काठमाडौं । स्कटल्याण्डको ग्लास्गोमा सम्पन्न जलवायु परिवर्तनसम्बन्धी कोप–२६ सम्मेलनमा सहभागी भएर स्वदेश फर्किएका प्रधानमन्त्री देउवाले एअरपोर्टमै खुलासा गरे– ‘प्रचण्ड र आफूले एमसीसी पास गर्छौ भनेर पत्र पठाइसकेका छौं ।’ प्रधानमन्त्री देउवाले यस्तो खुलासा गरेपछि माओवादी केन्द्रका अध्यक्ष समेत रहेका पुष्पकमल दाहाल प्रचण्डको चौतर्फी रुपमा विरोध भयो । उनी स्पष्टीकरण दिन बाध्य भए । उनले गोलमटोल भाषा प्रयोग गर्दै घुमाउरो पाराले एमसीसीको मुख्यालयलाई गोप्य पत्र पठाएको पुष्टि गरे । उनले एमसीसी पास गर्छौं भनेर पत्र पठाएको नभएर राष्ट्रिय सहमति कायम गरेर मात्र एमसीसी पास गरिने व्यहोराको पत्र पठाएको दाबी गरे । तर देउवा र प्रचण्डको परस्पर विरोधी भनाइ बाहिरिएपछि अहिले देशव्यापी रुपमा सत्यतथ्य के हो भनी एमसीसीलाई पठाएको भनिएको उक्त गोप्य पत्र तत्काल सार्वजनिक गर्न दबाब बढेको छ ।
नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेलले एमसीसीलाई पठाएको भनिएको गोप्य पत्र तत्काल सार्वजनिक गर्न जोडदार रुपमा माग गरेका छन् । नेता गजुरेलले वर्गदृष्टि साप्ताहिक र मूलबाटो डटकमसँग कुराकानी गर्दै एमसीसीलाई पठाएको गोप्य पत्र सार्वजनिक गर्न माग गरेका हुन् । अध्यक्ष गजुरेलले भने– ‘राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र क्षेत्रीय अखण्डतासँग जोडिएको यस्तो संवेदनशील विषयका बारेमा जान्न पाउने नेपाली जनताको नैसर्गिक अधिकार हो । यसबारेमा देउवा र प्रचण्डले एमसीसीलाई पठाएको भनिएको गोप्य पत्र तत्काल सार्वजनिक गर्नुपर्छ ।’

देशभक्त, वामपन्थी र क्रान्तिकारी शक्तिहरुले सडकमा निरन्तर रुपमा जारी राखेको संघर्ष र सत्तारुढ पार्टीभित्रै पनि विरोधका कारण पटक पटक प्रयास गर्दा पनि अहिलेसम्म एमसीसी सम्झौता सदनबाट पारित हुन नसकेको विश्लेषण गर्दै अध्यक्ष गजुरेलले एमसीसीलाई पठाएको गोप्य पत्रको विषयमा एमसीसी जस्तो राष्ट्रघाती सम्झौता जनतालाई झुक्याएर पास गर्न खोजिएको षड्यन्त्र भएको बताए ।
एमसीसी पास गर्ने सत्तारुढ पार्टीहरुको षड्यन्त्रका विरुद्ध देशभक्त, वामपन्थी तथा क्रान्तिकारी शक्तिहरु फेरि पनि सडकमा उत्रनुपर्ने स्थिति बनेको ठहर गर्दै उनले सच्चा देशभक्त, वामपन्थी तथा क्रान्तिकारी शक्तिले पछिल्ला विकसित घटनाक्रमहरुलाई नजिकबाट निहालिरहेको पनि बताए ।
नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पनि प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीलाई पठाएको गोप्य पत्र सार्वजनिक गर्न माग गरेका छन् ।
एमसीसीको खरो विरोध गर्दै आइरहेका नेता रावलले सामाजिक सञ्जालमार्फत एमसीसी पास गर्ने भनि पत्र पठाइनु राष्ट्रघात भएको भनेका छन् ।
काँग्रेस सभापति शेरबहादुर देउवासँग मिलेर माओवादी अध्यक्ष प्रचण्डले एमसीसीलाई लेखेको पत्रबारे माओवादीका सिनियर नेताहरू नै आश्चर्यमा परेका छन् । प्रधानमन्त्री देउवाले बोल्नुअघि पार्टीलाई सो पत्रबारे थाहै नभएको माओवादीका एक नेताले बताए ।
‘हामीलाई त थाहै थिएन, प्रधानमन्त्रीले पत्रकार सम्मेलनमा भनेपछि पो थाहा भयो, पार्टीका तर्फबाट एमसीसीलाई पत्राचार गरिएको रहेछ’ माओवादीका एक उच्च नेताले भने, ‘यो पारदर्शी व्यवहार भएन, पार्टीका तर्फबाट एमसीसीलाई लेखिएको त्यो पत्र चाँडोभन्दा चाँडो जनतासमक्ष सार्वजनिक गरियोस् ।’
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री शेरबहादुरसँग नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीलाई कसरी संयुक्त पत्र लेख्न मिल्छ भनी प्रश्न गरेका छन् ।
पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता डा. कोइरालाले भने, “एमसीसीलाई पत्र पठाएको भए प्रधानमन्त्री शेरबहादुर देउवाले स्कटल्यान्ड जानुअघि भनेर गएको भए पनि हुन्थ्यो, फर्केर आएपछि किन भन्नुभयो ? देशको प्रधानमन्त्री र एउटा पार्टीको अध्यक्षले एमसीसीलाई संयुक्त पत्र लेखेर दिन मिल्छ कि मिल्दैन ? प्रधानमन्त्रीले कुन हैसियतले पत्र लेखनुभएको हो ? सभापतिको हैसियतमा कि प्रधानमन्त्रीको ? एमसीसीमा अब खेलाँची गर्नुहुँदैन ।”
नेपाली कांग्रेस एमसीसी पास गर्नुपर्छ भन्ने पक्षमा रहे पनि यसमा विपक्षी एमालेको पनि साथ लिनुपर्ने डा. कोइरालाले बताए । उनले भने, “एससीसी संसद्को बिजनेस हो । पत्र लेखेर मात्र संसद्बाट पास हुने होइन । फेरि यो राजनीतिक दलहरुको मात्र नभएर नागरिकहरुले चासो दिएको विषय हो । यसमा एमालेलाई पनि साथ लिएर जानुपर्छ । यो विवाद बढाउने भन्दा दलहरुसँग सरसल्लाह गर्नुपर्ने विषय हो ।”
प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डले दुई पार्टीका तर्फबाट अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) लाई सुटुक्क पठाएको पत्र अहिलेसम्म गोप्य राखिएको छ । पत्रमा के छ भन्ने विषयमा देउवा र प्रचण्डका विरोधाभाषपूर्ण भनाइ बाहिर आएका छन् ।
के भनेका थिए देउवाले ?
बेलायत भ्रमणका बेला एमसीसीका डेपुटी सीईओसँग तपाईको भेट भएको हो ? भन्ने पत्रकारहरूको प्रश्नमा प्रधानमन्त्री देउवाले भने, ‘हो, एमसीसी कहिलेसम्म पास हुन्छ भन्दाखेरि मैले भने, अहिले हाउस छैन । हामीसँग गठबन्धन पार्टनरहरू छन्, यसका सम्बन्धमा कुरा भइरहेको छ । हामीले यसलाई पास गराउने भनेर प्रचण्डजी र मैले साइन गरेरै पठाएका छौं त ।’
प्रधानमन्त्री देउवाले एमसीसीका अधिकारीसँग भएको कुराकानीबारे जानकारी दिँदै भने, ‘उनीहरूले पार्लियामेन्ट किन चलेको छैन भन्दै थिए, यो अर्कै कारणले, अध्यादेश ल्याउनुपर्ने कारणले रोकिएको हो, यसले केही असर पर्दैन भनेर मैले भनें, त्यही हो ।’
पत्र पठाएको स्वीकारे प्रचण्डले
सत्ता गठबन्धनमा सहभागी दलहरूमध्ये नेपाली काँग्रेस एमसीसी यथास्थितिमै पारित गर्नुपर्ने पक्षमा छ । माओवादी केन्द्रले भने यथास्थितिमा एमसीसी पारित गर्न नहुने अडान राख्दै आएको छ । यस्तो अवस्थामा माओवादी अध्यक्ष प्रचण्डले पार्टीभित्र कुनै छलफल नै नगरी देउवासँग मिलेर गोप्य रूपमा एमसीसीलाई पत्र लेखेको भन्दै माओवादी पार्टीभित्र असन्तुष्टि चुलिएको छ ।
एमसीसीलाई दुई नेताले हस्ताक्षर गरेर पत्र पठाइएको प्रधानमन्त्री देउवाले खुलासा गरेपछि यसबाट देशैभरि तरंग आएको माओवादी अध्यक्ष प्रचण्डले स्वीकार गरेका छन् । शुक्रबार इन्द्रेणीका कलाकार कृष्ण कँडेलको देउसी टोलीसँग कुरा गर्दै प्रचण्डले यसो भने– ‘हिजो प्रधानमन्त्री शेरबहादुरजीले एउटा महाँ बोलिदिनुभएछ प्रचण्डजीले र मैले चिठी पठाइसकेका छौं भनेर । देशैभरि साथीहरूको तरंग पैदा भएको छ । त्यस्तो चिठी पठाएको हैन । पछि प्रधानमन्त्रीजीले त्यस्तो भनेको त होइन भनेर आफैंले सच्याउनुभएको छ । हामीले भनेको के हो भने देशमा सबै दलहरूसँग छलफल नगरी, राष्ट्रिय सहमति नबनाई हामीले यसलाई पारित गर्न सकिँदैन । त्यसको निम्ति हामीलाई समय पनि चाहिन्छ । हामी छलफल गर्छौं । समस्या कहाँ छ, त्यसको निदान कसरी गर्न सकिन्छ, उपाय निकाल्छौँ भनेर लेखेको चिठी हो । हामी पास गर्छौं भनेर लेखेको चिठी होइन । यो कुरा प्रष्ट होस् ।
अमेरिकाले, बेलायतले या दुनियाँको कुनै पनि विकसित देशले दिएको सहयोग नलिने भन्ने चाहिँ हुँदैन । अनुदान सहयोग दिने र लिने कुरा सामान्य कुरा हो । तर, यो एमसीसीमा यति धेरै बहस विवाद किन भयो भने पहिलो सुरूमा सहमति हुँदा यो एमसीसी सम्झौता संसदमा लानुपर्ने र संसदबाट अनुमोदन गर्नुपर्ने केही कुरा थिएन । अमेरिकाले सहयोग दिने र नेपालले लिने भन्ने मात्रै थियो । त्यतिबेला हामी पनि सरकारका थियौं । शेरबहादुर देउवाकै नेतृत्वमा सरकार थियो । त्यतिबेलाको अर्थमन्त्रीले सम्झौता गरेको हो । त्यो सम्झौतामा पार्लियामेन्टमा लगेर ऐन सरह हुने गरी अनुमोदन गर्ने कुरा थिएन । पछि त्यसमा त्यो थपियो । त्यसो हुँदा यसका पछाडि के हो त रहस्य भन्ने प्रश्न खडा भयो र यो विवाद बन्न आएको हो । यसको समाधान पनि ओरिजिनल सहमतिसँग डराउनुपर्ने कुरा छैन, बीचमा थपिएका कुराले गर्दा नेपालको राष्ट्रिय हितमाथि नै असर पर्ने भन्ने आम जनतालाई लागिसकेपछि यसलाई सम्बोधन नगरिकन यसलाई पारित गर्न सकिँदैन ।’
शुक्रबार कान्तिपुर टेलिभिजनमा दीपा दाहालसँगको कुराकानीमा प्रचण्डले भने, ‘हामीले पत्र लेखेको कुरा साँचो हो शेरबहादुरजीले भनेको । तर, उहाँले भनेको जस्तो सहमति भैसकेको र प्रतिवद्धता होइन ।’
कुन हैसियतमा पत्र लेख्नुभएको भन्ने प्रश्नको जवाफमा प्रचण्डले भनेका छन्, ‘हामी पार्टीका प्रमुखको हैसियतले । फतिमा (एमसीसी उपाध्यक्ष) आइसकेपछि, हामीसँग कुरा भइसकेपछि एमसीसीलाई रेस्पोन्स गर्नु उचित हुन्छ पार्टीहरूको तर्फबाट भनेर नेपाली काँग्रेस र माओवादी केन्द्रका तर्फबाट यो विषयमा राष्ट्रिय समझदारी बनाएर मात्रै अगाडि जान सकिन्छ, त्यसका लागि हामीलाई समय चाहिन्छ भनेर लेखिएको पत्र हो ।’
पत्र पठाइएको सन्दर्भबारे चर्चा गर्दै प्रचण्डले टेलिभिजनसँग भनेका छन्, ‘जब सरकारले केही प्रश्न गर्यो एमसीसीलाई, त्यो प्रश्नको जवाफ उनीहरूले पठाए । केही सकारात्मक छन्, केही अस्पष्ट छन् भन्ने लाग्यो । फतिमा (एमसीसी उपाध्यक्ष) आएर हामीसँग कुरा गरिसकेपछि हामीले पनि रेस्पोन्स गर्नु उचितै हुन्छ भन्ने ठानेर… । सरकारको तर्फबाट गरिएको होइन त्यो पत्र । पहिलेका प्रश्नचाहिँ सरकारले पठाएको थियो ।’
कान्तिपुरकर्मी दीपाले प्रचण्डलाई सोधेकी छिन्, ‘….त्यसोभए प्रधानमन्त्रीले झुठ बोल्नुभयो त ?’ जवाफमा प्रचण्ड भन्छन्, ‘झुठ बोल्नुभयो त म भन्दिनँ । राजनीतिक दलहरूका बीचमा सहमति भयो, हाम्रो राष्ट्रिय सहमति पनि भयो, बुद्धिजीवी, नागरिक समाज सबैसँग पनि कुरा गरेर सहमति भयो, लेटर अफ एक्सचेञ्जबाट अलिकति परिमार्जन गर्ने कुरा पनि भयो भने त हामी त्यसका पूरै पैसा लिनै हुन्न भन्नेवाला हैनौं नि त । त्यसअर्थमा शायद उहाँले यो बुझ्नुभयो होला । यहाँ त कुरा राजनीतिक दलहरूको बीचमा पनि नागरिक आन्दोलनसँग पनि हामीले कुरा गरेका पनि छैनौं । सहमतिको वातावरण बनिसकेको त केही पनि छैन । लेटर अफ एक्सचेञ्जको कुरा पनि भएको छैन ।’
कोप–२६ मा सहभागी भएर बिहीबार स्वदेश फर्केका प्रधानमन्त्री देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै एमसीसी छिटै पारित हुने बताएका थिए । कोप–२६ का क्रममा भेट हुँदा अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि यस विषयमा जिज्ञासा राखेको उनले बताएका थिए । “अमेरिकी राष्ट्रपति बाइडेनले एमसीसी के हुन्छ भनेर सोध्नुभएको थियो” प्रधानमन्त्री देउवाले भने, “एमसीसी छिटै पारित गर्छौं भनेको छु ।”
राष्ट्रपति बाइडेनले संसद् अधिवेशन अन्त्य गरेको विषयमा समेत जिज्ञासा राखेको देउवाले सुनाए । “एमसीसीका कारणले नभई हाम्रो आन्तरिक कारणले संसद् अधिवेशन अन्त्य गरिएको हो, महत्वपूर्ण अध्यादेश ल्याउनुपर्ने भएकाले संसद् अधिवेशन अन्त्य गरिएको जानकारी गराएँ” देउवाले भने ।
देउवालाई एमसीसीकी नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) एलेक्सिया लतोर्तुले पनि भेटेर एमसीसी पास गर्न दबाब दिएकी थिइन् ।
वासिङ्टनस्थित एमसीसी मुख्यालयले गत बिहीबार विज्ञप्ति निकालेर नेपालको संसदमा विचाराधीन एमसीसी सम्झौता अनुमोदन गर्न संसद अधिवेशन अन्त्य गरेकोमा असन्तुष्टी जाहेर गरेको थियो ।
सडक संघर्षको तयारीमा क्रान्तिकारी माओवादीसहित २२ राजनीतिक संगठन
जनतालाई झुक्याएर एमसीसी पास गर्ने षड्यन्त्र बढेपछि एमसीसी सम्झौता पास भए नेपालको राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता, क्षेत्रीय अखण्डतामाथि गम्भिर आँच आउने ठहरका साथ निरन्तर रुपमा सडक संघर्ष मार्फत् एमसीसी सम्झौता कुनै पनि हालतमा पास नगर्न दबाब दिंदै आएको २२ राजनीतिक संगठनको कार्यगत एकताले फेरि सडक संघर्ष चर्काउने तयारी थालेको छ । नेकपा (क्रान्तिकारी माओवादी) तथा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको पहलमा २२ राजनीतिक संगठनले लामो समयदेखि राष्ट्रिय स्वाधीनताको सडक संघर्ष सञ्चालन गर्दै आएका छन् । क्रान्तिकारी माओवादी नेता तथा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेलले एमसीसी पास गर्ने षड्यन्त्रको पर्दाफास गर्न सडक संघर्ष अपरिहार्य बनेको बताए । अध्यक्ष गजुरेलले एकल र संयुक्त सडक संघर्ष उठानका लागि छलफल अगाडि बढाइरहेको पनि जानकारी दिए ।