महाकालीमा भारतकाे ज्यादती, नेपाली ब्युराेक्रेसीकाे भारत परस्त मनाेविज्ञान

महाकालीमा भारतकाे ज्यादती, नेपाली ब्युराेक्रेसीकाे भारत परस्त मनाेविज्ञान


काठमाडौँ । नेपालकाे राजनीतिमा मात्र हाेइन कर्मचारी प्रशासनमा पनि भारत परस्त मनाेविज्ञान व्याप्त रहेकाे छ । नेपालकाे राजनीतिक र प्रशासनिक क्षेत्रमा राष्ट्रिय स्वाधीनता र स्वाभिमानकाे स्थिति कति कमजाेर छ भन्ने कुरा दार्चुलाका प्रमुख जिल्ला अधिकारी (सिडियो)ले भारतका समकक्षीलाई लेखेको एउटा पत्र हेरे पुग्छ ।

भारतीय पक्षको ज्यादतिका कारण नेपालीले सास्ती पाउँदा प्रशासकले दृढ अडानका साथ आफ्ना कुरा राख्नुपर्नेमा अनुनय, बिनय गर्दै आफ्नै माथिल्लाे प्रशासनिक निकायलाई झै दार्चुलाका सिडियोले लेखेको पत्रले नेपालकाे कर्मचारी प्रशासनमा कति धेरै भारतपरस्त मनोविज्ञान रहेछ भन्ने उजागर गरेको छ । भारतले आफ्नाे सडक खन्ने क्रममा खसेको पहिरोका कारण महाकाली नदी थुनिएर नेपालकाे बाटो अवरुद्ध हुँदा स्थानीय प्रशासनले अडानका साथ अबराेभ हटाएर बाटाे बनाइदिन दृढताका साथ पत्र लेख्न सकेकाे देखिएन । पत्रमा निरिहता देखिएको छ ।

जेठ २५ गते साँझ भारतको पिथौरागढ पाङला ग्रामीण पन्चायतअन्तर्गत पर्ने गर्भाधातु भन्ने स्थानमा सडक मर्मतका क्रममा ब्लास्ट गर्दा सडकको तल र माथिको पुरै चट्टान महाकाली नदीमा खसेर नदी थुनिएको थियो । ब्यास गाउँपालिका- २ कल्जिमुर नजिकै महाकाली थुनिएपछि छाङ्ग्ग्रु र टिँकर जाने गोरेटो बाटोको करिब १५० मीटर पूर्णरुपमा क्षति हुँदा आवागमन अवरुद्ध हुन पुगेको छ ।

यसरी भारतीय पक्षकाे गरेको गल्तीका कारण महाकाली थुनिएर बाटो अवरुद्ध हुँदा नेपाली प्रशासकले बिनम्रतापूर्वक आग्रह गर्दै सहयोग र समन्वयका लागि गुहार मागेकाे देखिएकाे  छ ।  २७ जेठमा पिथौरागढका जिल्ला अधिकारीलाई सम्बोधन गर्दै दार्चुलाका सिडियो सिद्धराज जोशीले लेखेको पत्रमा नदी खोलेर बाटोको सहज आवागमनका लागि सहयोग गरिदिन अनुरोध गरिएको छ ।
‘प्रस्तुत विषयमा यस जिल्लाको ब्यास गाउँपालिका-२ कल्जुखोला नजिक तहाँको सडक निर्माण गर्ने क्रममा जिलेटिन पड्काउँदा माथिबाट पहिरो खसी महाकाली नदीमा पानी जम्मा भई नेपालतर्फको घोरेटो बाटो अवरुद्ध भएकाले तहाँबाटै उक्त जम्मा भएको पानि खोली बाटोको सहज आवागमनका लागि अनुरोध छ’, पत्रमा भनिएको छ ।

गृह मन्त्रालयअन्तर्गतको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखा, सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय र पिथौरागढका उपजिल्ला अधिकारीलाई बोधार्थ गरिएको पत्रमा व्यास-१ स्थित सीता पुलको संरक्षणका लागि तार जाली आवश्यक पर्ने भएकाले सहयोगको मागसमेत गरिएकाे छ ।