लमजुङ दोर्दीका १४ घर बाढीले बगायो

लमजुङ दोर्दीका १४ घर बाढीले बगायो


असार २ लमजुङ ।
सोमबारदेखि निरन्तर वर्षासँगै आएको बाढीले लमजुङका विभिन्न ठाउँमा क्षति पुराएको छ । बाढीले मर्स्याङदी गाउँपालिका र दोर्दी गाउँपालिकामा बढी नोक्सान पुर्‍याएको लमजुङका प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलले बताए ।
उनले भने– ’मर्स्याङदी नदी र दोर्दी खोलामा पानीको बहाब बढेकाले नदी किनारका घरहरु उच्च जोखिममा छन् ।’ जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी प्रमुख डिएसपी गंगाबहादुर थापाका अनुसार भीषण वर्षासंगै आएको बाढीले दोर्दी गाउँपालिका–८ हिलेबजारमा सात घर बगााएको छ भने एक घर डुवानमा परेको छ । हिलेबजारका स्थानीय हाल नजिकैको विद्यालय भवनमा बसेका छन् ।
दोर्दीखोलामा निर्माणाधिन जलविद्युत आयोजनामा क्षति
दोर्दीमा निर्माणाधीन५४ मेगावाटको सुपरदोर्दी ’ख’ जलविद्युत आयोजनाको इन्टेक डुबानमा परेको छ भने हिमालयन पावर पार्टनर लिमिटेडले निर्माण गरिरहेको २७ मेगावाटको दोर्दीखोला जलविद्युत आयोजनाको पावर हाउस उच्च जोखिममा रहेको छ ।
बाढीले दोर्दी गाउँपालिका–६ किर्तिपुरमा कुखुराको खोर, मर्स्याङदी–४ च्याम्चेमा बंगुरसहितको खोर, मर्स्याङदीको खुदिमा रहेको पानी उधोग, एउटा रेस्टुरेन्ट, मर्स्याङ्दी गाउँपालिकामा रहेको सब डिभिजन वन कार्यालय समेत बगाएको छ ।
यस्तै बाघेता युवा क्लबले निर्माण गरेको खेलमैदान पनि बगाएको छ । पाउदी नजिकै मर्स्याङ्दी नदी किनारमा रहेको सिद्धेश्वर बाढीले बगाएको डिएसपी थापाले बताए । उनका अनुसार बाढीले धेरै क्षति पुर्‍याएकाले विस्तृत जानकारी आउन बाँकी छ ।
मर्स्याङदी नदी किनार र दोर्दीखोला किनारमा रहेका तटीय बस्तीका मानिसहरुलाई सुरक्षित ठाउँमा बस्न प्रशासनले सूचना जारी गरेर अनुरोध गरेको छ । प्रहरीले पनि जोखिम क्षेत्रका स्थानीयलाई सुरक्षित ठाउँमा बस्न अनुरोध गरेको छ ।