स्मृतिमा श्याम दाइ

स्मृतिमा श्याम दाइ

नसोचेकै समयमा श्याम दाइलाई हामीले गुमाउनु प¥यो । हाम्रो नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)का पोलिटब्युरो सदस्य श्रीनाथ अधिकारी कमरेड श्याम फोक्सोमा भएको क्यान्सरको रोगबाट पीडित भएर हाम्राबिचबाट सदाका लागि विदा हुनुभयो । बुटवलमा भएको पार्टीको केन्द्रीय समितिको बैठकमा दुई÷तीन दिन हामी एकैसाथ बसेका थियौँ । उहाँसँगको एकसाथको बसाई यो नै मेरालागि अन्तिम भयो । यस अघि त जनयुद्धकालदेखि बुटवल अगाडिका बैठकहरू, सम्मेलन, विभिन्न कार्यक्रम र अभियानहरूमा हामी एकसाथ विताएका धेरै रात र दिनहरू छन् । सँगै बसाईका क्रममा होस् या त फोनसम्वादमा होस् हाम्राबिचमा पार्टी, आन्दोलन, नेता कार्यकर्ताहरूको वैचारिक स्तर आदि विषयमा कसरी गति दिन सकिएला भन्ने विषयमा निकै गम्भीर छलफल भएका हुन्थे । बुटवलको बसाईमा पनि तिनै विषयमा छलफल भएको थियो । त्यहाँ बैठक चल्दाचल्दै दाइ अचानक विरामी पर्नुभयो । बुटवल अस्पतालमा लैजाँदा निमोनियाको सिकायत गरेपछि सामान्य औषधी गरेर फर्कनुभयो । केन्द्रीय समितिको बैठक सकिएपछि हामी सबै विदा भयौँ । दाइ आफ्नो छोरा तथा हाम्रो पार्टीका केन्द्रीय सदस्य कमरेड नारायण अधिकारीका साथमा पोखरा फर्कनुभयो । त्यहाँ पुगेपछि उहाँलाई बिमारले अलि साह«ो गलाएछ । मणिपाल अस्पतामा देखाउँदा फोक्सोको क्यान्सर सिकायत गरेपछि चितवनको क्यानसर अस्पतालमा भर्ना हुनभयो । त्यहाँ उपचार गर्दै, काठमाण्डौँमा उपचार गर्न आउनुभयो । अन्त्यमा उपचारकै क्रममा काठमाण्डौमा उहाँको निधन हुन गयो । क्यान्सरलाई जित्न सक्नुभएन । हामीबाट सदाका लागि विदा भएर जानुभयो । यसरी हामीले श्याम दाइलाई गुमायौँ । एउटा आदर्शपुरुष, त्यागी र निष्ठावान व्यक्ति नेपालको कम्युनिस्ट आन्दोलनले नै गुमायो ।

श्याम दाइ नेपालको कम्युनिस्ट आन्दोलनमा सर्वहारा वर्गीय आदर्श, निष्ठा र त्यागका साथ समर्पित भएका बिरलै नेताहरूमा पर्नुहुन्थ्यो । विचारमा दृढ र दरिलो खम्बा हुनुहुन्थ्यो श्याम दाइ । व्यवहार भने उहाँको निकै सरल र सहृदयी थियो, आफ्ना अनुयायीहरू तथा कार्यकर्ता पङ्क्तिमा । उहाँ धेरै दुःख, कष्ट र अभावपूर्ण जीवनलाई पनि सहज र शालिनतापूर्वक व्यवस्थापन गर्ने कुशल र क्रान्तिकारी व्यक्तित्व हुनुहुन्थ्यो । लाभ र अवसरका पछाडि उहाँ कहिल्यै पनि कुद्नु भएन । अविचल योद्धा, आस्थाका सतिसाल र कर्तब्यप्रति सँधै इमान्दारितापूर्वक खट्ने उहाँको स्वभाव थियो । उहाँबाट हामी दोस्रो पुस्ताका कार्यकर्ताहरूले सिक्नु पर्ने गुणहरू धेरै छन् । कति सिक्छौँ त्यो हामी बाँचेकाहरूमा भर पर्ने कुरा हो ।

हामी दुईका बिचमा एकापसमा नजिकबाट परिचय २०६० पछि मात्रै भएको हो । फाट्टफुट्ट भेटघाट र छलफल भएता पनि हाम्रो सहकार्य धेरै हुन पाएन । यद्यपि हामी एउटै केन्द्रीय समितिमा २०६९ चैतदेखि थियौँ, तापनि हाम्रो कार्यक्षेत्र फरक भएकाले नजिकबाट दैनन्दिनका व्यवहार धेरै बुभ्mने अवसर भने मिलेको थिएन । हामी केन्द्रीय समितिका हरेक बैठकहरू र केन्द्रीय स्तरका कार्यक्रमहरूमा भने निकै गम्भीर छलफल र बहस गथ्र्यौं । यस्ता भेटघाटहरूमा हामी अक्सर सँगसँगै बस्ने गथ्र्यौं । विशेषतः हाम्रा बिचमा जनयुद्धको बाँकी कार्यभार कसरी पूरा गर्न सकिन्छ र अबको क्रान्तिमा नेतृत्वको विकास गर्ने कुरा अनि क्रान्तिमा जनसहभागिता व्यापक बनाउने कुरामा हाम्राबिचमा गम्भीर छलफल हुने गथ्र्यो ।

सादा जीवन र उच्च विचार भन्ने कुरा कम्युनिस्ट आन्दोलनमा लागेका अधिकांस नेता कार्यकर्ताहरूले आफ्नो आदर्श भएको बताउने गर्छन् । परन्तु यो अधिकांसका लागि ‘यो त सब भन्ने कुरा न हो…’ भन्ने गीत जस्तै थेगो हुने गरेको छ । तर श्याम दाइका हकमा भने यो भन्ने कुरा मात्र नभई उहाँको जीवनमा लागू भएको कुरा थियो । उहाँलाई तडकभडकपूर्ण जीवनमा रहेको मैले कहिल्यै देखिन । त्यसैगरी उहाँमा म त उच्च तहको नेता भन्ने घमण्ड पनि थिएन । सबैभन्दा तल्लो तहमा जिम्मेवारी लिएका कार्यकर्ता र आफ्ना समकक्षीहरू सबैसँग समान व्यवहार गर्ने उहाँको राम्रो विशेषता थियो । एक पटक तमुवान राज्यको जनसांस्कृतिक महासङ्घको प्रथम भेला पोखरामा थियो । म महासङघको केन्द्रीय कोषाध्यक्ष र पश्चिम कमानको इञ्चार्ज थिएँ । उहाँ त्यतिवेला पार्टीको सिसिएम र तमुवान राज्यको सहइञ्चार्ज हुनुहुन्थ्यो । कार्यक्रममा कास्की जिल्ला इञ्चार्ज झलकपाणि तिवारीले श्याम दाइलाई प्रमुख अतिथि बनाउन आयोजकहरूलाई दवाव दिएका थिए । आयोजक साथीहरूले के गरौँ सर भन्दै मलाई सोधे । मैले पार्टीको शीर्ष नेता आइसकेपछि उहाँलाई नै बनाउनुहोस् किनकि जनवर्गीय सङ्गठन भनेका पार्टीका भतृसङ्गठन हुन्, पार्टी नै ठूलो हुन्छ भनेर जवाफ दिएँ । तर श्याम दाइले मान्नु भएन । उहाँले ‘हरेक जनसङ्गठनहरूको आआफ्नै स्वत्व हुन्छ, जहाँ पनि पार्टीले हस्तक्षेप गरेको राम्रो होइन । तसर्थ म होइन दुःखीजीलाई नै प्रमुख अतिथि बनाउनु पर्छ’ भनेर भन्नुभयो । मलाई अप्ठ्यारो लागिरहेको थियो, पार्टीमा आपूmभन्दा सिनियर नेतालाई अतिथि मात्रै बनाएर आपूm प्रमुख अतिथि बन्दा । उहाँले भन्नुभयो, ‘हेर्नुस् सांस्कृतिक क्षेत्रमा दुःखीजी नै अगुवा हो । आज सांस्कृतिक आन्दोलन, साहित्य कलाका बारेमा उहाँका कुरा सुन्नुपर्छ ।’ पछि म बोल्ने क्रममा तिवारीजी के काम छ भन्दै बाहिर निस्कए तर उहाँ कार्यक्रम अवधिभर बस्नुभयो । भेला सम्पन्न भयो र हामी छुट्टियौँ । त्यसवेलादेखि श्याम दाइप्रतिको मेरो आस्था अझ बढि गाढा भयो । वर्गीय विचारअनुसारका निर्णयहरूमा दह«ो अडान लिने तर व्यवहारमा लचक हुने उहाँको अर्को विशेषता थियो । जनतामा जाँदा आफ्ना कुरा र विचारप्रति आकर्षित गर्न सक्ने क्षमता पनि श्याम दाइमा थियो । पञ्चायतकालदेखि नै पार्टीमा पूर्णकालिन समय दिएर लाग्नुभएका श्यामले आफैँले सङ्गठित गरेर अगाडि बढाएकाहरूलाई पार्टीको माथिल्लो जिमेवारी दिँदा पनि उहाँले बिनाहिचक उसको मातहतमा रहेर आफ्नो जिम्मेवारीलाई कुशलतापूर्वक सम्पन्न गर्नुहुन्थ्यो । म माथिल्लो तहमा जान पाइन भन्ने गुनासो उहाँले गरेको मैले कहिल्यै थाहा पाएन ।

मृत्युलाई जित्नेहरूले नै संसारमा विजय प्राप्त गर्न सक्छन् । मृत्युलाई जित्नुको सोझो अर्थमा भौतिक रूपले कहिल्यै नमर्नु भनेको होइन । भौतिक शरीर जीवनको एउटा चक्र पार गरेपछि विलय हुनु भौतिक (प्राकृतिक) नियम नै हो । कमरेड श्याम एक न एक दिन भौतिक रूपले शरीरको अवसानमा त जानुहुन्थ्यो नै । किनकि मानिस जन्मिएपछि मर्नु स्वाभाविक थियो । तर श्याम दाइको मृत्यु केही वर्ष अगाडि नै हुन पुग्यो । नेपालको क्रान्तिकारी आन्दोलनका निम्ति पनि उहाँ अझै केही वर्ष बाँच्नै पर्ने नेता हुनुहुन्थ्यो । तर कष्टसाध्य महारोग क्यान्सरले उहाँलाई हामीबाट छिटै नै चुँडेर लग्यो ।

राजनीतिको सुरुआत नेपाली काङ्ग्रेसबाट गरेता पनि जब उहाँ चितवनका डि.आर.पोखरेलमार्फत् नेपालको क्रान्तिकारी र मुलधारको कम्युनिस्ट पार्टीमा जोडिनुभयो तबदेखि नै उहाँ निरन्तर क्रान्तिकारी तथा अग्रगामी धारामै रहेर आफ्नो अमूल्य योगदान दिइरहनु भयो । चौथो महाधिवेशनकालदेखि चलेका पार्टीभित्रका अन्तरसङ्घर्षहरूमा उहाँ निरन्तर क्रान्तिकारी धाराका पक्षमा खरो उत्रनुभयो । आपूmलाई लागेपछि क्रान्तिकारी नेतृत्वप्रति श्रद्धाभावका साथ लागिरहनु उहाँको विशेषता थियो । हरेक मानिसका सवल र दुर्वल गुण हुन्छन् । नेतृत्वलाई एकको दुईमा विभाजन गरेर हेनुपर्ने द्वन्द्ववादी मान्यतामा उहाँ अलि उदार भएको मलाई महसुस हुन्थ्यो । यो उहाँको कमजोरी हो भन्ने मलाई लाग्छ । यो कुरा जनयुद्धकालमा भएको चर्चित चुनवाङ बैठकले पुष्टि गर्छ । किनकि चुनवाङ बैठकमा उहाँ जस्ता पाका र पुराना नेताहरूले प्रचण्ड–बाबुराम मण्डलीको लोकतान्त्रिक गणतन्त्रको संसदवादी विचारलाई अन्धसमर्थन गर्नु ठिक थिएन । जनयुद्धको थालनीपछि मात्रै केन्द्रीय समिति र माथिल्लै नेतृत्वमा पुगेकै भएपनि युवापङ्क्तिमा पार्टीभित्रका वैचारिक अन्तरसङ्घर्ष बुभ्mनसक्ने र जोडतोडले बहस गर्न सक्ने हैसियतका थिएनन् भन्ने मलाई लाग्छ । परन्तु श्याम दाई जनयुद्धपछि नै केन्द्रीय समितिमा पुगे पनि चौथो महाधिवेशनकालमा मोहनविक्रम सिंह, निर्मल लामा प्रचण्डकै पनि नेतृत्वमा आगमन जस्ता अन्तरसङ्घर्ष बुझेका नेताले सैद्धान्तिक रूपमा लोकतान्त्रिक गणतन्त्रको संसोधनवादी लाइन बुभ्mन र त्यसका विरुद्ध चिरफार गरेर बहस गर्न नसक्नु नेतृत्वप्रतिको अतिविश्वासकै कमजोरी हो भन्ने लाग्छ । यद्यपि जनयुद्धकालमा प्रचण्डका विरुद्धमा वैचारिक वहस गर्नु भनेको भकभकी उम्लिएको पानीको कराहीमा टाउको चोवल्नु नै हुन्थ्यो ।

प्रचण्डसँग बैचारिक रूपले बहसमा पौँठेजोरी खेल्न सक्ने नेता मोहन वैद्य र सिपि गजुरेल मात्रै हुनुहुन्थ्यो । उहाँहरू जनयुद्धको उत्कर्षका समयमा भारतीय जेलमा कैद हुन पुग्नुभयो । यो गिरफ्तारीले बाबुरामलाई आफ्नो बुर्जुवा गणतन्त्रवादी लाइनमा प्रचण्डलाई छिराउने सुनौलो अवसर मिल्यो भने प्रचण्डलाई तीव्र सत्तालिप्साका कारण जनयुद्धको सेफल्याण्ड गर्ने कोशेढुङ्गा बन्यो । जनयुद्धकालका युवा पङ्क्तिका नेताहरू त सबै प्रचण्डका अन्धभक्त नै थिए तर कमरेड श्याम, देव गुरुङ्, चन्द्रहरी सुवेदी, हरिभक्त कँडेल, वादल, नारायण शर्मा, पम्फा भुसाल, इन्द्रमोहन सिग्देललगायतका प्रचण्डका समकालिन पुराना नेताहरूले वैचारिक वहस गरेर प्रचण्डको संसोधनवादी लाइनको बेलैमा चिरफार गर्न नसक्नु कमजोरी थियो । जब किरण र गौरव भारतीय जेलबाट छुटेर आउनुभयो तबदेखि नै पार्टीमा संसोधनवादी लाइनका विरुद्धमा बहसको उठान भयो र त्यसले विद्रोहको झण्डा उठाउने हिम्मत ग¥यो । जहाँ हामी फिल्डका हजारौँ युवाहरूले साथ दियौँ । यसरी भक्तपुरको खरिपाटीमा भएको पार्टीको छैठौँ विस्तारित बैठकदेखि पार्टीमा विधिवत रूपले दुइलाईन सङ्घर्ष चर्कियो । त्यसपछि गोरखाको पालुङटार हुँदै २०६९ असार २–५मा भएको काठमाडौंको वौद्ध भेलामा आउँदा हामी सबै क्रान्तिकारी धारामा सामेल भयौँ । त्यसपछि कमरेड श्यमसँग हाम्रो निकटता र सहकार्य बढ्दै गयो ।

जनयुद्धकालमा धेरै नेता कार्यकर्ताहरूले परिवारलाई पार्टीकरण गरेका थिए । कमरेड श्यामले पनि आफ्नो सम्पूर्ण परिवारलाई पार्टीकरण गरेर जनयुद्धमा सामेल गराउनु भएको थियो । अधिकांश पुराना नेताहरूले आफ्ना श्रीमतीहरूलाई आपूmसँगसँगै हिँडालेर आफ्ना पारिवारिक सहयोगी मात्रै बनाएका थिए । तर कमरेड श्यामले जनयुद्धमा त्यसो गर्नु भएको थिएन । परिवारका सबै सदस्यले आआफ्नै क्षमताअनुसारका जिम्मेवारीमा कृयाशील रहेर काम गर्ने वातावरण मिलाउनु भएको थियो । यो उहाँको त्याग थियो । शान्ति प्रकृयापछि जब पार्टी सरकार, संसद र विभिन्न संसदीय निकायमा पुग्यो तव युवा र पुराना पुस्ताका अधिकांश नेताहरू लाभका पदमा आसिन भए । तथापि कमरेड श्यामले त्यसको लालचमा फस्नु भएन र नेताको चाकडि पनि गर्नु भएन । परिवारका सबै सदस्यले निकै दुःखकष्ट व्यहोरेर दैनिक गुजारा गर्दै पार्टीमा निरन्तर कृयाशील भइरहे । यो श्याम दाइको महानता थियो । क्षणिक लाभ र स्वार्थका कारण वर्गीय निष्ठाको राजनीतिलाई बन्धकी राख्नु भएन । अन्त्यमा अस्पतालको बेडमा मृत्युसँग लड्दा पनि उच्च साहसका साथ हामी युवा पुस्तालाई हौसल्याएर नै मृत्युबरण गर्नुभयो । कमरेड श्यामप्रति दह्राे मुट्ठी कस्दै गर्विलो लालसलाम टक्र्याउँदै उहाँप्रति सम्झनाको लेखोटको विट मार्दछु ।
१५ वैशाख, २०७८ घट्टेकुलो