निबन्ध

समाज सञ्चालनमा केही नीति, विधि, कानुन, नियमहरू हुन्छन् । कतिपय ऐन नियम राज्यले नै निर्धारण गरेको हुन्छ भने कतिपय अलिखित तर सर्वमान्य हुन्छन् । धर्म, संस्कृति, परम्परा, विचार राजनीति, दर्शन आदिको क्षेत्रमा सीमा परिधिको निर्माण र लागु गरिएको हुन्छ । युगको विकास र परिवर्तन हुँदै आउँदा कतिपय पुराना विषयहरू मेटिन्छन् र नयाँ मान्यताहरू आउँछन् । युगको गति एकैनाश भइरहँदैन, फेरिन्छ, फेरिई रहन्छ ।

फेरिने मामिलामा कतिपय विषयहरू सोझो सपाट र विवेकशील रूपले विकसित हुन्छन्् भने कतिपय विषयहरू दिक्क लाग्दो र भ्रष्टिक हुन्छन् । भ्रष्ट शब्दले बिग्रनु, भत्कनु, गिर्नु भन्ने बोध गराउँछ । भ्रष्टआचरण भन्नाले बिग्रेको वा नीति नियमको उल्लङ्घन गर्ने चरित्र भन्ने बुझाउँछ । हाम्रो समाजमा भ्रष्टाचार भन्नाले सरकारी कर्मचारी वा राजनीतिक नेता कार्यकर्ताले पदीय आचरणको दुरूपयोग गरी धन आर्जन गरिएको भन्ने बुझिन्छ । भ्रष्टिकरण भन्नाले भइरहेको अवस्था बिगार्नु वा भ्रष्ट परम्परा बसाल्नु भन्ने बुझिन्छ ।

भाषा हाम्रो गहना हो । परम्परित भाषाको तुलनामा चालु भाषा धेरै विकशित भइसकेको छ । हाम्रो देशको मूल भाषा नेपाली भाषा हो यसलाई खस भाषा पनि भनिन्छ । यो भाषाको जननी संस्कृत भाषा हो तर अहिले यो भाषालाई भ्रष्टिकरण गर्न थालिएको छ । हरेक भाषामा आ-आफ्नै मूल शब्द हुन्छन् । बाहिरी भाषाबाट कुनै शब्दहरू पाहुना बनेर आएका हुन्छन् । ती शब्दहरू रैथाने भाषासँग नेपाली शब्द भएर खेल्छन् । अर्का एक थरी शब्दहरूलाई हामीले जबरजस्त भित्र्याएका छौं र उनीहरूले हाम्रो नेपाली शब्दहरूलाई अतिक्रमण गरिरहेका छन् । यस्ता शब्दहरू प्रयोग गरिरहँदा हाम्रो भाषामा भ्रष्टिकरणको शुरुवात भएको छ । परिवार नै हाम्रो पहिलो पाठशाला हो । हामीले बाबु नानीहरूलाई ‘बा’ ‘आमा’ सिकाउनुको सट्टा ड्याड र मम सिकायौं । हामीले घरबाट विद्यालय पठायौं, त्यहाँ गुरु होइन सर भन्न लगायौं, विद्यालयका गुरु र गुरुआमाहरू सर र मिस त हुनुभयो कालोपाटी ब्ल्याकबोर्ड भयो । हाँजीरी वही रजिस्टर भयो । कार्यतालिका रुटिङ भयो । सामेली होइन एसेम्ली गरियो । कार्यालयलाई अफिस भनियो । भएका मूल शब्द थन्क्याइयो र नयाँ नयाँ शब्द भित्र्याइयो । हुँदा हुँदा अङ्ग्रेजी भाषालाई जबरजस्त सबै विषयमा घुसाइयो । यसरी भाषाबाट भ्रष्टिकरणको शुरुवात गरियो ।

भाषामा मात्र होइन लवाई खवाईमा भ्रष्टिकरण गरियो । हुँदा खाँदाको नयाँ सुरुवाल काटेर कुरूप बनाइयो । घुँडा, पुठ्ठा र तिघ्रा वरपर काटेर च्यातेर अर्ध नग्न बनाइयो । तपाई वा मेरी छोरी चाल्नो जस्तो च्यातिएको परिधान पहिरिएर सभ्य नागरिकको दावी गर्न थालिन् ।

संस्कार संस्कृतिलाई परिमार्जन गर्ने नाउँमा हामीले मूल अवस्थालाई निषेधात्मक रूपमा ग्रहण गर्न थाल्यौं । परम्परागत चल्दै आएका वैज्ञानिक संस्कारमाथि भ्रष्टिकरणको जालोले छपक्क ढाक्न थालेको छ । पारिवारिक संरचना विघटन हुनु, सामाजिक सम्बन्ध भत्किनु र पश्चिमा आदर्श पच्छ्याउनु आम संस्कृति बन्ने खतरा बढ्दै गएको छ । नारी स्वतन्त्रताका नाममा विवाह पूर्वको शारीरिक सम्बन्ध वा स्वतन्त्रताको निहुमा सम्बन्ध विच्छेद मौलाउँदै गएको छ । धार्मिक स्वतन्त्रता वा धर्म निरपेक्षताको नाममा पौराणीक दर्शनको विपठन गर्‍यौं । धर्मलाई ऐच्छिक बनायौं, यो ठिक हो तर पोप र बाइबललाई ढोका खुल्ला गर्‍यौं ।

परोपकारलाई ममोपकारमा विनिर्माण गर्‍यौं । म र मेरो मात्र दुनियाँँ ठान्यौं । अर्कालाई होच्याउने, निर्चोने र खुट्टा तान्ने प्रवृत्तिलाई बहादुरी ठान्यौं । मुखले एउटा कुरा बोल्छौं तर व्यवहारमा उल्टो गर्छौं । हामी एक्काइसौं शताब्दीमा सयर गरिरहेका छौं । यो युग विज्ञानमय छ । हामी हातहातमा विज्ञानको संयन्त्र लिएर संसार विचरण गर्छांै । विज्ञान हाम्रा लागि वरदान भएको छ । तर यही विज्ञानलाई भ्रष्टिकरण गरेर हामी सभ्य र शालिन बन्छौं । प्रकृतिले छोरा र छोरीलाई बराबर अस्तित्व दिएको छ । कानुन संविधान सबैतिर समान मान्यता छ तर यही विज्ञानलाई भ्रष्टिकरण गरेर आमाको गर्भभित्रकी छोरीहरूको जीवन सखाप पार्न हामी उद्यत छौं ।

सबैभन्दा ठूलो भ्रष्टिकरण राजनीतिको क्षेत्रमा व्याप्त छ । विश्वमा अजेय दर्शनको रूपमा मानिएको द्वन्द्वात्मक भौतिकवादलाई आदर्श मान्नेहरू ज्याक डेरिडाको पछि पछि दौडन थालेका छन् । भ्रष्टिकरणलाई पर्खाल लगाएर छेक्न सकेनौं भने भोली सिङ्गो देश टुक्रिने खतरा बढ्ने छ । हामी सजग हुन सकेनौं भने हाम्रा मूल्य मान्यता धरासायी भएको हाम्रा सन्ततिले पत्तो पाउने छैनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर