शुरुशुरुमा म साहित्य शब्दसित अनभिज्ञ थिएँ । हामीले कक्षा ३ मा अध्ययन गर्ने नेपाली पुस्तकको नाम ‘नेपाली साहित्य’ भन्ने थियो । पुस्तकको लेखक वा सम्पादकको नाम पारसमणी प्रधान थियो । त्यो पुस्तकमा कविता, कथा, निबन्ध आदि थिए । मलाई विस्तारै बोध भयो यिनै विधालाई साहित्य भनिदो रहेछ । दार्जिलिङको म्याक मिलन कम्पनीले प्रकाशन गरेका ती पुस्तक कक्षा अनुरूप फरक फरक थिए । चार, पाँच, छ कक्षासम्म हामीले त्यही प्रकाशनको फरक फरक भाग अध्ययन गरियो । सात र आठ कक्षामा ‘हिमाली’ साहित्य पढियो । पछि पढ्ने क्रममा पाठ्य पुस्तक बाहेक अन्य थोरै पुस्तक पढियो, व्याकरण पढियो । शब्दका प्रकार पनि पढियो । औपचारिक अनौपचारक पुस्तक पढियो र साहित्यको सामान्य पाठक भइयो । बुझ्दै आउँदा के थाहा लाग्यो भने लेख्य मात्र साहित्य हुँदो रहेनछ । कथ्य साहित्य पनि हुने रहेछ भनेर ज्ञात भयो ।

बाहरू गफ गर्नु हुन्थ्यो । गफ सोझो र सपाट मात्र हुन्थेन । त्यसभित्र अभिदा, व्यञ्जना पनि हुन्थ्यो, गफमा कसैप्रति व्यङ्ग्य हुन्थ्यो । मेलापातमा ठिटाठिटीका सम्बाद हुन्थे । घतिला रसिला कुरा हुन्थे । गफभित्र पनि साहित्य हुँदो रहेछ भन्ने अलि अलि बुझ्न थालियो ।

छिमेकमा कोही कसैको झगडा हुन्छ त्यहाँ घुमाउरा, व्यङ्ग्य मिश्रित वाक्य हुन्थ्ये । विशेषणले जेलिएका शब्द हुन्थ्ये । मलाई लाग्यो साहित्यको विधाभित्र गाली विधा पनि हुने रहेछ । गाली साहित्य परिवारबाट नै सिकिन्छ र सिकाइन्छ । परिवारमा पुरुषको तुलनामा महिलाहरू उत्पीडनमा छन् । त्यसमाथि गाली साहित्य उनीहरूमाथि नै रचिन्छ । लोग्नेले आफ्नै श्रीमतीलाई विविध शब्द प्रयोग गरेर गाली गर्छ । ऊ आफू अब्बल भएको दावी गर्छ र आफ्नै श्रीमतीलाई जात विशेष, जन्तु विशेषको तुलनाले गाली गर्छ । गालीमा श्रीमतीका माइती समेत जोड्छ । तर ऊ बुझ्दैन कि कुनै पनि बा आमाको छोरीसित उसको विहे नभएको भए ऊ कस्को लोग्ने हुन्थ्यो । आफ्नो श्रीमतीलाई पशुसँग दाँजेर जब गाली गर्छ त्यसको भाले अर्थात् लोग्ने आफू हुँ भन्ने किन विर्सन्छ ? जस्तो कि, लोग्नेले आफ्नै श्रीमतीलाई कुकुर्नी भन्छ भने कुकुर्नीको भाले वा लोग्ने कसरी मान्छे हुन्छ ।

मेरो एकजना मित्रले आफ्नी श्रीमतीलाई दमिनी भनेर गाली गर्थे । धेरै दिन त्यो शब्द सुनेकी श्रीमतीले एकदिन मुख फर्काईन ‘म दमिनी भए हजुर दमाई’ श्रीमान् रिसले कालो नीलो भए । भोलिपल्टदेखि उनले त्यो शब्द भन्न छोडे । श्रीमानले श्रीमतीलाई मात्र होइन आमाले छोरीलाई, बाबुले छोरालाई सासूले बुहारीलाई गाली साहित्य नै सिर्जना गर्छन् । गालीको समाजशास्त्र परिवारबाट शुरु हुने रहेछ ।

समाजमा एक आपसमा लेनदेन साँध सिमाना, खर खिचलोमा गाली साहित्य खुब प्रचलनमा छ । यस्तो गालीमा व्यक्तिको रूप, आनीवानी, मावली, ससुराली, सबैको हुर्मत लिएर साहित्यको रचना गरिन्छ ।

आफ्नो कुनै वस्तुको क्षति भयो र क्षति गर्नेको सुराक मिलेन भने अग्लो ठाउँमा उभिएर गाली साहित्यको सिर्जना गर्छ त्यस्तो गालीलाई पाँडे गाली भनिन्छ ।

हामी सानो छँदा कक्षामा गुरुहरूले कमजोर विद्यार्थीलाई नाना शब्दहरू भन्थे । हुन त गुरुको गाली शिष्यलाई, सासूको गाली बुहारीलाई, अर्ति मान्नु पर्छ भनिन्छ तर यो भनाईमा कताकता सामन्तवादको गन्ध आउँछ । गाली साहित्यमा गुरुहरू सक्रिय नहुनु पर्ने हो तर भइदिन्छन् गुरुहरूले असल संस्कार दिनुपर्नेमा गाली साहित्य बाचर्य राख्नु कसरी उचित हुन्छ र ।

हामी आफ्ना आमा बुबालाई गाली गर्न सक्दैनौं । कतिपय आवरा चरित्रका केटाहरू बा आमालाई गाली गर्ने खालका पनि भएको देखेको छु, सुनेको छु । मेरो दाइ सदरमुकामको एउटा मा.वि.मा शिक्षण गर्नु हुन्थ्यो । एक पटक म दाइसँग बजार गएँ । दाइ ट्युशन पढाउन कुनै घरभित्र छिर्नु भयो । म बाहिर टहलिँदै थिएँ । आठ दश जना केटाहरू गुच्चा वा घुच्चा खेल्दै थिए । उनीहरूमा के विठ्याइँ भयो कुन्नि एउटाले महिला लक्षित गाली ओकल्यो । मलाई अहिले ती शब्द लेख्न सामथ्र्य छैन । किनकि म सबै महिलाहरूलाई सम्मान गर्छु । ती आवरा केटाहरू साथीलाई मात्र होइन आफ्नै बुबालाई समेत अश्लिल शब्दले गाली गर्थे ।

गाली साहित्य प्रहरी र सैनिक व्यारेकहरूमा प्रशस्त चल्तिमा छ । माथिका कमाण्डरहरूले तल्लो तहका जवान वा पदिकहरूलाई दिने आदेशमा श्लील शब्दको प्रयोग भएको कम नै सुनिन्छ ।

गाली व्यक्तिको मर्यादामाथि आघात पुुग्ने शब्दहरू हुन् । सायद त्यसैले होला गाली बेइजतीको मुद्धा पनि लाग्छ मुलुकी ऐन वा संहितामा । त्यो महलको व्यवस्था पनि छ । तर मान्छे गाली साहित्य रचेर अर्काको हुर्मत लिन छोड्दैन ।

गाली साहित्यमा थर, जात, लिङ्ग मात्र हुँदैन । भुगोल र रूप रङ्गसित जोडिएको हुन्छ । आफूलाई सम्भ्रान्त वा जात विशेषको अहङ्कारले ग्रस्त मानिस आफू बाहेक अरूलाई हेयको दृष्टिले हेर्छ । आफू सर्वगुण सम्पन्न भएको ठान्छ ।

गाली साहित्य साहित्यमा पनि प्रयुक्त हुन्छ । जसलाई आलोचना भनिन्छ । सायद साहित्यमा भएर होला त्यो शिष्ट र मर्यादित भने हुन्छ । कतिपय आलोचना यति निर्मम हुन्छन् कि लेखक समेत लेखन यात्राबाट पलायन हुन्छ । लेखकले कुनै ध्येय राखेर लेख्छ आलोचकले अर्कै भावमा ग्रहण गर्छ र आफ्नो विचार दृष्टिकोणको केन्द्रमा राखेर आलोचना गर्छ ।

केही दशक अघिसम्म विवाह उत्सवमा शिलोक भन्ने चलन थियो । एउटा विवाहमा एउटा श्लोक यसरी आयो –
गन्धर्वकी छोरी त तेरी आमा पूरा छ नाच गान बजाउनमा
…………
नाच्दामहा कुनसित जिप्टिएकी थिईस् तँ जन्मिस् त्यही वीर्यदेखि
…………
ढोलक लिई घाँटी महाँ भिरेर
बजाउँदै नाचन जा फिरेर ।

यो कुनै कविले रचना गरेको गाली साहित्य हो ।

लोक दोहोरीमा गाली साहित्यको प्रयोग प्रशस्त गरिएको हुन्छ । प्रतिस्पर्धिलाई होच्याउन, हराउन, थकाउन उसको उमेर, स्वर, सिर्जनामाथि प्रहार गरिएका कयौं गीतहरू छन् । गाली साहित्यको अधिक प्रयोग राजतीतिमा हुन्छ । विचार, दर्शन, सिद्धान्त र कार्यशैली फरक फरक भएपछि राजनीतिक नेता वा कार्यकर्ता गाली गलौजमा उत्रन्छन् । कुनै अमुक नेताको नाम किटेर कतिपय अपाच्य शब्दहरू जन्मन्छन् । सबैभन्दा धेरै प्रयोग हुने शब्द फलानो चोर देश छोड । भन्ने जस्ता शब्द अधिकाधिक सुनिने गर्छ । राजनीतिको छेउ टुप्पो नघुसेका कतिपय समर्थकहरू पनि फरक पार्टीप्रति असहिष्णु बन्दै गाली वर्षामा उत्रन्छन् । फरक विचार सिद्धान्तप्रति असहमत हुनु स्वाभाविक हो । एउटै दार्शनिक मान्यता भित्रपनि गाली सिद्धान्त अपनाउनु स्वाभाविक नहुनुपर्ने हो तर हुन्छ । हाम्रो कम्युनिस्ट आन्दोलनभित्र यो रोग धेरै हदसम्म प्रचलित भैरहेको छ । कार्यदिशाको लक्षण हेरेर मोहनविक्रम सिंहले ‘गद्दार पुष्पलाल’ भनेर पुस्तक नै लेखेका थिए । अहिले पनि मुलुकमा अस्तित्वमा कम्युनिस्ट पार्टीका नेता वा कार्यकर्ताले अर्को कम्युनिस्ट पार्टीका नेतालाई खुइल्याउन सबैभन्दा बढी प्रयोग गरिने साहित्यिक शब्द हो, गद्धार । एउटै विचार, सिद्धान्त अँगालेका पार्टीहरू वस्तुलाई बुझ्ने र व्याख्या गर्ने सन्दर्भमा फरक दृष्टिकोणको हुर्मत लिन गाली साहित्यको सिर्जना गर्छन् ।

गाली साहित्यमा प्रयोग भएका कतिपय शब्दहरू आपत्तिजनक छन् । यसै पनि पुरुष प्रधान समाज महिला मैत्री छैन । आफ्नै आमा, दिदी, बहिनी, छोरीहरूका हुर्मत लिने शब्दावलीलाई सदाको लागि निषेध गर्नु जरुरी छ । कसैलाई होच्याउने हीन भावना जगाउने शब्दहरू शब्दकोषबाटै हटाउन सके सुन्दर समाजको निर्माण हुन्थ्यो । अब हामी सबैको ध्यान यतातिर केन्द्रित हुनु पर्दछ ।
१ साउन २०७८, चितवन

प्रतिक्रिया

सम्बन्धित खवर