अहिले सबैको हात हातमा मोबाइल छ छिनको खबर छिनमै वारपार हुन्छ । इन्टरनेटको सुविधाले पूर्ण परिवारमा अनुहार हेरेर वार्तालाप हुन्छ । हाम्रो पुस्ताको मध्यकालसम्म चिठीका माध्यमले सम्वाद हुन्थ्यो । यसभन्दा अघिल्लो अन्धकार युग थियो । अड्डा अदालतबाट आएका चिठी पत्रहरू पढीवाँची सुनाउने मान्छेको कमी थियो ।
मेरो गाउँभन्दा पश्चिमपट्टी ठानेश्वाँर भन्ने दलित वस्ति छ । चार दशक अघिसम्म त्यस गाउँमा पढेलेखेका व्यक्तिहरू पाइन्नथ्यो । गाउँका केही युवाहरू भारतको दिल्ली, मुम्बई, कोलकत्ता वा अन्य शहरहरूमा जान्थे । परदेश गएका छोराहरू कुनै साथी मार्फत चिठी लेखेर पठाउँथे । ती धेरै चिठीहरू खोल्न पढ्न र जवाफ लेख्न म कहाँ आउँथे । उनीहरूका चिठी पढ्ने र घरतिरका समाचार, घरमाम्लोको पीडा उनीहरूको भाषामा करुण शब्दले म लेखिदिन्थेँ । चिठीका व्यवहार लेखिसकेर म वाचन गरिदिन्थेँ । सो लेखाउने मान्छे रुन्थ्यो । दुईचार वर्षसम्म परदेशमा भौंतारिएका युवाहरू चिठी पढेपछि घर फर्कन्थे । उक्त गाउँका कतिपय आमा बाहरू भन्ने गर्थे ‘मोदे माइलालाई चिठी लेखाए माया मारेको छोराहरू घर फर्कन्छन् ।’ एकपटक तान्द्राङ्को विद्यालयमा अध्यापन गराउँदै थिएँ । एउटी दिदी विद्यालयमा आएर गुनासो गरिन् । उनका श्रीमान् भारतको हैदरावादतिर जागिरे रहेछन् तर घरमा तीनवटा केटाकेटी छोडेर परदेशिएका उनी गएको पाँच वर्षदेखि वेखबर रहेछन् । दिदीका सबैकुरा सुनिसकेपछि अलिअलि भावना मिसाएर मैले चारपृष्ठ लामो चिठी लेखिदिएँ । दिदीले रजिष्ट्रि गरिन् । ला ! चिठी लेखेको एक महिना नपुग्दै ती परदेशी फर्किई पो हाले । उनले श्रीमतीसँग सोधेछन् यो चिठी कसले लेख्यो । आफूमाथि अनावश्यक शङ्का गरेकोमा दिदी डराइन् । लोग्नेले तारन्तार ताकेता गरेपछि उनले भनिछन् ‘माष्टरले लेखेका हुन् ।’ भोलिपल्ट दुवै दम्पत्ति मेरो कोठामा आए र ती परदेशीले भने– ‘बाबु हजुरले लेखेको चिठीले मलाइ घर सम्झायो यो एउटा सर्टको कपडा बाबुलाई ।’ आँखाबाट आँशु झार्दै उनले भने । मैले त्यो उनको उपहार लिन अस्वीकार गरें । पछि उनी हाम्रो सङ्गठनका कार्यकर्ता भए । उनकी जेठी छोरी माओवादी कलाकार बनिन र २०५५ जेठमा सहिद भइन् ।
मेरो जीवनमा चिठीसँग जोडिएका केही प्रसङ्गहरू छन् २०३२÷०३३ सालतिर म बुटवल बस्दथें । पत्रमित्रता त्यतिबेला मेरो रुचीको विषय थियो । अल्लारे उमेरमा कयौं साथीलाई पत्र लेखियो । आदान प्रदान पनि भयो र विस्तारै त्यो क्रम भङ्ग भयो ।
चिठीहरूको ऐतिहासिक महत्व हुन्छ । त्यो बेलाको भाषा, व्याकरण मात्र होइन घटनाहरूको जानकारी दिएको हुन्छ । कतिपय ऐतिहासिक चिठीहरू प्रकाशित भएका पनि छन् ।
म पुराना कागजहरू खोतल्दै जान्छु । एउटा चिठी थियो, जुन जागिरे जीवनमा बिर्सन नसकिने लौह किलो भएर बसेको छ । विषय हो जागिरे जीवनमा तालुकी अड्डाबाट आएको एउटा चिठी जसले १५ महिना जेलबस्ने मौका दियो ।
२०५८ सालको पुस महिना थियो । पुसे घाम मलिनु हुँदै आएको छ, घर पायकी जागिर हुनुको नाताले धान खेती भित्र्याएपछि आलु प्याज रोप्ने, गहुँ छर्ने कामको चापाचापमा पनि छु र अर्कोतिर सङ्कटकालका कारण सेना प्रहरीको घेरामा परिने र गिरफ्तारी हुने जग्जगी उत्तिकै छ । पुसको १५ गते एकोदर दाइको माइलो छोरो महीन्द्र मरहट्टाको छेवेटारको बगैंचामा संयुक्त सुरक्षा फोजले हत्या ग¥यो । त्यो घटनाले परिवारमा ठूलो हलचल ल्यायो । परिवार पुरा शोकमा डुवियो । परिवारमा दाइलाई केही दिन पहिले सुरक्षा सेनाले गिरफ्तार गरिसकेको थियो ।
माइलो छोराको अचानक हत्या भएपछि छिमेकीहरूले कृयाकर्मको विषय उठाए । त्यो बेलाको समाज कस्तो भइदियो भने विपद्को वेला समवेदना र सहानुभूति दिनुपर्ने परिवारमा डर, धम्की र दवाव दिन आए । एकाथरीको भनाई छ कृयाकर्म नगरे माओवादीको अभियोगमा छिमेकी र पुरोहित समेत पक्राउ पर्छन् । अर्कोथरिको भनाई आयो माओवादी भनेर मारेकाको किरिया गर्दा किन गरिस् भनेर फेरि पुलिस प्रशासनले अड्को थाप्छ । दवाब मलाई भन्दा भाउजूलाई बढी आउन थाल्यो । कृयाकर्म गर्ने नगर्नेको निर्णय मैले लिनु पथ्र्यो । कहिले काँही हामीले बेठिक मानेका दर्शनले पनि प्रगतिशील चरित्र निर्माण गर्न सहयोग पुग्दो रहेछ । मनुस्मृतिको व्यवहार निरूपण अध्यायमा आगोमा जलेको, खोलामा बगेको र युद्धमा मारिएकाहरूको अन्त्यकर्म नगर्दा पनि हुन्छ भनिएको छ । मैले त्यो उक्ति पढेर भाउजूलाई बुझाएँ । पुरोहित सित बहस गरें र उनलाई ठ्यौलाएँ ।
सुरक्षा सेनाको धरपकड र गिरफ्तारीले ओल्लो पल्लो गाउँ त्रस्त थियो । आस्थाका माओवादी सुरक्षित हुँदासम्म माओवादी छापामारहरूले शङ्काको आँखाले हेर्न थालेका थिए । सायद म दुवै फौजको घेरामा थिएँ । यस्तैमा पुस २७ गते छापामारहरूको एउटा दस्ता हाम्रो घरमा आइपुगे । उनीहरू छोरा महीन्द्रको सहादतमा समवेदना दिन र भेटघाटका लागि आएका थिए । त्यो टोलीमा मीना पनि आएकी थिइन् । तपाइँलाई न पक्रनुको कारण चिठी मार्फत् डाकिन लागेको रहेछ । छोरी मिनाले सूचना दिइन् । केही बेरको भेटपछि छापामारहरू उत्तरतिरको दलित वस्तितिर लागे ।
दुईदिनपछि माघे सक्रान्तीको दिन पाँच बजेतिर त्यो दस्ता हाम्रो घर हुँदै पूर्व जान आयो । छोरी मीनाले फेरि पनि भनिन–बा, अब भेट हुन्छ कि हुँदैन चिठी पाएपछि सुरक्षितसित गोरखा जानु होला । छोरीले यत्ति भनेर टोली लिएर गइन् । आमाहरू र बहिनीहरूले पहिरे खोलो नकाटुञ्जेल हेरी रहे ।
छापामारहरूको केही सुराक पाएपछि सुरक्षा फौजले पिछा गथ्र्यो । घर परिवार र समर्थकहरूमा आतङ्क छँदै थियो । साँझ पर्ने वित्तिकै ढ्याम्ढुम्म ढोका थुनेर मूर्दा शान्ति देखिन थालेको थियो । म खाना खाएर घरको पूर्वपट्टिको कोठामाथिको तलोमा छु । रातको दश बजेको छ । आँखा जागै छन् । कसो कसो आँखा पूर्व छोप्राकको डाँडोतिर पुगेको छ । झिलिक्क आगोको रातो उज्यालो देखियो । पछि बन्दुक पड्केको आवाज आयो । फेरी आगो फेरी आवाज चार राउण्डपछि आगो पनि आएन आवाज पनि आएन । रातभरि असल्टी रहें । भोली विहान ७ बजे पुष्प देवकोटाले अप्रिय खबर सुनाए– मीना जी सहिद हुनु भो । परिवारमा अर्को विपत्ति थपियो ।
त्यतिवेला दाइको जेठो छोरा रविन्द्र पनि गिरफ्तार परिसकेको छ । घरमा अपुष्ट जानकारी दिएर म निस्किएँ । छिमेकी कसैलाई पनि खबर गर्न मन लागेन । आधा घण्टाको पैदल दुरी पर कुलबहादुर विश्वकर्माको घर थियो । उनी संयुक्त जनमोर्चाका सक्रिय कार्यकर्ता र हाम्रो परिवारको बालीघरे आरनका साथी थिए । उनी र म मूलबाटो छल्दै घटनास्थल पुग्यौं । कोदाको नल काटिएको पाखे गह«ाको कुनामा एक मुठी मकैका ढोडले लाश झिल्सीएको अवस्थामा थियो । कुले दाइले नजिकैबाट कोदालो खोजेर ल्याए छोरीको लाशसँगै शङ्कर गुरुङको लाश पनि थियो । कुले दाइकै चिनजानका अरू तीनचार गाउँले आए जसोतसो खाडलमा पुरेर म घर फर्किएँ । घर पुग्ने वित्तिकै थाहा भयो हर्मी भन्ज्याङको अतिरिक्त हुलाकमा मेरो नाउँको रजिष्ट्रि चिठी आएको छ ।
हुलाक कार्यालयमा आइपुगेको रजिष्ट्रि चिठी मसम्म बुझाउन हुलाक कार्यालयमा नै अड्कियो । यस्को केही आन्तरिक कारण थियो । म जुन विद्यालयमा अध्यापन गर्थें सो समुदाय इतर माओवादीको थियो । वडाको चुनाव एमालेले जितेको भए पनि गाउँमा बोलावाला भने काङ्ग्रेस समर्थकहरू थिए । आफ्नो समुदायको कुनै शिक्षक पक्राउन सहयोग गरे अर्को खतराको त्राश थियो । तसर्थ मसम्म त्यो चिठि आइपुग्न ढिला भयो ।
माघ ३ गते म विद्यालय गएँ । दिउँसो २ बजेतिर ५÷७ जना अभिभावकहरू विद्यालय आए । एकछिनपछि स्वास्थ्थ कार्यालयका सहयोगी कार्यकर्ता मार्फत् हुुलाकले चिठी मलाई बुझायो । बाहिरी खाममा जिल्ला शिक्षा कार्यालयको नाम, छाप, मेरो नाम र विद्यालयको ठेगाना थियो । मैले चिठी खोलेर हेरेँ । व्यहोरा यस्तो थियो–
शिक्षक श्री मोदनाथ मरहट्टा
लक्ष्मी नारायण प्रा.वि. हर्मी– ६, गोरखा
विषयः हाजिर हुन आउने बारे ।
मुलुकको अवस्थाबारे तपाइसँग केही कुरा बुझ्नु पर्ने भएकोले पत्र पाएको मितिदेखि बाटोको म्याद बाहेक तीन दिनभित्र जि.प्र.का गोरखामा हाजिर हुन आउनु होला ।
बोधार्थ
जि.प्र.का. गोरखा
ज्ञानी यादव
जिल्ला शिक्षा अधिकारी
विद्यालयमा उपस्थित केही महानुभावहरूको मुख मुद्रा उज्यालो भयो भने केहीको अँधेरियो । उनीहरू उजेलिनु अँध्येरिनुमा आश र त्राश दुवै थियो । चिठी पाएपछि मैले आफूलाई दृढ बनाएँ । यो मेरो निमित्त पक्राउ पूर्जी हो र हिरासतमा दिइने शारीरिक मानसिक यातनाको चित्र २०५२ फागुनमै लिइसकेकोले मन बलियो पारें । निस्कने बेला छोरीहरू बेस्सरी रोए । अब घरमा मात्र होइन सिङ्गो गाउँमा अभिभावक छैनन् । खाना खाएर म निस्किएँ । विद्यालयको चौरमा आज पनि केही अभिभावक छन् । म पर्खाल बाहिर केही बेर उभिएँ । एक जना पाका अभिभावकले मुख फोरे ‘बाँच्ने मन भए आत्म समर्पण गर्नु ।’ सायद कोही मेरो मृत्युको कामना गर्दै छन् ।
म डोरिँदै बाघको खोरमा जाँदैछु । सम्भावित त्राशले मन ढक्क फुल्छ । परिवारको आँखाको आँशु सम्झन्छु आँखा बर्सन्छन् । छोरा छोरीको विभत्स लाश देख्छु आक्रोश छचल्किन्छ । माघ महिनाको त्यो चिसो दिन, तर म गर्मीको अनुभव गर्छु । पस्लाङको सालघारीको उकालो उक्लिँदै रहँदा एक्लै चिच्याउन मन लाग्छ । बाटोमा सुरक्षा फौज भेटिए सदरमुकाम नपुगिने त्राश पनि उत्तिकै छ । खल्तिको चिठी उनीहरूका लागि आतङ्ककारीको प्रमाण हुन सक्छ । जीउ विसाउँदै हिँड्दै म सदरमुकाम पुगें । म शिक्षा कार्यालय जाउँ कि प्रहरी कार्यालय दोमन भएँ । तालुकी अड्डालाई सूचना नदिइ जि.प्र.का जान मन मानेन । जि.शि.अ. कतै बैठकतिर गएछन् । शिक्षा शाखाका एक शुभ चिन्तकले भने– सरहरू एघार जनालाई पत्र लेखेको छ आज कतै सुरक्षित बस्नुस् भोली यहीँबाट गिरफ्तारी दिनुस् ।
त्यती बेला सदरमुकामका होटलमा बास पाउन गाह«ो थियो । वोर्लाङ्ग गा.वि.स. अध्यक्षको होटलमा झोला फालेको थिएँ । उनी नेकपा (एमाले) जिल्ला सेक्रेटरीका भाइ पनि हुन् । त्यो रात त्यहीँ रहने निधो भयो ।
विहान एकछिन श्री एकता पाक्षिकको कार्यालय पसें । म त्यो पत्रिकाको स्तम्भकार पनि थिएँ । त्यहाँ चर्चा चल्यो शिक्षक सङ्गठनका जिल्ला तहका माओवादी निकट नेताहरूलाई एमालेकै आग्रहमा चिठी काटिएको रहेछ । र, के पनि जानकारी आयो भने माओवादी समर्थकहरूलाई क ख ग श्रेणीमा राखिएको छ ।
क = हतियार सहितको ठाउँको ठाउँ सिध्याउने
ख = आत्मसमर्पण गराउने वा जेलमा सडाउने
ग = आत्म समर्पण गराई एमाले समर्थक बनाउने
सम्पादकले भने– ‘तपाईं ख श्रेणीको पर्नु भो’ दश बजेपछि म जि.शि.का पुगें । जि.शि.अ. को कार्यकक्षमा बस्दै गर्दा एक जना सिभिलले आएर सोधे ‘मोदनाथ को हो ?’
म जुरुक्क उठें र बाहिर निस्किएँ । दुवै हातमा हत्कडी लगाइयो । आँखामा पट्टि बाँधेर आलुको बोरा फालेझैं गाडिमा फालियो । दिनभर गाडी घुम्यो र पाँच बजे जि.प्र.का.मा पुगें । पन्ध्र दिनको कष्टकर हिरासत बसाइपछि कारागार पुगें । यसरी तालुके चिठीले जेल पु¥यो ।
पुराना कागज वल्टाइ पल्टाइ हेर्छु तर त्यो चिठी कतै भेटिँदैन ।
































