कोरोना रोकथाम र नियन्त्रण भएपछि व्यवस्थाको विकल्प खोज्न जनता सडकमा उर्लन तयार छन् : अध्यक्ष गजुरेल

कोरोना रोकथाम र नियन्त्रण भएपछि व्यवस्थाको विकल्प खोज्न जनता सडकमा उर्लन तयार छन् : अध्यक्ष गजुरेल

जनकपुर । नेकपा (क्रान्तिकारी माओवादी) का स्थायी कमिटी सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सिपी गजुरेलले संसदीय व्यवस्थाको विकल्प खोज्न अपरिहार्य रहेको बताउनु भएकाे छ ।
बुधबार जनकपुरधामस्थित विमानस्थलमा क्रान्तिकारी माओवादी धनुषाद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै गजुरेलले संसदीय व्यवस्था परिवर्तन नहुञ्जेलसम्म मुलुकको समस्याको समाधान नहुने बताउनु भयाे ।
विगतमा भएका युद्ध  र आन्दोलनबाट संसदीय व्यवस्थामै आधारित संघीय लोकतान्त्रिक गणतन्त्र आएकाले मुलुक र जनताका समस्या सामाधान हुन नसकेको बताए ।
उहाँले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण नभएसम्म जनताको जिउज्यानको सुरक्षा र सतर्कता अपनाउन आवश्यक रहेकाले पनि जनतालाई अहिलेको व्यवस्थाविरुद्ध सडकमा उर्लन आह्वान नगरेको बताउनु भयाे । उहाँले कोरोना रोकथाम र नियन्त्रण भएपछि जनता सडकमा उर्लन तयार रहेकोसमेत बताउनु भयाे ।
‘कोभिडले जनतालाई नै सबैभन्दा बढी स्वास्थ्यको चुनौती छ,’ उहात्रले भन्नुभयाे, ‘जनस्वास्थ्यमा असर पर्ने भएकोले हामीले जनतालाई सडकमा उतार्नेगरी आन्दोलनको घोषणा गरेका छैनौँ । कोभिड रोकथाम र नियन्त्रण भएपछि जनता सडकमा उर्लन तयार छन् ।’
उहाँले देशमा राजनीतिक र राष्ट्रिय स्वाधीनता लगायतमाथि संकट उत्पन्न भएको भन्दै संकटको समाधान कसरी गर्ने हो भन्नेबारे सबैको ध्यान केन्द्रित रहेको बताउनु भयाे ।
उहाँले भन्नुभयाे, ‘कुनै एक व्यक्तिका कारण अहिलेको समस्या उत्पन्न नभई संसदीय व्यवस्थाको कारणले नै मुलुकमा समस्या उत्पन्न भएकोले यसको विकल्प खोज्नु आवश्यक छ ।’
संसदीय व्यवस्थाभित्रै रहेर संसदीय नेता वा कुनै एक व्यक्तिलाई प्रधानमन्त्री बनाएर अहिलेको समस्या समाधान नहुने उहाँकाे भनाइ छ । उहाँले संसदीय व्यवस्थाको विकल्पमा अग्रगामी परिवर्तन अपरिहार्य रहेको बताउनु भयाे।
उहाँले वर्तमान सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएकोमा समेत आपत्ति जनाउनु भयाे । उहाँले केपी शर्मा ओली नेतृत्वको सरकारले सोही अध्यादेश ल्याउन खोज्दा व्यापक विरोध गर्नेहरुले नै अहिले २० प्रतिशतमा पार्टी गठन गर्ने सम्बन्धी अध्यादेश ल्याएको बताउदै अब मुलुकमा धेरै पार्टी खुल्ने बताउनु भयाे ।