काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य समेत रहेका देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका महासचिव परि थापाले प्रधानमन्त्री शेरबहादुर देउवा, निवर्तमान प्रम केपी ओली र पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादका होनाहार दलाल भएको आरोप लगाउनु भएको छ । सोमबार रत्नपार्क शान्तिबाटिकामा आयोजित विरोधसभालाई सम्बोधन गर्दै नेता थापाले यस्तो आरोप लगाउनु भएको हो ।

एमसीसी जस्तो राष्ट्रघाती परियोजना सम्झौता यहाँका शासकहरुले गैरकानुनी रुपमा गरेको र सदनबाट पास गर्ने भनेर अमेरिकाले नभनेर यहीँका दलाल नेताहरुले भनेको पनि दाबी गर्नुभयो ।

अमेरिकाले यो आइपिएसको अंग हो, यो अनुदान होइन लगानी हो भनेर बारम्बार भनिरहँदा यहाँका शासकहरु भने एकहोरो अनुदान हो भनेर जनतालाई झुक्याइरहेको पनि बताउनु भयो ।

नेता थापाले एउटा स्वतन्त्र र सार्वभौम राष्ट्रको हैसियतमा प्रोटेकलको समेत ख्याल नगरी सम्झौता गरेको र अहिले आएर पनि एउटा परियोजनाका हाकिम र जुनियर स्टेट सेक्रेटरीहरुलाई समेत प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरुले सहजै पहुँच दिएको, महत्व दिएर भेटेको राष्ट्रघाती भनेर जान्दाजान्दै सदनमा पेश गर्छौं भनेर लिखितै रुपमा प्रतिबद्धता जनाइसकेको समेत बताउनु भयो ।

आफ्ना प्रभूहरुलाई खुशी पार्न दलालहरुले एमसीसी पास गर्ने अन्तिम तयारी गरिरहेको भन्दै देशभक्त र क्रान्तिकारी शक्तिहरुले यसको व्यापक विरोध एवम् भण्डाफोर गरेर यिनीहरुलाई नांगेझार पार्नुपर्ने पनि बताउनु भयो ।

उहाँले एमसीसी खारेज गर्ने विषय र कालापानीबाट भारतीय सेना हटाएर लिम्पियाधुरा–लिपुलेक–कालापानी क्षेत्र नेपालको हो र नेपालकै कायम गराइनु पर्छ भन्ने विषयलाई क्रान्तिकारी माओवादीको पहल र नेकपा (मसाल)को समर्थनमा अन्तर्राष्ट्रिकरण समेत गरिएको खुलासा गर्नुहुँदै हालै साम्राज्यवादविरोधी ६२ वटा देशका पार्टीहरु सम्मिलित सम्मेलनले उल्लेखित विषयलाई साझा मागको रुपमा अगाडि बढाउने गरी पारित गरेको जानकारी गराउँदै यो स्वाभिमानी नेपालीहरुका लागि खुशीको विषय भएको पनि बताउनु भयो ।

उहाँले यो सत्ता र व्यवस्था रहेसम्म देशमा जनघात र राष्ट्रघातका अनेकौं प्रकरणहरु चलिरहने विश्लेषण गर्दै अब जनताले दलाल संसदवादी पार्टी र तिनका नेताहरुलाई भोट दिन नहुने र त्यस्ता नेता र पार्टीहरुलाई जिताएर पठाए देशमा ठूलो विडम्बना हुने र त्यसका लागि जनता पनि जिम्मेवार हुने तर्फ पनि सचेत गराउनु भयो ।

एमसीसीको खारेजी, कालापानी क्षेत्रको जनगणना र मूल्यवृद्धिको विषयलाई लिएर नेकपा (क्रान्तिकारी माओवादी) र देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले विरोधसभाको आयोजना गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार