महाकालीमा भारतले अवरोध हटाएन, पाँच दिन बित्यो, पत्रको जवाफ पनि दिएन

प्रकाशित मिति : २०७८ जेष्ठ ३१


काठमाडौं । आफ्नो बाटो बनाउँदा गएको पहिरोका कारण नेपालतर्फको अवरुद्ध बनेको बाटो खुलाउने विषयमा भारतले हप्ता दिन बित्न लाग्दा पनि कुनै चासो देखाएको छैन । न त अबरुद्ध बाटो खुलाउन अनुनय विनय गर्दै नेपालका दार्चुला जिल्ला प्रशासन कार्यालयले पठाएको पत्रको नै जवाफ दिएको छ ।

भारतले धारचुला–लिपुलेक सडक निर्माणका क्रममा खसेको चट्टानले गत मंगलबारदेखि नदी थुनि दिएको छ भने नेपालतर्फको बाटो भत्किएको छ । दार्चुलाको व्यास गाउँपालिका–२ स्थित महाकाली किनारको घोडेटो बाटो भत्किएको हो ।

उक्त अवरोध हटाउन बिहीबार दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले भारतको पिथौरागढस्थित धारचुलाका जिल्ला अधिकारी आनन्द स्वरूपलाई पत्र पठाएका थिए । तर पाँच दिन बितिसक्दा पनि भारतीय प्रशासनबाट कुनै जवाफ नआएको दार्चुला जिल्ला प्रशासन कार्यालयले जनाएको छ । यसबारेमा गृह मन्त्रालयमा पनि जानकारी गराइसकेको जिल्ला प्रशासन कार्यालय जनाएको छ ।

भारतले बाटो विस्तार गर्ने क्रममा पहिरो गएको र नेपालको बाटो अवरुद्ध भएकोले पहिरो हटाइदिन नेपालले पत्रमा आग्रह गरेको थियो । तर अहिलेसम्म पनि भारतले पहिरो पनि हटाएको छैन र पत्रको पनि जवाफ दिएको छैन ।

गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले यस विषयमा थप पहल गरिदिन भन्दै परराष्ट्र मन्त्रालयमा आइतबार पत्र पठाइसकेको जानकारी दिएका छन् ।

भारतले सडक निर्माण गरिरहेको स्थान भारतीय भूमि नै भए पनि विष्फोट गराएर बाटो बनाउँदा ठूलो पहिरो खसेर नेपालतर्फ अवरोध बनाएको जिल्ला प्रशासन कार्यालय स्रोतले बतायो ।

भारतले नेपालको भूमि अतिक्रमण गरी लिम्पियाधुरा, लिपुलेक, कालापानी क्षेत्रमा तीव्र रुपमा बाटो विस्तार गरिरहेको छ । नेपालको जनस्तर तथा राजनीति तहमा त्यसको ठूलो विरोध भए पनि नेपालको सरकारले ठोस पहल नगर्दा भारतले नेपाली भूमिमा बाटो बिस्तार अझै पनि रोकेको छैन ।

लिपुलेक, लिम्पियाधुरा र कालापानी रहेको सो क्षेत्र समेतलाई समेटेर नेपालले नयाँ नक्सा जारी गरेको छ । तर नेपाल सरकारले राजनीतिक तथा कुटनीतिक तहमा ठोस वार्ता तथा संवाद नगर्दा नेपाली भूमिमा अहिले पनि भारतले मनलाग्दी गरिरहेको छ ।