काठमाडौं । स्कटल्यान्डको ग्लास्गोमा सम्पन्न कोप–२६ मा सहभागिता जनाएर स्वदेश फर्केका प्रधानमन्त्री देउवाले सत्ता गठबन्धनका साझेदार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल र आफुले एमसीसी पास गराउँछाै भनेर पत्र नै पठाइसकेकाे खुलासा गरे । एमसीसीकी उपप्रमुख कार्यकारी अधिकृत एलेक्सिया ल्याटोर्तुले आफूसँग एमसीसी संसदबाट अनुमोदनबारेमा कुरा राखेको र आफूले त्यसलाई सत्ता गठबन्धनसँग मिलेर अघि बढाउने जानकारी दिएको प्रस्ट पार्दै
प्रधानमन्त्री देउवाले भने, ‘प्रचण्डजी र मैले एमसीसी पास गराउँछौं भनेर पत्र पठाइसकेका छौं ।’ उनले एमसीसीकी ल्याटोर्तुलाई आफूहरुले सम्झौता कार्यान्वयन गर्ने सम्बन्धमा प्रतिबद्धता गरिसकेको उल्लेख गर्दै अहिलेको संसद् अधिवेशन अन्त्य अर्कै कारणले गरिएको जानकारी दिएको समेत उल्लेख गरे । देउवाले आफूले एमसीसी सम्झौताको सम्बन्धमा नभएर अध्यादेश जारी गर्नका लागि भएको जानकारी दिएको समेत बताए । देउवाले ल्याटोर्तुले कहिलेसम्म संसद्बाट सम्झौता पास गर्नु हुन्छ भनेर जिज्ञाशा राखेको पनि जानकारी दिए ।
संशाेधनविना हबहु सम्झाैता पास नगर्ने अडान लिदै आएकाे भनिएकाे माओवादी केन्द्रका अध्यक्षले एमसीसी पास गर्छाै भनेर लिखित रुपमै अमेरिकासँग प्रतिबद्धता जनाइसकेको खुलासा गरिदिएपछि प्रचण्डले अप्ठ्यारो महसुस गरेका छन् । उनले एमसीसी पारित गर्ने भनेर प्रधानमन्त्री शेरबहादुर देउवाले बोलेको विषयले देशभरि तरंग आएको बताउँदै संशोधन नगरी एमसीसी पारित नहुने कुरा दाेहाेर्याएका छन् ।
प्रचण्डले भनेका छन्, ‘हिजो प्रधानमन्त्री शेरबहादुरजीले बोलिदिनुभएछ प्रचण्डजीले र मैले चिठी पठाइसकेका छौं भनेर । देशैभरि साथीहरुमा तरंग पैदा भएको छ’ प्रचण्डले भने, ‘त्यस्तो चिठी पठाएको हैन । पछि प्रधानमन्त्रीजीले त्यस्तो भनेको त होइन भनेर आफैंले सच्याउनुभएको छ ।’
एमसीसी सम्झौता नसच्याई पारित नहुने बताउँदै प्रचण्डले अगाडि भने, ‘हामीले भनेको के हो भने देशमा सबै दलहरूसँग छलफल नगरी राष्ट्रिय सहमति नबनाई हामीले यसलाई पारित गर्न सकिँदैन । त्यसको निम्ति हामीलाई समय पनि चाहिन्छ । हामी छलफल गर्छौं । समस्या कहाँ छ, त्यसको निदान कसरी गर्न सकिन्छ, उपाय निकाल्छौँ भनेर लेखेको चिठी हो । हामी पास गर्छौं भनेर लेखेको चिठी होइन । यो कुरा प्रष्ट होस् ।’
एमसीसीका सम्बन्भमा पत्र पठाएकाे भने प्रचण्डले पुष्टि गरेका छन् । यस विषयमा प्रधानमन्त्री देउवाले झुठाे बाेले कि प्रचण्डले भन्ने कुराकाे सत्यतथ्य बुझ्न भने एमसीसीकाे मुख्यालयलाई पठाएकाे पत्रकाे व्यहाेरा सार्वजनिक भएपछि मात्र स्पष्ट हुन्छ ।
स्पष्ट कुरा के छ भने एमसीसी सम्झाैता संशाेधन हुँदैन, यसमा भएका कुनै पनि प्रावधानहरु सच्याउन सकिन्न भनेर अमेरिकी अधिकारीहरु, एमसीसीका पदाधिकारीहरु र नेपालका लागि अमेरिकी राजदुत र्याण्ड बेरीले पटक पटक सार्वजनिक रुपमा स्पष्ट पारिसकेकाे स्थितिमा माओवादी केन्द्र र सम्बद्ध नेताहरुले किन संशाेधन भनिरहेका छन् ? अहिले त्यसमाथि राष्ट्रिय सहमतिकाे कुरा गर्न थालिएकाे छ । यस विषयमा पनि कुरा सपष्ट छ- एमसीसी पास गर्ने विषयमा राष्ट्रिय सहमति सम्भव छैन । आइपिएसकाे अभिन्न अंग रहेकाे, नेपालकाे परराष्ट्र नीति र सुरक्षा नीतिमाथि आघात पुर्याउने, नेपालकाे सार्वभाैमिकता, राष्ट्रिय स्वाधीनता र क्षेत्रीय अखण्डतामाथि गम्भीर आँच आउने स्थिति रहेकाेले संसदबाट कुनै पनि हालतमा पास गर्नुहुन्न भनेर तर्क गर्ने माओवादी केन्द्रले किन भन्न सक्दैन- एमसीसी खारेज गर, एमसीसी सम्झाैता रद्द गर, एमसीसी परियाेजना फिर्ता लैजाऊ भनेर ? प्रष्ट छ- एमसीसीकाे विषयमा माओवादी केन्द्रकाे द्वैध चरित्र छ । प्रचण्डले बालेका र बाेल्ने भाषाबाट पनि प्रष्ट हुन्छ कि एमसीसीका विषयमा उनकाे स्पष्ट अडान छैन । वर्गीय र राष्ट्रिय रुपमा आत्मसमर्पण गरिसकेका प्रचण्डले पार्टी भित्रै र बाहिर भएकाे विराेधकाे प्रतिरक्षाका लागि गाेलमटाेल भाषा प्रयाेग गरेर एमसीसी पास गर्छाै भनेर पत्रमा नलेखिएकाे बताए पनि त्याे भनाइमा विश्वास गर्न सकिने बलियाे आधार भने छैन । राष्ट्रिय स्वाधीनताका पक्षधर नेता कार्यकर्ता र आम जनतालाई भ्रमकाे सुविधा दिन मात्रै प्रधानमन्त्री देउवाकाे भनाइकाे विराेध गरेजस्ताे गरेका त हाेइनन् भन्ने गम्भीर आशंका उत्पन्न गराउने थुप्रै आधारहरु छन् ।
ओलीले गरेकाे संसद विघटनकाे विराेधमा उत्रिदा प्रचण्डले एमसीसीकाे विराेधमा कार्यकर्तालाई नाराबाजी लगाउन लगाएकाे राेकदेखि देउवाले गरेकाे खुलासासम्मका घटनाक्रमले माओवादी केन्द्र पनि एमसीसी पास गर्ने लाइनमै छ । त्यसका लागि उ अहिले वार्गेनिङकाे फेजमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार