काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हालै सर्लाहीमा आयोजित एकीकृत अखिल नेपाल शिक्षक संगठन नेपालको कार्यक्रममा ‘मधेसको दलाललाई चिन्नु पर्ने’ भन्ने भनाइप्रति मधेशका बुद्धिजीवीहरुले आक्रोश पोखेका छन् । उनीहरुले एक विज्ञप्ति जारी गर्दै ‘मधेसीले मधेसको दलाललाई चिनेकै छन्, बरु तपाई चिन्नुस्’ भन्दै प्रतिप्रश्न गरेका छन् । प्रचण्डलाई सम्बोधन गर्दै बृद्धिजीविहरुद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘मधेसको दलाललाई मधेसीले चिनेकै छन् । तपाईले चिन्नु पर्यो । तपाई कमरेडको नेता की दलालको नेता ? भनी प्रश्न गरेका छन् ।

विज्ञप्तिमा उनीहरुले लेखेका छन्, “तपाई कमरेड भए नामूद र धुरन्धर मण्डलेहरु विजयकान्त कर्ण, महेन्द्र सिंह जस्तालाई कसरी राजदूत बनाउनु भयो ? धनुषाका कमरेड जीवनलाई बाईपास गरी रामचन्द्र झा जस्ता धुर ब्राह्मणवादी र अवसरवादीलाई कसरी र किन टिकट दिनु भयो ?” विज्ञप्तिमा अगाडि भनिएको छ,, ‘तपाईले मधेसमा सबैभन्दा बढी ग्रुपिज्म गर्नुभएको छ । चाहे त्यो तपाईको पार्टीमा होस् या अन्य पार्टीमै किन न होस् । तपाईले गु्रपिज्मलाई बढाबा दिने तर आफ्नो वर्गको जस्टिसका लागि आबाज उठाउनेलाई तपाईले आफ्नै पार्टी÷समूहमा टिक्न दिनु भएन ।” उनीहरुले विज्ञप्तिमा अगाडि लेखेका छन्, “तपाईले कमरेड देवनारायण यादव, कमरेड जयकृष्ण गोइत र रामविलास यादवजस्ता सक्रिय कम्युनिष्टलाई माओवादीबाट खेदाउनु भयो । उहाँहरुले मधेसी समुदायका लागि आबाज उठाउदा माओवादीमा विद्रोही बनाई खेदाउनु भएको मधेसी जनताले बिर्सेका छैनन् ।”

विज्ञप्तिको अन्तमा भनिएको छ, “प्रचण्ड जी, तपाईले राप्रपाका खुंखार र कुख्यात मधेसीहरुलाई पार्टीभित्र रेड कार्पेट विछ्याएर स्वागत गर्नु भयो । तर, जनयुद्धताका आफन्त गुमाएकाहरुलाई पाखा लगाउनु भयो । अब भन्नुस् मधेसी र मधेसको विरोधी तपाई की अरु ? त्यसैले अब जनताले तपाईलाई चिनिसकेका छन् । तपाईले विगतमा मधेसमा धेरै द्वन्द्व चर्काउनु भयो , अब बन्द गर्नुस् । कमसे कम अब मधेसीलाई ठग्ने कार्य बन्द गर्नुस् । किनभने तपाईले मधेसीलाई ठग्ने दिन अब गए ।”

प्रतिक्रिया

सम्बन्धित खवर