मेरो, तिम्रो अनि हाम्रो
यो माटो
जहाँ आँसुका भेलले
भावुकता मुस्कुराएको छ
हाम्रा पू्र्खाको पसिनाले
सिंचित भएर
पौरख फुलेको छ

रगतका सिंचाइ लागेर
वीर गाथा फक्रेको छ ।
यहाँ आँसु,पसिना र रगतले लेखिएका
वीर पौरखीहरुका
इतिहास मात्र होइन
बर्तमान र भबिस्यका
कर्णधार जन्माउने
सपनाहरू समेत कोरिएका छन ।
यो
माटोको इतिहास
डरपोकहरुको
पराजितहरुको
वा
बिकाउहरुको मात्र छैन
अर्थात बलभद्रहरु मात्रै छैनन
अमर सिंह थापाहरुको साहस

भक्ति थापाहरुको
बलिदानको इतिहास पनि छ ।
ओ दलाल
शासकहरु
यो माटोमा
बिदेशी स्वार्थका
बिषबृक्ष हुर्काउन
मलजल नगर ।
तिनीहरुका प्रभुत्व बिस्तारका
रणनीतिक केन्द्र
स्थापना गर्न
जल, जमिन र जंगल मात्रै होइन
गौरव,पौरख
अस्मिता समेत लुट्न
दाउ गरिरहेका
परचक्रीहरुका
खेताला बन्ने कोशिश नगर ।
हामीले यही माटोमा उभिएर
इतिहासको गौरव गाथा मात्रै होइन
भविस्यको सुनौलो बिहान कोर्नु छ ।
यही माटोमा उभिएर
श्रमजीवीहरुको
उत्पीडितहरुको
मेहनतकसहरुको
न्याय र समानताका हिमायतीहरुको
नयाँ बिद्रोह र विजयको
सुन्दर गित कोर्नु छ ।

प्रतिक्रिया

सम्बन्धित खवर