गीता बञ्जाडेको मृत्यु र निरोको बाँसुरी

संस्मरण

प्रकाशित मिति : २०७८ असार २६

-  घननाथ सापकोटा बिकास

२०७८ वैशाख २५ शनिबारको दिन । बिहान साढे पाँच बजे नै फोनको घण्टी बज्यो । म उठिसकेको थिइनँ । एकाबिहानै फोन आउँदा यो पक्कै कुनै जटिल विषय वा दु:खद समाचार पनि हुनसक्छ भन्ने अनुमान गर्न गाह्रो थिएन । मोबाइल हेरेँ, अम्बिका मुडभरीको कल रहेछ । फोन उठाएँ । उहाँले भन्नुभयो ‘दाइ मैले अलिक दु:खद खबर जानकारी गराउन लागेँ । दाङ जिल्ला सेक्रेटरी नरेन्द्र बञ्जाडेको जीवनसङ्गिनी गिता बन्जाडेको कोरोना सङ्क्रमणका कारण राति एक बजे पुरानो मेडिकल कलेजमा मृत्यु भएछ । नरेन्द्रजी एक्लै हुनुहुन्छ, अस्पताल पुग्नुपर्ने भयो’ भनेर जानकारी गराउनु भयो । यो खबरले दु:खित त बनायो नै अब के गर्ने भन्नेमा म अलमलमा परेँ । देशभर निषेधाज्ञा लगाएको छ । प्रशासनले बाहिर निस्कन दिदैन । अब के गर्ने भनेर मैले अम्बिकाजीलाई सोधेँ, ‘कसरी आउने ?’ त्यसपछि उहाँले प्रमुख जिल्ला अधिकारीलाई आफुले फोन गरिसकेको र सीमित व्यक्तिलाई त्यहाँ सहयोग गर्न जाँदा अवरोध नगर्ने जानकारी गराउनु भयो । म ७ बजे घरबाट हिँडेर साढे सात बजे पुरानो मेडिकल कलेज भरतपुर पुगेँ ।

यो बिचमा मलाई लुम्बिनी प्रदेशका इन्चार्ज एवम् पोलिट्ब्युरो सदस्य प्रेम सुवेदीले सहयोग र सहजीकरणका लागि फोन गर्नु भएको थियो । त्यस्तै फोन ७ न. प्रदेश इन्चार्ज क.अनुकूलको पनि आएको थियो । ३ न. प्रदेश इन्चार्ज दीनेश शर्माले सक्दो सहयोग गर्ने र कुनै कसर बाँकी नराख्न निर्देशन गर्नु भयो । महासचिव कमरेडलाई पनि फोन गरेर हाम्रो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएँ ।

मैले जिल्ला सेक्रेटरी अशोक शर्मालाई फोन गरेँ, उहाँको फोन उठेन । पछि उहाँले नै फोन गर्नु भयो । मैले घटनाको विषय यथार्थ जानकारी गराएपछि उहाँ तुरुन्तै मेडिकल कलेज आउनु भयो । पार्टी जिल्ला सदस्य गोपाल भट्टराई र जिल्ला कार्यालय सदस्य सुरेस गौतमलाई पनि खबर गरियो । उहाँहरू पनि जानकारी हुनासाथ तुरुन्तै आइपुग्नु भयो । अस्पताल पुग्नासाथ नरेन्द्र कमरेडलाई शान्त्वना दियौँ । बाहिर चिया पसलमा गएर हामी दुवैजनाले कागती राखेको कालो चिया पियौँ । उहाँले प्रेसरको औषधी खानु हुँदो रहेछ । घटनाको पीडा र चिन्ताका कारण बिर्सनु भएको रहेछ । मैले सम्झाएर औषधी किनेर खुवाएँ । कमरेड अम्बिका मुडभरी पहिल्यै आइपुग्नु भएको थियो । बिरामीलाई अस्पताल भर्ना गर्ने, आइसियुको बेड खोज्ने, मृत्यु भइसकेपछि गर्नुपर्ने काममा पहल तथा सहजीकरण सक्रियतापूर्वक गरिरहनु भएको थियो । प्रदेश न.४ का इन्चार्ज कमरेड अटल पनि आइपुग्नु भयो । नेतृत्वको उपस्थितिले अलिक ढुक्क महसुस भयो । नरेन्द्रजीको कान्छो छोरो हिमाल दिउँसो करिब एक बजे आइपुग्नु भयो । हामीले दाहसंस्कारको छलफल गर्‍यौँ ।

अस्पतालमा हामीलाई लास छुन र हेर्न दिँदोरहेनछ । कुरो बुझ्दा कोरोना भाइरसबाट मृत्यु भएको लास विसर्जन गर्ने ठाउँ बागेश्वरी नजिकै नारायणी नदी किनार रहेछ । जिल्ला प्रशासनको आयोजनामा सेनाको एउटा टिमले घाटसम्म मृत शरीर पुर्‍याइ दिने र त्यो बापत २८,०००/– (अठ्ठाइस हजार) रुपैयाँ लिने रहेछ । उसले पुर्‍याई मात्र दिने र बाँकी काम हामी आफैंले गर्नु पर्ने रहेछ । त्यही पनि तीन बजे पछि मात्रै गर्ने रहेछ । अर्को एउटा टोली रहेछ जसले बत्तीस हजारमा गर्दो रहेछ । अम्बिकाजीले कुरा गरेपछि एकतीस हजारमा कुरा मिल्यो । हामीले दोस्रो विकल्प रोज्यौँ ।

कमरेड गीता बाहेक अरू पनि दुईटा लास बोकेर गाडी आइपुग्यो । हामी आफ्नै साधनमा पुग्यौँ । चिता पहिल्यै बनाएर राखेका रहेछन् । चितामा लास राखिदिए । त्यहाँका मजदुरहरूले अब तपाईंहरूले गर्नुपर्ने काम गर्नोस् भनेपछि हामीले छोटो औपचारिक श्रद्धाञ्जली कार्यक्रम गर्‍यौँ । जसको सञ्चालन मैले गरेँ । मृतक कमरेड गीता नेकपा (क्रान्तिकारी माओवादी) को पार्टी सदस्य र अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी)को जिल्ला सदस्य हुनुहुँदो रहेछ । पोलिट ब्युरोका वरिष्ठ सदस्य क.अटलले हँसिया हथौड़ा अङ्कित रक्तरञ्जित झण्डा ओढाउनु भयो । एक मिनेट मौन धारण सहित फुल अबिरले अन्तिम श्रद्धाञ्जली अर्पण गरियो । उहाँको जिवनी र राजनीतिक योगदानका बारेमा उहाँका जिवनसाथी तथा दाङ जिल्लाका सेक्रेटरी नरेन्द्र बञ्जाडेले प्रकाश पार्नु भयो । अनेम सङघ (क्रान्तिकारी) की केन्द्रीय अध्यक्ष क.अम्बिका मुडभरीले उहाँको पार्टी जीवन र महिला आन्दोलनमा योगदानको चर्चा गर्नु भयो । अन्तिममा क. अटलले आफ्नो गहन विचार सहित श्रद्धाञ्जली व्यक्त गर्नु भयो । उहाँको कान्छो छोरा हिमालले दागबत्ती दिनु भयो ।
कमरेड गीता बञ्जाडेको सङ्क्षिप्त परिचय :
नाम : गीता बञ्जाडे ।
आमा/बुबा : सुमादेवी/रुद्रबहादुर थापा ।
विवाह : नरेन्द्र बञ्जाडेसँग २०४६ फाल्गुन ।
ठेगाना : घोराही ३, गौग्ली, दाङ ।
छोराछोरी : तीन जना; भुवन, हिमाल र कोपिला ।
बुहारीहरू : निरुता र सिर्जना ।
राजनीतिक जीवन : २०६८ मा पार्टी सदस्य, नेकपा (क्रान्तिकारी माओवादी) को सदस्य, अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) को जिल्ला सदस्य ।
घाटको दृश्य : कोरोना सङ्क्रमणका कारण मृत्यु भएको लास व्यवस्थापन गर्ने/जलाउने मजदुरको मुखमा मास्क थिएन, हातमा पञ्जा थिएन । सेनिटाइजर साबुन पनि थिएन । पिपिइको त कुरै नगरौँ । उनीहरू सामान्य अवस्थामा काम गरिरहेका थिए । यसो गर्नु नगर्नु भनेर हामीलाई पनि कसैले केही भनेनन्, कुनै छेकथुन थिएन ।

सरकारको दायित्व : कोरोनाको उपचार निशुल्क भनिएता पनि चर्को शुल्क असुलेको देखियो । चितवनको पुरानो मेडिकल कलेजले पिसिआर जाँचको २२००/– लियो । लासलाई घाटसम्म पुर्‍याउन ३२,०००/– लिने गरेको देखियो । श्रमिक/मजदुर, सुकुम्बासी गरिब जनताले त्यत्रो खर्चको जोहो कसरी गर्ने ? झन् बिरामी पर्दा यति महङ्गो उपचार गरेर कसरी बाँच्ने ? सरकारले जनताको निशुल्क उपचार पाउने मौलिक हकको प्रत्याभूति गराउन भन्दा पनि संसदीय दलहरू सरकार गिराउने र कब्जा गर्ने खेलमा लागेका छन् । उनीहरूलाई जनताको जिउधनको कुनै मतलब छैन । शासकहरू भ्रष्टाचार गर्ने र सत्ताको खेलमा रमाउने, जनता मरिरहने । रोम जलि रहेको छ निरो बाँसुरी बजाई रहेको छ ।