काठमाडौं । नेकपा (क्रान्तिकारी माअोवादी) सम्बद्ध जनवर्गीय संगठन तथा जातीय मोर्चाहरुको संयुक्त आयोजनामा विरोध प्रदर्शन गरिएको छ । पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि अविलम्ब खारेज गर्न माग गर्दै विरोध प्रदर्शन गरिएको हो ।

नेपाल आयल निगमको कार्यालयको गेट टेकुमा गरिएको विरोध प्रदर्शनमा ‘एमसीसी धोका हो, नालायक सरकार राजिनामा दे, मूल्यवृद्धि खारेज गर, कालोबजारीलाई कारबाही गर, मूल्यवृद्धि नियन्त्रण गर, भारतीय विस्तारवाद मूर्दावाद, अमेरिकी साम्राज्यवाद मूर्दावाद’ जस्ता नाराहरु लगाइएको थियो ।

प्रदर्शनको क्रममा जनवर्गीय संगठन तथा जातीय मोर्चाहरुको तर्फबाट अनेमसंघ (क्रान्तिकारी)की महासचिव शारदा महत र अखिल (क्रान्तिकारी)का अध्यक्ष हरिकृष्ण गजुरेलले विरोध मन्तव्य राख्नुभएको थियो । विरोध कार्यक्रमको सञ्चालन अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका अध्यक्ष इश्वर तिमिल्सिनाले गर्नु भएको थियो ।

विरोध मन्तव्यको क्रममा उहाँहरुले पेट्रोलियम पदार्थमा गरिएको अस्वभाविक मूल्यवृद्धिले दैनिक उपभोग्यवस्तु तथा यातायातको भाडा अच्चाकली महंगिदा गरिब, मजदुर, सुकुम्बासीहरुको चुलो बल्नै छोडेको भन्दै तत्काल वृद्धि गरिएको पेट्रोलियम पदार्थको मूल्य खारेज गर्न माग गर्नुभयो ।

आजको विरोध प्रदर्शन सांकेतिक मात्र भएको भन्दै मूल्यवृद्धि फिर्ता आन्दोलनको आँधिवेहरी सृष्टि गर्ने समेत चेतावनी दिनुभयो ।

विरोध प्रदर्शनमा क्रान्तिकारी माओवादी सम्बद्ध जबस मोर्चाका नेता कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो ।

यसैबीच, कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी)ले मंसिर ७ गते रत्नपार्क शान्तिबाटिकामा दिनको १२ बजे गर्ने विरोध प्रदर्शनमा उपस्थितिका लागि समेत सूचना जारी गरिएको थियो ।





























