काठमाडौँ÷ अमेरकाका दक्षिण तथा मध्य एसिया मामिला हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लु तीनदिने नेपाल भ्रमणका लागि आज बेलुकी काठमाडौं ओर्लिदै छन् । कात्तिक २९ गते माल्दिभ्स भ्रमणमा निस्केका उनी मालेबाट यता आउन लागेका हुन् । सहायक विदेशमन्त्री डोनाल्ड लुको नेपाल भ्रमणका क्रममा अमेरिका–नेपाल सम्बन्ध र कार्यान्वयनमा अघि बढ्न नसकेको एमसीसी सम्झौताबारे छलफल हुने परराष्ट्र स्रोतले जनाएको छ । स्रोतका अनुसार ‘सहायकमन्त्री लुको भ्रमणका समयमा दुई मुलुकबीचको विकास साझेदारी, सहयोगलगायत विषयमा छलफल हुनेछ,’ ।
पछिल्लो समय नेपाल–अमेरिका सम्बन्धमा एमसीसी सम्झौता पेचिलो विषय बनेको छ । सन् २०१७ मा हस्ताक्षर भएको उक्त सम्झौता नेपालको संसद्बाट अनुमोदन नहुँदा कार्यान्वयनमा लैजान नसकिएको सत्तासिन दलका केही नेताहरू बताउँछन् । त्यही कारण अमेरिका नेपालसँग असन्तुष्ट रहेको छ । यसअघि एमसीसीकी उपाध्यक्ष फातिमा सुमारको नेपाल भ्रमण र एमसीसी मुख्यालयले पटक–पटक जारी गरेको विज्ञप्तिमा पनि सम्झौता कार्यान्वयनमा भइरहेको ढिलाइलाई लिएर चासो व्यक्त गरिएको थियो ।
अमेरिकी सहायक विदेशमन्त्री लुले प्रधानमन्त्री तथा काङ्ग्रेस सभापति शेरबहादुर देउवा, परराष्ट्र मन्त्री नारायण खड्का, रक्षामन्त्री मिनेन्द्र रिजाल, गृहमन्त्री बालकृष्ण खाँण, स्वास्थ्यमन्त्री विरोध खतिवडासँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । यसै क्रममा सहायक मन्त्री लुले पूर्व प्रधानमन्त्रीहरू, के.पी. ओली, पुष्पकमल दाहाल, बाबुराम भट्टराई, माधव नेपाललगायत विभिन्न पार्टीका शीर्ष नेताहरूसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको जनाइएको छ । उक्त भेटवार्तामा ‘द्विपक्षीय सहयोग, विकास निर्माण, कोभिड–१९ महामारीमा भएका स्वास्थ्य सामग्री र खोप सहयोग, जलवायु परिवर्तन, सुरक्षा, विपद् व्यवस्थापनलगायत विषयमा छलफल हुने,’ बताइएको छ ।
यस अघि पनि एमसीसीकै विषयमा बढी केन्द्रीत रहेर फातिमा सुमार आउनु र सोही विषयमा अहिले सहायक विदेशमन्त्री नै नेपाल आउनुले यो एमसीसी सम्झौतालाई अमेरिकी सरकारले कति धेरै महत्व दिएको छ भन्ने कुरा स्पष्ट हुन्छ । अमेरिकाले एमसीसीलाई ज्यादा महत्व दिनुले यो उसको सैन्य रणनीतिकै अङ्ग भएको परराष्ट्र मामिलाका कतिपय जानकारहरू बताउँछन् । ‘त्यसैले पनि यो सम्झौता राष्ट्रहितमा छैन’ विज्ञहरूको भनाई छ ।
यतिखेर नेपालमा एमसीसी सम्झौता नेपालको आर्थिक विकासका निम्ति मात्रै केन्द्रीत भएको नभएर राष्ट्रियताको सवाल भएकोले क्रान्तिकारी धाराका कम्युनिस्ट पार्टीहरू, देशभक्त शक्तिहरू र आम जनता यसको विरुद्धमा दिनहुँ सडकमा आएको अवस्था छ ।






























