काठमाडौं । रत्नपार्क शान्तिबाटिकामा आयोजित एक विरोधसभालाई सम्बोधन गर्दै नेकपा (क्रान्तिकारी माओवादी)का नेता दिनेश शर्मा ‘सागर’ले एमसीसी जस्तो राष्ट्रघाती सम्झौता सदनबाट पास गरिए नेपाली स्वाभिमानी जनता सशस्त्र विद्रोहमा उत्रने चेतावनी दिनुभएको छ । ५५ अर्ब पैसाको लोभमा परेर विस्तारवाद र साम्राज्यवादका दलालहरुले देशलाई युद्धस्थलमा परिणत गरे स्वाभिमानी जनता चुप लागेर नबस्ने उनीहरु विद्रोहमा उत्रने ठोकुवा गर्नुभएको हो ।

उहाँले भन्नुभयो, ‘२१ औं शताब्दीका नेपाली जनताले भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादको हैकम र प्रभुत्व सहँदैनन्, आफूसँग जे छ त्यही बोकेर विदेशी हस्तक्षेपका विरुद्ध लड्न तयार छन् । नेपालीहरु २१ औं शताब्दीका तालिवानी र भियतनामी जनता भएर लड्न तयार छन् तर विदेशी हस्तक्षेपका सामु कहिल्यै झुक्ने छैनन् ।”

देशभक्त र कम्युनिस्ट क्रान्तिकारीहरुको निरन्तर सडक संघर्षको दबाबमा तत्कालीन सरकारले लिम्पियाधुरासहितको चुच्चे नक्सा जारी गरेपनि भारतीय नियन्त्रणमा रहेको उक्त भूमि फिर्ताको कुनै पहल नगरेको र संसदवादी व्यवस्था रहेसम्म त्यसको सम्भावना पनि आफूले नदेखेको बताउनु भयो । ‘हेलिकप्टर चढेर आफ्नो निर्वाचन क्षेत्र जान सक्ने शासकहरु, जनगणनाका लागि छाङरु, टिंकर, नाभि, गुञ्जी, कुटीमा किन पुग्न सक्दैनन् ?’ प्रश्न गर्नुभयो र भन्नुभयो, ‘यिनीहरुलाई आफ्नो कुर्सीको मात्र माया छ, देश र जनताको माया छैन । त्यसकारण यिनीहरु दलाल हुन् ।’ उहाँले जनतातर्फ प्रश्न तेस्र्याउँदै भन्नुभयो, ‘खबरदार, अब सचेत बन्नुहोस् । तपाईहरुको एक भोट दलाल नेताहरुलाई देश बेच्ने लाइसेन्स नबनोस् ।’

विरोधसभाको आयोजना नेकपा (क्रान्तिकारी माओवादी) र देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले संयुक्त रुपमा आयोजना गरेको थियो । नेता शर्माले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि अविलम्ब फिर्ता नगरिए राज्यले त्यसको ठूलो मूल्य चुकाउने समेत चेतावनी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार