
असार २ हेलम्बु ।
बाढी–पहिरोले हेलम्बु र मेलम्चीमा ठूलो क्षति पुर्याएको छ । मेलम्ची बसपार्कमा रहेका दर्जनौ होटल बगाएको र केही घर डुबानमा परेकाले ठूलो मानविय क्षति भएको अनुमान गर्न सकिन्छ । यद्यपी, बाढी–पहिरोमा परेर मृत्यु भएका र बेपत्ता हुनेको यकिन संख्या अझै पत्ता लागेको छैन ।
मेलम्चीघ्याङ माथिको नामसाङसाङ डाँडो पहिरो बनेर आएपछि मेलम्ची खोला केहीबेर थुनिएको थियो । यही मेलम्ची खोलाले यहाँ विध्वंस गरेको हो । अबिरल वर्षाले गएको पहिरोसँगै आएको भीषण बाढीले सुरुमा नाकोतेको नवनिर्मित पुल बगायो ।
पुलसहित आएको बाढीले हेलम्बुदेखि मेलम्ची बजारसम्म मानवीय र भौतिकरुपमा ठूलो क्षति गरेको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत डिएसपी प्रकाश सापकोटाले दिएको जानकारीअनुसार हेलम्बु वडा नं. १ का तीन पुरुष र एक महिला बेपत्ता भएका छन् ।
मौसम अनुकुल नभएकाले उद्धार कार्य प्रभावित भएको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिए । शेर्पाका अनुसार हालसम्म चार स्थानीय हराइरहेका छन् । बाढीले गरेको मानवीय क्षति हालसम्म यकिन हुन सकेको छैन । उद्धारको लागि नेपाली सेना, सशस्त्र र जनपथ प्रहरी मेलम्चीदेखि हेलम्बुसम्म तैनाथ छन् ।
बाढीले नाकोते, चनौटे, र मेलम्चीको पक्की पुल बगाएको छ । मेलम्चीबाट नवलपुर हुँदै सदरमुकाम चौतारा आउने पक्की पुल बगाएकोले शिखरपुर मेलम्ची सम्पर्कविच्छेद भएको छ ।
ठाउँ–ठाउँमा बिजुलीका पोल ढलेकाले विद्युत अवरुद्ध भएको छ । बाढीले मेलम्चीको बसपार्कमा रहेका ६० होटेल बगाएको छ । मेलम्ची बजारका दर्जनौं घर डुबानमा परेका छन् ।
बहुउद्देश्यीय कभर्ड हल र फनपार्क पनि बगाएको छ । हेलम्बु क्षेत्रमा रहेका सबै ट्राउट माछा फर्म बगाएको छ । माछा पालनसहित रहेको किउलस्थित भण्डारी ट्राउट माछा रिसोर्ट बगाउँदा होटेलमा काम गर्ने कुक हालसम्म वेपत्ता छन् । खोला किनारछेउमा रहेको चनौटे बजार समेत डुवानमा परेको छ ।
बाढीले विध्वंस गरेपछि सभामुख गृहजिल्ला जाँदै
सभामुख अग्निप्रसाद सापकोटा बाढी प्रभावित क्षेत्र सिन्धुपाल्चोकको मेलम्ची क्षेत्र जाने भएका छन् । बाढी पहिरोले आफ्नो गृह जिल्ला सिन्धुपाल्चोकमा क्षति गरेको भन्दै उनी आज १० बजे त्यसतर्फ जान लागेका हुन् ।
सभामुख सापकोटाले आज बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ’सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती नदीमा हिजो साँझदेखि लगातार आइरहेको भीषण बाढीका कारण तटीय क्षेत्रमा भएको अपुरणीय मानविय र भौतिक क्षतिको खबरले स्तब्ध छु । विपत्तिबाट प्रभावित नागरिकको तत्काल उद्धार एवं राहतमा जुट्न सबैमा अपिल गर्दछु ।’
गत सोमबार सभामुख सापकोटा कोभिड–१९ स्वास्थ्य सामाग्री हस्तान्तरण गर्न सिन्धुपाल्चोक पुगेका थिए । उनले बाह्रबिसे नगरपालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्र र बलेफी गाउँपालिकाको जलविरेमा रहेको जलविरे प्राथमिक स्वास्थ्य केन्द्रलाई सामग्री हस्तान्तरण गरेका थिए ।
