गरी चुरोट चुसी बसभित्र छिरेँ । बलिया बाङ्गाहरू भल तर्काउने र बस घचेट्न भुइँमा झरे । म भने मुटु झिकेर ड्राइभरलाई दिने भन्दै बसभित्र कोचिए ।

डरलाग्दो खहरे पार गरेपछि तीनवटै बस लहरै उभिए । म लुगलुग काँपेको खुट्टा टेक्दै सिटमा कुचुक्क परेँ । हो त्यो बेला भने म बेस्सरी डराएँ । यो जाबो ज्यानको कति माया लाग्यो हँ । पाँच मिनेट गुडेपछि चमेलियाको पुल आयो । पारि पुगेपछि थाहा भयो आजको बास यहीँ रहेछ । तल झर्‍यौँ को कता को कता । दर्कंदो पानी मलाई कसैले तानेर एउटा छाप्रोभित्र हुले । चामल हो या खुर्सानीको वियाँ मात्र चारगास जुठो मुख गरेर बाहिर आएँ र उही सिटमा कुचुक्क भएँ । रातको बाह्र बजेछ । भिजेका जुत्ता खोलेर त्यही सिटमा झोक्राउन थालेँ ।

‘मोदनाथ सर सुत्न जाने होइन ?’– मोहनहरिले प्रश्न गरे । ‘खै भएको घर छाडेर कस्कोमा जानु र ?’ यसो भन्दै ढल्किन थालेँ ।‘आउनुस् सर आउनुस्’ लेखनाथको आग्रहपछि म जुत्ता भिरेर तल ओर्लिएँ । चमेलियाको किनारतिर कताकता लगे । आखिर एउटा भवनको शान्त कोठामा लगे । एउटा सिङ्गो खाटमा पुक्लुक्क ढलेँ । फुस्सै निदाएछु । बिहानै उठेपछि थाहा भयो बल्ल दार्चुलामा टेकिएछ ।

प्रतिक्रिया

सम्बन्धित खवर