काठमाडौं । राष्ट्रिय जनगणनाका लागि दार्चुलाको छाङ्रु र टिंकरमा समेत जान भारतीय प्रशासनले अवरोध गरेको छ । दार्चुला जिल्लाका दुई गाउँ छाङरु र टिंकरमा जनगणनामा जानका लागि तीन पटकसम्म पत्राचार गर्दा पनि कुनै जवाफ नदिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । व्यास गाउँपालिका–१ का छाङरु र नेपाल–चीन सीमावर्ती गाउँ टिंकरमा जनगणनाका लागि केन्द्रीय तथ्यांक विभागबाट खटिएका कर्मचारी भारतीय बाटो हुँदै जान नपाएपछि दार्चुला सदरमुकाम खलंगामा रोकिन पुगेका छन् ।


कात्तिक २५ मै जिल्ला प्रशासन कार्यालय दार्चुलाले सहायक जिल्ला जनगणना अधिकारी खगेन्द्र कार्की र गणक राजेन्द्र कार्कीलाई भारतीय भूमि धार्चुलाबाट छियालेक–गर्ब्याङ हुँदै महाकाली नदीको पुल (सीता पुल) तरेर छाङरु जाने गरी पासको व्यवस्था मिलाउन भारतीय प्रशासनलाई पत्राचार गरेको थियो । तर, एक सातासम्म पनि भारतीय प्रशासनले अनुमति दिएन ।

दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्स्ना भट्ट जोशीले पहिलोपटक कात्तिक २५ मा भारतीय बाटो हुँदै छाङरु जान पासको व्यवस्थाका लागि पत्राचार गरिएपनि जवाफ नआएको पुष्टि गरिन् ।

पहिलो पत्रको जवाफ नआएपछि मंगलबार र बुधबार पुनः दुई पत्र पठाइएको र त्यसको पनि जवाफ नआएपछि गणकहरु रोकिएका हुन् ।

भारतीय बाटो हुँदै छाङरु जान नदिएकोबारे दार्चुला प्रशासनले गृह मन्त्रालयलाई समेत मौखिक जानकारी गराइसकेको छ । जनगणनामा खटिएका अधिकारीहरूले तथ्यांक विभागलाई पनि यसको जानकारी गराएका छन् । सीमा सुरक्षार्थ तैनाथ सशस्त्र प्रहरी बलले समेत भारतीयबाट भएको अवरोधबारे हेडक्वार्टरलाई जानकारी गराइसकेको छ । तर सरकार र सम्बन्धित निकायबाट कुटनीतिक पहल गरी उक्त क्षेत्रमा जनगणनाका लागि भारतीय अवरोध हटाउने विषयमा भने कुनै प्रयास नभएको पनि स्रोतको दाबी छ ।

यसअघिको तथ्यांकअनुसार टिंकरमा करिब ७५ र छाङरुमा करिब १ सय २५ घरधुरी थिए ।

भारतीय अतिक्रमणमा परेको नेपाली भूमि कालापानी क्षेत्रका तीन बस्ती गुन्जी, नावी र कुटीमा त भारतीय सेनाको नियन्त्रण रहेको भन्दै तथ्यांक विभागले जनगणना गर्न नसकिने बताइसकेको छ । देउवा सरकारले कुटनीतिक तथा राजनीतिक पहल केही नगरेपछि तथ्यांक विभागले मात्रै उक्त क्षेत्रको जनगणना गर्ने आँट गरेको छैन । नेपालकै प्रशासनिक नियन्त्रणमा रहेको क्षेत्रमा समेत जनगणना गर्न भारतले रोक लगाएपछि भारतीय ज्यादतिको अहिले चौतर्फी रुपमा विरोध भइरहेको छ ।

भारतीय अतिक्रमणमा परेका तीन वटा गाउँको अनुमानित जनसंख्या ८ सयदेखि १ हजारको बीचमा रहेको बताइन्छ । तीन वटै गाउँ व्यास–१ अन्तर्गत पर्छन् ।

भारतको बाटो हुँदै छाङरु पुग्न करिब ८५ देखि ९० किलोमिटर दूरीमा चार ठाउँमा भारतीय सुरक्षा फौजको चेकप्वाइन्ट पार गर्नुपर्छ । धार्चुलामा भारतीय सशस्त्र सीमा बल (एसएसबी) को फौजले परिचयपत्र हेरेर प्रवेश दिने गर्छ । त्यसपछि भारतीय भूमि छियालेकमा एसएसबीक
ै फौजले नेपालीलाई खानतलासी गरेर मात्रै प्रवेश दिने गरेको छ ।

छियालेकबाट अघि बढेपछि गर्ब्याङ भन्ने ठाउँ आउँछ । त्यहाँ एसएसबीका अलावा भारत–चीन सीमा सुरक्षार्थ तैनाथ ‘इन्डो–टिबेट बोर्डर पुलिस’ (आईटीबीपी) को फौजको क्याम्प छ । त्यहाँ पनि उसले खानतलासी गरेर प्रवेश दिन्छ । त्यहाँबाट अघि बढ्दै नेपाल–भारत सीमा क्षेत्र सीता पुल पुगिन्छ ।

महाकालीको सीता पुल तरेपछि छाङरु पुगिन्छ । सीता पुलबाट कालापानीतर्फ जान भारतीय सुरक्षा फौजले दिँदैन । भारतीय नागरिकलाई पनि निगरानीमा राखेर मात्रै अघि बढ्न दिन्छ । २०७७ वैशाखबाट छाङरुमा सरकारले सीमा सुरक्षार्थ सशस्त्र प्रहरीको फौज तैनाथ गरेको छ । त्यहाँ सशस्त्र प्रहरी बस्न थालेपछि भारतीयले उसको बाटो भएर ओहोरदोहोर गर्न कडाइ गर्न थालेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर