काठमाडौं । क्रान्तिकारी पत्रकार महासंघले आइतबार विहान ९ बजेदेखि १० बजेसम्म एक घण्टा माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ । महासंघको शनिबार सम्पन्न केन्द्रीय समितिको बैठकले नेपाली मिडियामा प्रत्यक्ष र परोक्ष रुपमा बढिरहेको विदेशी लगानीको विरोधमा आइतबार विरोध प्रदर्शन गर्ने निर्णय गरेको थियो ।


‘सञ्चारमाध्यममा वैदेशिक लगानी र सञ्चालन अनुमति बन्द गर’ लेखिएको कालो ब्यानर र विभिन्न नाराहरु लेखिएका प्ले कार्डसहित विरोध प्रदर्शन गरेको हो ।

हार्दिक शुभकामना !

विरोध प्रदर्शनमा महासंघका पदाधिकारी, केन्द्रीय सदस्य र सल्लाहकारहरुको सहभागिता रहेको थियो ।


विरोध प्रदर्शनलाई सम्बोधन गर्दै क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष इन्द्र राउतले नेपालका सञ्चारमाध्यममा बढ्दो वैदेशिक लगानीले नेपालको स्वाधीनता र सार्वभौमिकतामा गम्भिर संकट उत्पन्न हुन सक्ने स्थिति बन्दै गएको बताउनु भयो । नेपालको कानुनको समेत धज्जी उडाउँदै भारतीय योग गुरु रामदेव यादवको लगानीमा ‘आस्था नेपाल’ र ‘पतञ्जली नेपाल’ नामका दुईवटा टेलिभिजन प्रधानमन्त्रीले नै उद्घाटन गर्नु गम्भिर आपत्तिको विषय भएको पनि अध्यक्ष राउतले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपालको स्वाधीनतामाथि विदेशी हस्तक्षेप बढेर गइरहेको अवस्थामा यसरी कानुनको समेत धज्जी उडाउँदै विदेशी लगानीका टेलिभिजन त्यो पनि प्रधानमन्त्री स्वयम्ले उद्घाटन गर्नु भनेको घोर आपत्तिको विषय हो ।’


उहाँले संसदवादी राजनीतिक पार्टी र नेताहरुको दलालीकरणसँग मिडिया र पत्रकारहरुको समेत दलालीकरण बढेको भन्दै नेपाली स्वाधीनताको लागि यो गम्भिर चुनौतीको रुपमा देखिएको पनि बताउनु भयो ।

राष्ट्रिय स्वाधीनताका पक्षधर आम श्रमजीवी पत्रकारहरु एकढिक्का भएर मिडियामा वैदेशिक लगानीको विरोध गर्नुपर्नेमा पनि अध्यक्ष राउतले जोड दिनुभयो ।


क्रान्तिकारी पत्रकार महासंघको सम्पन्न बैठकले पौष ४ गते राष्ट्रिय भेलाको आयोजना गर्ने समेत निर्णय गरेको छ । बैठकले लिएका निर्णयहरु आजै वक्तव्यमार्फत् सार्वजनिक गरिने पनि अध्यक्ष राउतले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर