११ भदौ÷तुलसीपुर, आज दिउँसो राप्ती प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. विनोद सिंहमाथि कालो मोसो दलिएको छ । नेकपा एमाले निकट अनेरास्ववियुका संयोजक सर्जन परियार र सहसंयोजक दिवश क्षेत्रीको नेतृत्वमा पाँच सात जनाको अराजक एवम् उदण्ड शैलीका लठैतहरूबाट कालोमोसो दलिएको हो । उनीहरूले हिजोदेखि नै अस्पतालमा पसेर अनाधिकृत रुपमा सोधपुछ गरेको र आज टिवि रोगको कल्चर ल्याव टेष्ट किन हुँदैन भनी मेसुलाई प्रश्न सोधेको र त्यसबारेमा मेसुले जवाव दिने क्रममा गुण्डागर्दी शैलीमा एकाएक कालो मोसो दलेर उक्त हुलहुज्जतमा संलग्न युवाहरू फटाफट भागेको अस्पताल प्रशासनले जनाएको छ ।
कोरोना महामारीले देश नै आक्रान्त बनेको समयमा कोरोना विशेष अस्पताल बेलझुण्डीका अस्पताल प्रमुख समेत रहेका मेसु विनोद सिंहमाथि यसप्रकारको अमानवीय, अराजनीतिक र गुण्डागर्दी शैलीमा गरिएको दुव्र्यवहारको सर्वत्र निन्दा र भत्र्सना गरिएको छ ।

घटना लगत्तै बसेको अस्पताल व्यवस्थापन समिति र अस्पताल प्रशासनको बैठकले दोसीमाथि कडा भन्दा कडा कारवाहीको माग गरेको छ । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष पदमप्रसाद न्योपाने तथा अस्पताल विकास समिति कर्मचारी युनियन, नेपाल चिकित्सक सङ्घ दाङ शाखाले छुट्टाछुट्टै वक्तव्य जारी गर्दै कारवाहीको माग गरेका छन् । कारवाही नगरिएर आलटाल गरेमा इमरजेन्सी सेवा वाहेकका सबै सेवा ठप्प पार्ने चेतावनी चिकित्सिक तथा स्वास्थ्यकर्मीहरूले जनाएका छन् ।
यसैगरी आजै देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल दाङका अध्यक्ष इश्वरी प्रसाद गैरेद्वारा जारी प्रेस वक्तव्यमा पनि दोसीहरूमाथि कडा कारवाही गर्न, अस्पतालमा कार्यरत डाक्टरहरू तथा सम्पूर्ण स्वास्थ्यकर्मीले निर्वाध रुपले सेवा दिन पाउने सुरक्षित वातावरण निर्माण गर्न जिल्ला प्रशासनसँग माग गरिएको छ ।
अस्पतालमा भएको यसप्रकारको गैरराजनीतिक घटनाप्रति खेद व्यक्त गर्दै नेकपा (क्रान्तिकारी माओवादी)का केन्द्रीय सदस्यसमेत रहेका प्रगतिवादी साहित्यकार तथा पत्रकार हिरामणि दुःखीले आफ्नो फेसबुक वालमार्फत् घटनाको निन्दा गरेका छन् । साथै उनले अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरूलाई विना कारण र विना दोस यस्ता अमानवीय घटना घटाउँदा त्यसले स्वास्थ्यकर्मीहरूमा नकारात्मक प्रभाव पर्ने र जसका कारण जनताले स्वास्थ्यसेवा लिन समेत बञ्चित हुन पुग्ने खतरा पैदा हुने जनाएका छन् । उनले आफ्नो फेसबुक वालमा लेखेका छन् ‘आज तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पतालका मेसु डा.विनोद सिंहमाथि भएको केही हुल्लडवाज, अराजक र अपराधिक तत्वका लठेत युवाहरूबाट भएको अमानवीय एवम् अमर्यादित दुर्ववहार प्रति घोर निन्दा र भर्त्सना व्यक्त गर्दछु । विनोद सिंह जस्तो अत्यन्तै सज्जन इमानदार र कर्तव्यनिष्ठ डाक्टरप्रति विना गल्ती गरिएको दुर्ववहारले स्वच्छ रुपमा सेवा गर्ने र गरिरहेका स्वास्थ्यकर्मीहरूको मनोवल खस्किने वातावरण बनेको छ । यो अमानवीय घटनाले मानिसको स्वास्थ्य सेवा लिने अवसर बञ्चित हुने खतरा पैदा हुन्छ । तसर्थ यो घटनामा सङ्लग्न जो कोहीलाई पनि तुरुन्त कडा कारवाही गरियोस् । यस्ता उदण्ड, अराजक र गैर राजनीतिक प्रवृत्तिलाई कुनै पनि राजनीतिक पार्टीले संरक्षण प्रदान नगरोस् भन्न चाहन्छु । साथै यस्ता केही अराजक गतिविधिबाट त्यस अस्पतालमा कार्यरत डाक्टर, नर्स, सम्पूर्ण स्वास्थ्यकर्मीहरू, कर्मचारीहरू हतोत्साही नहुन र आफ्नो सेवामा सङ्लग्न रहन विशेष अनुरोध गर्दछु ।’
यद्यपि यस घटनापछि नेकपा एमाले दाङका अध्यक्ष हुकुमबहादुर बस्नेत र सचिव मनोहर बुढाथोकीले एक वक्तव्यमार्फत् घटनामा संलग्न सर्जन परियार र दिवश क्षत्रीलाई तत्काल पार्टी र विद्यार्थी सङ्गठनको जिम्मेवारीबाट हटाइएको र उनीहरूलाई कानुनी कारवाही गर्न माग गरिएको छ ।
यसैबीच घटनामा संलग्नहरूले भने विद्यार्थी सङ्गठनले कारवाही गरेको जिम्मा लिएको छ । यो पार्टी र विद्यार्थी सङ्गठनको विरोधाभाषपूर्ण वक्तव्यले जनतामा ‘तँ रोए जस्तो गर म कुटे जस्तो गर्छु’ भन्ने उखान चरितार्थ हुने त होइन भन्ने आशङ्का जन्माएको छ ।