यी हाम्रा होइनन्
पटक्कै होइनन्
पराईकै इष्ट हुन
यी सय पटक,
हजार पटक
हामीले चिनेकै विष्ट हुन् !
उहिलै उहिलै
हाम्रा टाउकाहरू मुल्यवान थिए
किन कि-
हाम्रा टाउकाभित्र थियो
गह्रुङ्गो बिचार
त्यो गह्रुङ्गो टाउकाको मोल तोक्ने यिनै हुन्
यी हामीले मजाले चिनेकै विष्ट हुन् !
उहिले उहिले
गणतन्त्र ल्याउन भनेर
हामी बन्दूक बोकेर हिड्दा
हामी शाही सेनासँग भिड्दा
असक्षम भन्दा लात मार्दा पनि दरबारले
‘मौसुफका कोमल पाऊ
मेरो पत्थरजस्तो छात्तीमा बज्रदा
मौसुफलाई पीडा त भएन महाराज’ भन्दै
राजाको पाऊ सुम्सुम्याउने यिनै हुन्
नचिनेजस्तो नाटक कसैले नगरोस
यी गजवले चिनेकै विष्ट हुन् !
यी बिहान बिहान
दक्षिण फर्केर जय सीयाराम भन्छन्
अनि हरेक सूर्यास्तमा
पश्चिम फर्केर जयमसी भन्छन्
दोबाटेहरूलाई दोबाटोमै कुराएर
यी अर्कैलाई सपथ खुवाउँछन्
महाजनहरूलाई हँसाउछन्
तस्कर छौंडा नचाउँछन्
र गरीवहरूलाई रुवाउँछन्
जिब्रो नझिक्नुस
चिन्दिन नभन्नुस
नाटक नगर्नुस
यी चिनेकै विष्ट हुन् !
विष्ट फेरिएका हुन्
ब्यबस्था फेरिएको होइन
विष्ट पनि नयाँ होइनन्
सबैभन्दा थेत्तरा-थाङ्ना हुन्
पटके चोर जस्ता हुन्
भन्नलाई आफूलाई शेर हुँ भन्छन्
स्यालभन्दा सिल्पट छन्
बिरालोभन्दा लम्पट छन्
कुनै आश नगर्नुस
कुनै त्रास नलिनुस
पटक पटक
हाम्रा टाउकोमा गिर खेलेका
हामीले हिजो अस्ति पनि झेलेका
यी तपाई हामीले चिनेकै विष्ट हुन् !
२०७८/०४/१५
माइतीघर
 
 

प्रतिक्रिया

सम्बन्धित खवर