काठमाडौँ । आजबाट नेपाल सम्बत् ११४२ सुरु भएको छ । प्रत्येक वर्ष कात्तिक शुक्ल प्रतिपदाका दिन मनाइने नेपाल संवत् ११४२ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस संवतलाई हाल नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् ।

राष्ट्रिय विभूति शंखधर साख्वाःले विसं ९३७ (इ सं ८८०) मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवतको सुरुवात गराएका थिए । लिच्छविकालका राजा राघवदेवको शासनकालबाट सुरु भएको नेपाल संवत् पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक संवतका रुपमा चलेको इतिहासकारहरुले दाबी गरेका छन् । नेपाल संवतलाई नेपाल देशको नामबाट राखिएकाले यो मौलिक संवत्को रुपमा लिने गरिन्छ ।
विसं २००७ मा प्रजातन्त्रको स्थापना भएपछि नै नेपाल संवतलाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको थियो । नेपाल संवतलाई नयाँ वर्षका रुपमा काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखालगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानमा विशेषरुपमा मनाउने गरिन्छ ।

गरीब जनताको ऋण मोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक संवतसमेत चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै २०५६ सालको नयाँ वर्षका दिन तत्कालीन सरकारले साख्वालाई राष्टिय विभूति घोषणा गरेका थिए ।
आजैको दिन नेवार समुदायमा म्हः (आत्म) पूजा समेत गरिन्छ । कार्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदायले आफ्नो आत्म (म्हः) पूजा पर्व मनाउने गर्दछन् ।

यसैबीच, नेपाल संवत् ११४२ को उपलक्ष्यमा काठमाडौंको वसन्तपुरमा भिन्तुना ¥याली आयोजना गरिएको छ । ¥यालीमा सहभागीहरुले वसन्तपुर दरबार क्षेत्र परिक्रममा गरेका छन् ।

¥यालीमा नेवारी वेशभूषामा सजिएका पुरुष तथा महिलाको उल्लेख्य सहभागिता थियो । ¥यालीमा नेवारी संस्कृतिमा आधारित विभिन्न नृत्य, बाजा तथा झाँकीको प्रदर्शन गरिएको थियो । यस्तै, सोही कार्यक्रम स्थलमा सडक विस्तारका कारण मर्कामा परेका पीडितहरूले विभिन्न नारा लेखिएका प्लेकार्डसहित आफ्ना मागहरू समेत प्रदर्शन गरेका थिए ।

नेवार संम्वतको रुपमा राज्यले दुव्र्यवहार ग¥यो :  नेवा : मोर्चा
यसैबीच, नेकपा (क्रान्तिकारी माओवादी) निकट नेवाः राष्ट्रिय मुक्ति मोर्चाले एक शुभकामना सन्देश जारी गर्दै नेपाल सम्वत्लाई सरकारले ‘नेवार सम्वत्’को रुपमा दुव्र्यवहार गरेको र जनतामा भ्रम छर्ने काम गरेको आरोप लगाएको छ । मोर्चाका केन्द्रीय अध्यक्ष पवनमान श्रेष्ठले जारी गरेको वक्तव्यमा भनिएको छ, “नेपाल सम्बत्लाई ११२८ कौलागाः एकादशी (१५ अक्टोबर, २००८)मा नेपाल सरकारले राष्ट्रिय सम्बत् घोषणा गरेतापनि यसलाई राष्ट्रिय सम्बत्को रुपमा सरकारले कहिल्यै पनि व्यवहार गरेन र यसलाई कागजमा मात्र सिमित राख्ने काम भएको छ । राज्यले नै यसलाई नेवार सम्बत्को रुपमा दुव्र्यवहार गर्दै जनतामा पनि त्यही भ्रम छर्ने काम हँुदै आएको छ ।

देशको एक सर्वसाधारण नागरिक शंखधर साख्वाःले जनताको ऋणमोचण गरी देशको नामबाट शुरु गरिएको नेपाल सम्बत् विश्वकै अनुपम नमूनाको रुपमा रहेको छ । यस नयाँ वर्ष चाडको रुपमा मात्र होइन, यस सम्बत्मा देशको राष्ट्रियता छछल्किन्छ, मानवीयता र मानव सेवाले भरिपूर्ण अथवा अहिलेको भाषामा भन्दा मानव मुक्तिसँग पनि जोडिएको छ । यस्तो गौरवशाली सम्बतलाई पृथ्वीनारायण शाहदेखि अहिलेका शासकसम्मले निरन्तर दुव्र्यवहार गर्दै आएको छ ।

ब्रम्हाणवादी शासकहरुका यस्तै सोच र व्यवहारका परिणाम आज देशको राष्ट्रियता, जनतन्त्र र जनजीविका गंभीर संकटमा परेको छ । शासकहरुको नालायकीपन तथा असफलता र संसदीय व्यवस्था तथा संसदीय पार्टीका नेताहरुको असफलताले देश र जनता गंभीर संकटमा रहेका छन् । यसको पूर्ण निकासका लागि संघीय जनगणतन्त्रको विकल्प छैन । नेपाल सम्बत्ले पनि देश र जनताप्रति जिम्मेवार रहन सँधै झक्झकाइ रहन्छ । यस सम्बत्लाई सबै नेपालीले मनमस्तिष्कमा राख्न आवश्यक रहेको अवगत गराउँदै पुनः एक पटक सबै नेपालीमा नयाँ वर्षको हार्दिक शुभकामना !”

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार