काठमाडौं । क्रान्तिकारी पत्रकार महासंघको केन्द्रीय समितिको बैठक २०७८ मंसिर १०–११ मा काठमाडौंको घट्टेकुलोस्थित इच्छुक साँस्कृतिक प्रतिष्ठानमा सम्पन्न भएको छ । महासंघका अध्यक्ष इन्द्र राउतको अध्यक्षता र संगठनका सल्लाहकार समितिका संयोजक हिरामणि दुःखीको विशेष उपस्थितिमा सम्पन्न बैठकले लिएका महत्वपूर्ण निर्णयहरु प्रेस वक्तव्यमार्फत् सार्वजनिक गरिएको छ । महासंघका अध्यक्ष इन्द्र राउतले आइतबार जारी गरेको प्रेस वक्तव्यमा विभिन्न ८ बुँदामा बैठकले लिएका निर्णयहरु सार्वजनिक गरिएको छ ।

सम्पन्न बैठकले पौष ४ गते लुम्बिनी प्रदेशको नवलपरासीमा राष्ट्रिय भेला गर्ने निर्णय गरेको छ ।

हार्दिक शुभकामना !

बैठकले निर्णयहरु यसप्रकार रहेका छन्, “१– बैठकको आरम्भमा जनमुक्ति तथा राष्ट्रिय मुक्ति संघर्षमा आफ्नो अमूल्य जीवनको बलिदान गर्नुहुने सहिद कृष्ण सेन इच्छुक लगायत सम्पूर्ण ज्ञात अज्ञात सहिदहरुप्रति मुठ्ठि उठाएर १ मिनेट मौनधारणसहित श्रद्धाञ्जली अर्पण गरियो ।


२– बैठकमा पदाधिकारी, प्रदेश संयोजक तथा केन्द्रीय सदस्यहरुबाट संक्षिप्त समीक्षात्मक रिपोर्ट प्रस्तुत भयो । भारतको विस्तारवादी नीति र अमेरिकाको साम्राज्यवादी नीतिसहितको बढ्दो उपस्थिति र हस्तक्षेपले नेपाली स्वाधीनता, सार्वभौमिकता जोखिममा पर्दै गएको ठहर गर्दै राष्ट्रिय स्वाधीनताको आन्दोलनमा नेपाली पत्रकारिताको दायित्व र संगठनको नेतृत्वदायी भूमिकालाई जोड्ने, संगठनलाई चुस्त र गतिशील रुपमा अगाडि बढाउन सबैले आ–आफ्नो ठाउँबाट गहिरो जिम्मेवारीबोधसहित चौतर्फी भूमिका बढाउनुपर्ने निष्कर्ष निकालियो ।

३– बैठकले संगठनको राष्ट्रिय भेला पौष ४ गते लुम्बिनी प्रदेशको नवलपरासीमा गर्ने निर्णय गरेको छ । भेलालाई लक्षित गरी सम्भव भएसम्म प्रदेश र जिल्लाको भेला गर्ने र प्रतिनिधि चयनलाई तीव्रता दिने निर्णय गरेको छ । भेलाको व्यवस्थापनसँग सम्बन्धी आवश्यक निर्णयहरु पनि गरिएका छन् ।


४– बैठकले नेपालका सञ्चारमाध्यममा बढ्दो वैदेशिक लगानीको घोर विरोध गरेको छ । नेपालको कानुनले समेत प्रतिबन्ध लगाएको सञ्चारमाध्यममा विदेशी लगानी बढ्नु र योगगुरु रामदेव यादवले सञ्चालनमा ल्याउन लागेका ‘आस्था नेपाल’ र ‘पतञ्जली नेपाल’ नामका टेलिभिजन स्वयम् प्रधानमन्त्रीबाट उद्घाटन गरिनु आपत्तिजनक र निन्दनीय भएको ठहर गर्दै बैठकले नेपालमा विदेशी लगानीका सञ्चारमाध्यममाथि प्रतिबन्ध लगाउन पनि सरकारसँग जोडदार माग गरेको छ । साथै, आम सञ्चारको क्षेत्रमा बढ्दो अपारदर्शी लगानीको समेत छानबिन गर्न सम्बन्धित निकायसँग जोडदार आग्रह गरेको छ ।

५– मिडियामा बढ्दो बैदेशिक र अपारदर्शी लगानीले नेपालको स्वाधीनता र सार्वभौमिकतामाथि नै खतरा उत्पन्न गर्ने ठहर गर्दै बैठकले यसको विरोधमा सशक्त आवाज उठाउने निर्णय गरेको छ ।

६– बैठकले संघीय र प्रदेश सरकारले ल्याएका प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधी कानुनहरुको खारेजीको माग गरेको छ । साथै, श्रमजीवी पत्रकार ऐनको पूर्ण रुपमा कार्यान्वयनका लागि राज्य, सम्बन्धित निकाय र पक्षसँग पनि पुनः जोडदार माग गरेको छ ।

७– बैठकले वर्गीकरणमा परेको बर्षदेखि नै पत्रपत्रिकालाई सेवा सुविधा प्रदान गर्न र पूर्ण समानुपातिक रुपमा लोककल्याणकारी विज्ञापन उपलब्ध गराउन प्रेस काउन्सील नेपाल र विज्ञापन बोर्डलाई जोडदार आग्रह गरेको छ ।

८. बैठकको अन्तमा संगठनले लिएका संगठन र संघर्ष सम्बन्धी निर्णयहरु कार्यान्वयनका लागि अध्यक्षसहित पदाधिकारी र केन्द्रीय सदस्यहरुबाट प्रतिबद्धतासहित बैठकको समापन गरियो ।”

प्रतिक्रिया

सम्बन्धित खवर