सामान्यतः ध्रुवीकरण भन्ने पदावलीले पार्टीबाट फुट्ने र एउटा बनिबनाउ केन्द्रको वरिपरि गोलबन्द हुने भन्ने अर्थ राख्छ । यदि हामी सबैले नेपालको कुनै एउटा कम्युनिस्ट केन्द्रलाई सच्चा क्रान्तिकारी भएको मान्थ्यौ भने शायद हामी सबै त्यसैमा गोलबन्द भएका हुन्थ्यौं । यो आजको यथार्थ होइन । हाम्रा आ–आफ्ना बुझाइ छन् र त्यसैलाई हामीले सही ठान्छौं । नेपालमा क्रान्ति चाहने हामी क्रान्तिकारीहरु धेरैतिर छरिएका छौं । त्यसकारण यो अन्तक्र्रियाको शीर्षकमा क्रान्तिकारी कम्युनिस्टहरुको एकता राखिएको भए अझ राम्रो हुन्थ्यो । यो मेरो विमति होइन, अनुभुति मात्र हो ।
क्रान्तिकारी कम्युनिस्टहरुको एकता आजको ऐतिहासिक आवश्यकता हो । यसमा कुनै विमति छैन । तर, कम्युनिस्ट एकता भावनात्मक विषय होइन, यो मुख्यतः सैद्धान्तिक विषय हो ।  यसमा भावनाका कुरा पनि जोडिएर आउँछन्, परन्तु क्रान्तिकारी एकता विचार तथा राजनीति र माक्र्सवादी सिद्धान्तका आधारमा हुने गर्दछ, भावनाका आधारमा होइन । क्रान्तिकारीहरुका बीचको सिद्धान्तनिष्ठ एकता आजको अनिवार्य आवश्यकता हो । नेपालमा ०७४मा कम्युनिस्ट पार्टीको नेतृत्वमा झण्डै दुई–तिहाई बहुमतको सरकार बन्यो तर, तीन वर्षको समय बित्दा नबित्दै त्यो सरकार तासको महल झैं गल्र्याम–गुर्लुम ढल्यो । यो सामान्य संसदीय परिघटना मात्र होइन । यसले महत्वपूर्ण दुई ओटा कुराको पुष्टी गर्दछ

ती हुन् ः एक, नेपाली जनताले राष्ट्र निर्माणको नेतृत्व कम्युनिस्ट पार्टीले गरोस् भन्ने चाहन्छन् । दुई, त्यस्तो नेतृत्व साम्राज्यवादी नवउदारवादद्वारा निर्देशित प्रतिक्रियावादी सत्ता तथा संसदीय व्यवस्था र त्यस अन्तर्गत् क्रियाशील कुनै पनि संसदवादी वा माक्र्सवादको नाममा संशोधनवादको अभ्यास गर्ने कथित कम्युनिस्ट पार्टीबाट संभव छैन । नेपालमा बुर्जुवा लोकतन्त्रवादी पार्टीहरु र संसदीय व्यवस्था मात्र होइन, संशोधनवादी कम्युनिस्ट पार्टीहरु समेत असफल सावित भएका छन् । यसले नेपालमा सर्वहारा वर्गको नेतृत्वमा नयाँ जनवादी क्रान्ति र
जनताको जनवादी अधिनायकत्वमा आधारित सङ्घीय जनगणतन्त्र हुँदै वैज्ञानिक समाजवाद अपरिहार्य छ भन्ने कुराको पुष्टि गर्दछ । हामीले यसलाई राम्ररी आत्मसात गरेर अगाडि बढ्नु पर्दछ ।
हामी नेपालमा क्रान्ति हुनुपर्छ भन्ने कम्युनिस्टहरु पनि चारतर्फ फर्केका छौ । हामी मध्ये कसैलाई संसदलाई सङ्घर्षको थलो बनाएर समाजवादमा पुग्न संभव छ भन्ने लागेको छ । हामी मध्ये कसैले भन्छौं वैज्ञानिक समाजवाद जनमत सङ्ग्रहबाट आउँछ । त्यस्तै कसैलाई लाग्छ यही सङ्घीय लोकतान्त्रिक गणतन्त्र, नेपालको संविधानका कतिपय बुँदालाई संशोधन ग¥यो भने समाजवाद हुँदै साम्यवाद सम्मको यात्रा पुरा गर्ने बाटो खुल्छ । अझ कसैलाई त यही पुँजीवादी प्रणाली अन्तर्गत् प्रविधिको प्रयोग गरेर समाजवादको समानान्तर अभ्यास गर्न सकिन्छ भन्नेमा विश्वास छ । अनि हामी कुरा गर्छौ, कम्युनिस्ट ध्रुवीकरण र एकताको । आ–आफ्नो ढङ्गले माक्र्सवादको व्याख्या गरेर र चार दिशातिर फर्केका हामी क्रान्तिकारीहरु अलग–अलग कार्यनीति बनाएर कसरी सँगै हिंड्न सक्छौं ?
हामी क्रान्तिकारीका बीचमा कार्यनीतिक मात्र होइन रणनीतिक विषयमा पनि मतभेद रहेका छन् । त्यतिमात्र होइन विचार र राजनीतिका विषयमा पनि एकरुपता छैन । हामी कसैले न्युनतम रणनीति नयाँ जनवाद हो भन्छौं, कसैले वैज्ञानिक समाजवाद । हामीले मालेमावादलाई मार्गदर्शक सिद्धान्त त भन्छौं तर त्यसलाई बुझ्ने सवालमा ठुलो खाडल छ । हामी कसैले भन्छौं, लेनिनको युग समाप्त भयो । अनि कसैले भन्छौं आजको जमानामा माक्र्स, लेनिन र माओले गरेको वैचारिक तथा राजनीतिक संश्लेषणका आधारमा क्रान्तिको कार्यदिशा बनाउन खोज्नु हवाइजहाजमा स्टिम इञ्जिन फिट गर्न खोज्नु जस्तै हो । यी सबै कुरालाई थाँति राखेर कम्युनिस्ट एकता संभव छ ?
भावनात्मक मात्र कुरा गरेर एकता हुँदैन । सच्चा एकताका लागि मालेमावादका आधारभुत कुराहरुमा एकता हुनु जरुरी छ ।
विगतमा हाम्रो वैचारिक परिपक्वता देखिंदैन । विपरीतहरुको एकत्वलाई बुझ्ने र पार्टीमा त्यसलाई लागुगर्ने सवालमा हाम्रा अधिभूतवादी कमजोरी रहेका छन् । एकताको नाममा संझौता र सङ्घर्षका नाममा फुट हाम्रा विराशत बनेका छन् । यसलाई सच्याउनु जरुरी छ । माक्र्सवाद–लेनिनवाद–माओवादको कसीमा विगतमा हामी कहाँ चुक्यौ भन्ने प्रश्नको गम्भीर समीक्षा नगरी, एकता–सङ्घर्ष–रुपान्तरणको प्रक्रियाबाट उच्चस्तरको वैचारिक एकता कायम नगरी र विद्यमान वस्तुगत परिस्थिति अनुकूल क्रान्तिको कार्यदिशाको विकास नगरी हामीले सच्चा कम्युनिस्ट एकता प्राप्त गर्न सक्दैनौं । त्यसका निमित्त १, २, ३, ……… गरी छलफलका एजेण्डा
निर्धारण गरेर क्रान्तिकारीहर घनिभूत बहसमा प्रवेशगर्नु कम्युनिस्ट एकताको पहिलो कदम हो । विचारलाई एकातिर पन्छाएर गरिने एकता कस्तो हुन्छ भन्ने कुरा बुझ्न अन्यत्र जानै पर्दैन, डबल नेकपालाई हेर्दा पुग्छ ।
यसै सन्दर्भमा सर्वहारा क्रान्तिका लागि वस्तुगत परिस्थिति परिपक्व बन्दै गएको तर आत्मगत परिस्थिति भने कमजोर रहेको स्थितिमा छिरलिएर बसेका सच्चा क्रान्तिकारी शक्तिका बीचमा एकताको आधार खोज्नका लागि हाम्रो पार्टीले माक्र्सवाद–लेनिनवाद–माओवाद वा विचारधारा मान्ने र संसदीय व्यवस्थाका विरुद्ध नयाँ जनवाद तथा वैज्ञानिक समाजवादको विकल्प प्रस्तुत गर्ने क्रान्तिकारी कम्युनिस्ट सङ्गठन, समूह एवम् व्यक्तित्वहरुलाई संवादको प्रक्रियामा अगाडि बढ्नका लागि आह्वान गर्ने निर्णय गरेको छ ।
अन्त्यमा, क्रान्तिकारीहरुका बीचको एकता आजको अनिवार्य आवश्यकता हो । तर हाम्रा बीचमा गम्भीर वैचारिक तथा राजनीतिक अन्तरहरु छन् । यी अन्तरलाई संगु¥याएर एकताको वातावरण बनाउनु नै अहिलेको हाम्रो चुनौती हो । यसलाई सबैले गंभीरतापूर्वक आत्मसात गरौं र वैचारिक तथा राजनीतिक एकता निर्माण गरेर साङ्गठनिक एकताका निम्ति अगाडि बढौं । धन्यवाद ।
(नोट ः क्रान्तिकारी पत्रकार सङ्गठन, नेपालले २०७८ भदौ २ गते सम्बाद डवलीमा आयोजना गरेको “कम्युनिस्टहरुबीचको ध्रुवीकरण ः आवश्यकता र चुनौती” विषयक अन्तक्र्रिया कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी)का पोलिटब्यूरो सदस्य इन्द्रमोहन सिग्देलले व्यक्त गरेको विचारको सम्पादित अंश ।)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार