पाल्पाको रानीमहल लगातारको वर्षाका कारण उच्च जोखिममा

प्रकाशित मिति : २०७८ असार ३


असार ३ पाल्पा ।
लगातारको वर्षाले प्रेमको प्रतीक रानीमहल जोखिममा परेको छ । बराङ्दी खोला, गाईघाट खोला र कालीगण्डकी नदीमा आएको बाढीले रानीमहल जोखिममा परेको बगनासकाली गाउँपालिका अध्यक्ष कृष्ण बस्यालले बताए । ‘कालीगण्डकीको तटमा रहेको रानीमहललाई दुईतिरबाट पानीको बहावले घेरेको छ,’ बस्यालले भने, ‘माथिबाट पहिरोको जोखिम पनि उस्तै छ ।’ रानीमहललाई तीनतिरबाट पानीको बहावले हानेको छ ।
बाढीका कारण एक दर्जन होटेल तथा रिसोर्ट र इको पार्क जलमग्न भएको स्थानीय वसन्त कुँवरले बताए । पानीको बहाव बढिरहेकोले जोखिम कायम रहेको जिल्ला प्रहरी कार्यालय, पाल्पाका सूचना अधिकारी डिएसपी रामेश्वर त्वातीले जानकारी दिए ।
वि.सं. १९४९ मा रानी तेजकुमारीको मृत्यु भएपछि पागलजस्तै भएका खड्गशमशेरले उनकै सम्झनामा रानीमहल निर्माण गरेका हुन । कालीगण्डकीबाटै जग उठाएर यो दरबारको निर्माण गरिएको छ ।
राणा खड्गशमशेर र रानी तेजकुमारीको अमर प्रेमबारे चर्चा गर्ने र उनीहरूको जस्तो प्रेम दिगो रहोस् भन्ने कामना गर्न धेरै मानिसहरू त्यहाँ पुग्ने गरेका छन् । प्रेम दिवसको अवसरमा दरबारलाई साक्षी राखेर प्रतीक्षा गर्नेहरूको भिड लाग्ने गर्छ ।