काठमाडौं । माक्र्सवादी कलासाहित्य तथा सौन्दर्यचिन्तनका क्षेत्रमा गम्भीर अध्येता तथा व्याख्याताका रूपमा ‘चैतन्य’ नामले स्थापित कमरेड मोहन वैद्य ‘किरण’ दर्शनका क्षेत्रमा पनि उत्तिकै प्रखर र गम्भीर चिन्तक हुनुहुन्छ ।

नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव समेत रहनु भएका कमरेड ‘किरण’ द्वारा लिखित ‘माक्र्सवादी दर्शन’ को नयाँ संस्करण प्रकाशित भएको छ । केही थपघट र आवश्यक परिमार्जन सहित प्रकाशित यो संस्करण पहिलो संस्करण भन्दा करिब सय पेज थप भएर एघार वर्षपछि भुँडीपुराण प्रकाशनद्वारा प्रकाशित भएर आएको हो ।

दर्शनशास्त्र ः प्रारम्भिक अध्ययन; द्वन्द्वात्मक भौतिकवादको सिद्धान्त; द्वन्द्वात्मक भौतिकवादको पद्धति; द्वन्द्वात्मक भौतिकवादको ज्ञानसिद्धान्त; ऐतिहासिक भौतिकवाद; साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगमा दर्शन र माक्र्सवादी दर्शन ः एक निष्कर्ष समेतका सात भाग र त्यस अन्तरगत विविध अध्यायहरूमा सङ्गठित यो पुस्तकमा माक्र्सदेखि माओसम्मका प्रमुख योगदानलाई समेटिएको र वर्तमान सन्दर्भका समस्याबारे समेत चर्चा गरिएको छ ।

प्रस्तुत ग्रन्थका विभिन्न भागहरूमा थोरैमा तीनवटा र बढीमा बाह्रवटासम्म गरी जम्मा छत्तीसवटा अध्यायहरू छन् ः दर्शनशास्त्रको स्वरूप; दर्शनको ऐतिहासिक विकासको प्रक्रिया; माक्र्सवादी दर्शन; द्वन्द्वात्मक भौतिकवाद; आदर्शवाद र भौतिकवाद; द्वन्द्वात्मक भौतिकवादका सैद्धान्तिक विशेषता; द्वन्द्ववाद र अधिभूतवाद; द्वन्द्ववादका नियम र मूलतत्त्वहरू; अन्तर्विरोधको नियम; भौतिकवादी द्वन्द्ववादका प्रवर्गहरू; प्रतिबिम्बनको सिद्धान्तः सत्ता र चिन्तनको एकरूपता ; ज्ञानप्राप्तिको प्रक्रिया ः दुई छलाङको सिद्धान्त; ज्ञानको स्रोत, स्वरूप र कसौटी; ज्ञानसिद्धान्तका क्षेत्रमा विभिन्न धारा तथा प्रवृत्तिहरू; ज्ञानसिद्धान्तको विधि; तर्कशास्त्र, द्वन्द्ववाद र ज्ञानको सिद्धान्त; विज्ञानका रूपमा ऐतिहासिक भौतिकवाद; ऐतिहासिक भौतिकवादका आधारभूत सैद्धान्तिक मान्यता र नियम; उत्पादन पद्धति र सामाजिक–आर्थिक संरचना; उत्पादनपद्धति र समाज विकासको ऐतिहासिक प्रक्रिया; वर्गसङ्घर्ष, राज्यसत्ता र सामाजिक क्रान्ति; साम्राज्यवाद र सर्वहारा क्रान्तिको युग; भूमण्डलीकृत साम्राज्यवाद र वैज्ञानिक समाजवाद; मानव समुदायको विकासको प्रक्रिया; राष्ट्रियताको प्रश्न र अन्तर्राष्ट्रियतावाद; जनसमुदाय, व्यक्तिहरू र नेतृत्व; सामाजिक चेतना र विचारधारा; सामाजिक चेतनाका रूपहरू; पुँजीवादी दर्शनको विकास; संशोधनवादी दर्शन; नवमाक्र्सवाद, उत्तरआधुनिकतावाद र उत्तरमाक्र्सवाद; माक्र्सवादको विकास र समाजवादको भविष्य; विश्वदृष्टिकोण र क्रान्तिको कार्यदिशा; विश्वदृष्टिकोण र दुईलाइन सङ्घर्षको प्रश्न; सामाजिक क्रान्ति र सिद्धान्तका विकासको प्रश्न र माक्र्सवादी दर्शनको ऐतिहासिक कार्यभार ।

पहिलो प्रकाशनका समयमा प्रकाशकले भनेजस्तै यो पुस्तक ‘सुरुदेखि अन्त्यसम्म दर्शनका तत्त्वहरूमाथि नै केन्द्रित भई गहन विश्लेषण गरिएको नेपालीमा पहिलो मौलिक ग्रन्थ हो । ‘..दर्शनका विविध पक्ष, धारा र आयामलाई बुझ्न यस कृतिले पूरा मद्दत गर्ने मात्र होइन, विभिन्न भ्रमहरूको चिरफार पनि गर्छ । ..विश्वदृष्टिकोणको अध्ययनमा रुचि राख्ने हरेक पाठकलाई यो एउटा पठनीय प्रामाणिक ग्रन्थ हो ।’

प्रतिक्रिया

सम्बन्धित खवर