कुरा २०५४ सालको हो । हाम्रो विवाह भर्खरै भएको थियो । विहे भएको भोलिपल्ट नै हामीलाई कलावतीका बुबा र आमाले घरमा खाना खान बोलाउनु भयो । हाम्रो विहे कलावतीको घर भएको गाउँ धोवियामा नै भएको थियो । खानामा माछा पनि थियो । माछा थारु जातिको मुख्य खाना भित्र पर्दछ । भातसँगै माछा खाँदा माछा मार्न प्रयोग गरिएको बल्छि पनि खाइएछ । कमरेड आयामले माछामा भएको बल्छि भएको थाहा पाउनु भयो । घाँटीसम्म पुगेको बल्छिलाई आयामजीले बलजफती निकाल्नु भयो । बल्छि त निस्कियो सँगसँगै आयामका आँखाभरी आँशु पनि आए । वहाँको मुख पनि रातो भयो । अहिले त आयाम सहिद भैसक्नु भएको छ । त्यस समयमा कलावती हामीसँगै हुनुहुन्थ्यो । तर वहाँ १२ वर्षको मात्र हुनुहुन्थ्यो । त्यसैले बाल सङ्गठनमा सङ्गठित हुनुहुन्थ्यो ।

खाना खाइसकेपछि हामीले केहीबेर हाँसो ठट गर्‍यौँ । आयामले हाँसो मजाकमा नै ‘यो बल्छि पनि उपहारका रूपमा लैजानु पर्ला’ भन्नु भएको थियो । माटोको घर बनाएर भाँडाकुटी खेल्ने उमेरकी कलावतीलाई आयामले रमाइलोका लागि भनेको भन्ने के थाहा र ? एउटा बाल मष्तिष्कले बुझ्न सकेन । वहाँ दौडँदै हाम्रा सामु आउनु भयो । वहँको हातमा भौंका थियो । त्यो आफैले बुन्नु भएको रहेछ । वहाँले मेरो हात समात्नु भयो । – “दिदी, तपाइँहरूले दाइको घाँटीमा अड्किएको बल्छि उपहारका रूपमा लैजाने हो र ? नाइ त्यो नलैजानुस् । बरु मैले आफैले यी यो भौंका बुनेकी छु । यो लैजानुस् न । तपाइँहरूलाई विहेमा दिइएका उपहार स्वरूपका किताव, कपडा र खुकुरी जहाँ राख्नु हुन्छ त्यहीं यसलाई पनि राख्नु होला । हुँदैन ?”

आयामजीले गरेको मजाकप्रति एउटा बच्चीले गरेको प्रतिक्रिया सुनेर हामी दङ्ग परेका थियौँ । हुन त मैले कलावतीलाई धेरै पटक भेटेकी थिएँ । कुराकानी हुन्थे । तर त्यसबेला कलावतीका कुरा सुनेर मलाई पनि अचम्म लागेको थियो । त्यही बच्चा हुर्कियो, बढ्यो । सानैदेखि नेपालको वर्गीय युद्धमा सामेल भयो । २०६३ सालमा जब म बर्दिया जिल्लाको इञ्चार्य भएर धेरै वर्ष पछि धेरै उतार चडाब पछि आएँ, त्यस बखत कलावती अखिल नेपाल राष्ट्रिय स्वतन्क्र विद्यार्थी युनियन (त्रान्तिकारी)को जिल्ला अध्यक्ष हुनुहुन्थ्यो । जिल्लाको विद्यार्थीको एउटा बैठकपछि हामी दुई केही बेर बसेका थियौँ । त्यस बसाईमा हामी दुईले नेपालको जनयुद्धमा महिलाहरूको सहभागिता, महिला नेतृत्वलाई हेर्ने दृष्टिकोणका बारेमा छलफल गरेका थियौँ । वहाँले उठान गरेका विषयहरू असाध्यै गहकिला थिए । त्यसबेला मैले मनमनै सम्झेकी थिएँ, उत्पीडित गरिब थारु परिवारमा जन्मिएकी केटीको वैचारिक स्तर राम्रो बनेछ । म असाध्यै खुशी भएकी थिएँ ।

२०६६ साल असोजमा म बर्दिया जिल्लाको पार्टीको बैठकका क्रममा तारातालको सानोश्री गएकी थिएँ । त्यहाँ राधा दिदीको घरमा बसेकी थिएँ । त्यहाँ कलावती आउनु भएको रहेछ । म यतै छु भन्ने थाहा पाएपछि मलाई खोज्दै म बसैकै ठाउँमा आइपुग्नु भयो । त्यो रात हामीसँगै बस्यौँ । रात छिप्पिदासम्म पनि हामी दुई दुखसुखका कुरा गरेर बसिराख्यौँ । कलावतीको विहे २०६४ साल फागुन १४ गते डबल महतारासग भएको थियो । तराईमा जन्मेकी, हुर्केकी थारु परिवारकी एउटा केटीले बिकट हुम्ला जिल्लाको क्षेत्रीसग विहे गर्नु चानचुने कुरा थिएन । विहे भएको २ वर्षपछि यतिबेला वहँ डबलको घरमा जानु भएछ । त्यहँ ६ महिना बस्नु भएछ । वहाले म सग देशको पछिल्लो राजनीति, पार्टीले खेलेको भूमिकालाई लिएर चिन्ता व्यक्त गर्नु भएको थियो । “दिदी, जनुयुद्धका मूल्यमान्यता त्यसै हराएर जाने त होइनन ? भन्नुस् त हामी कता हरायौँ । आयाम दाइ जस्तै हजारौं सहिदहरूले देखेको सपना यो त होइन । साँच्चै भन्नुहुन्छ भनें दिदी आजभोलि मलाई असाध्यै चिन्ता लाग्छ । ” वहँले सोधेका प्रश्न र जिज्ञासाहरूको उत्तर दिने कोशिस गरेकी थिए । वहँले सोधेका कैयौँ प्रश्नहरूको उत्तर म सग पनि थिएनन् । तै पनि मैले निराश नहुन भनेकी थिए । कलावतीसगको मेरो त्यही भेट नै अन्तिम भेट रहेछ ।

सँधैको जस्तै कात्तिक ९ सोमबारका दिन पनि म पत्रिका पड्दै थिएँ । एकाएक मेरो नजर जनदिशाको अन्तिम पेजमा पुग्यो । त्यसमा कलावतीको फोटो छापेको थियो । जनदिशाको त्यही कोलम पढेर मैले थाहा पाएँ की कलावती हामी सबैलाई सँधैका लागि छाडेर जानु भएछ । मेरो मन अमिलो भयो । मैलै असाध्यै पीडाको अनुभूति गरेँ । मेरो मानस पटलमा वहाँसँग बितेको बिगत दौडन थाल्यो । एउटा सानी बच्ची कसरी मुक्ति युद्धमा सामेल भई, पुरानो रुढीवादी, चिन्तन, संस्कृति, परम्परालाई तोडेर अगाडि बढ्दै गई ।

कलावतीको निधनमा पार्टीले ठूलो क्षति बेहोर्नु परेको छ । एउटा सांस्कृतक योद्धा गुमाएको छ । जातीय मुक्ति आन्दोलनको कमाण्डर गुमाएको छ । उत्पीडित जातिको मैले एउटा साथी गुमाएकी छु । आत्मीय मित्र गुमाएकी छु ।

यही मङ्सिर १६ गते म धोबिया पुगेँ । मलाई कलावतीको बुबा आमासँग भेट्न मन लागेको थियो । तर भएन बरू त्यहाँ अतित सम्झेँ । जनयद्ध हुनुभन्दा अगाडि जतिबेला पुरानो सत्ता अन्त्य गरेर नयाँ सत्ता निर्माण गर्ने सपना लिएर महिला जिल्ला सङ्गठनको जिल्ला सम्मेलन एउटा होइन, पहिलो, दोस्रो र तेस्रो सम्मेलन गरिएको थियो । मलाई किर्नाले टोकेर बिरामी भएको सम्झँदा अहिले पनि हाँसो लाग्छ । मैले त गडेर बसेको किर्नोलाई खटिरोको माम्री भनेर माया गरेर मसारीरहेकी थिएँ । पछि मात्र थाहा पाएँ । धोबियाको नर्सरीमा पाईने धेरै किर्नाहरू मध्धे केहीले हामीलाई निकै सताएका थिए । टाईफाईड भएर म हिँड्न नसकेर औसधी खानु भन्दा अगाडि केही खानेकुरा किन्ने पैसा नभएर दीवाकर कमरेडले एउटा बिस्कुट र एउटा चाउचाउ दिनुभएको थियो । अनि मैले एरिया ईन्चार्ज भएर घनश्याम पुनाराम सहित हाम्रा साधु दाजुहरूको सेलको बैठक बसेको भरखरै जस्तो लागिरहेको छ । ति दिनहरू जनयुद्ध हुनुभन्दा पहिलेका अतितहरू हुन् । आज त धोबियाको बबईमा धेरै पानी बगिसकेको छ । गाउँमा धेरैका सपना उनिएका छन् । २०५५ साल जेठ ७ गते कमरेड महान् पहिलो बाँके बर्दियाली सहिद जुना चौधरीको श्रद्धाञ्जली पनि हामीले धोबियामा नै राखेका थियौँ । आँखाहरू राता हुँदासम्म पनि हामी सबै सामुहिक रूपमा निकै रोइरह्यौँ । सुरुका दिन भएर होला, पीडालाई योजनामा बदल्न निकै गाह्रो भएको थियो । सोही महिनाको २८ गते जुन दिन बिष्णु पोख्रेल र धनिराम चौधरीलाई रानिजरुवामा हत्या गरेको थियो । हामी त्यही दिन धोबियामा जिल्लाको बैठक बसिरहेका थियौँ । जुन रात कमरेड दीवाकर सहित रातभरी बबईको नर्सरीमा कडा सेन्ट्रिसहित बसेका थियौँ । त्यही घरबाट २०५६ बैसाख ३ गते कमरेड (ढाकाराम पाठक –अनल) लाई बैरीहरूले गिरफ्तार गरेर राजापुरको चौकीका सत्ताका मतियारहरूले सँधैको लागि हामीबाट लगेका थिए । धोबियामा हाम्रा अतितहरू धेरै छन् । जुन भावमा विचारमा मात्र केन्द्रित हुँदो रहेछ । त्यसलाई शब्दमा खोज्न नसकिँदो रहेछ ।

अन्त्यमा म शोकसन्तप्त उहाँको जीवनसाथी, बुबा, आमा, भाइ, बहिनी अन्य परिवारजन, पार्टी परिवार सबैलाई यो मात्र भन्दछु कि अब शोकलाई विवेकमा अनि शक्तिमा बदलौँ र उहाँको सपना पुरा गरौँ । म तपाईहरूसँग यही बाचा गर्न चाहन्छु ।

 

प्रतिक्रिया

सम्बन्धित खवर