डब्लुएचओले दियो कोभिड भेरियन्टको नाम

डब्लुएचओले दियो कोभिड भेरियन्टको नाम

पहिलोपटक पहिचान भएको देशको नामको आधारमा राखिने गरेको कोभिड– १९ को भेरियन्टको नामबारे विवाद हुन थालेपछि विश्व स्वास्थ्य संगठनले कोभिड भाइरसको नयाँ भेरियन्टको नामकरण गरेको छ । डब्लुएचओले भेरियन्ट अफ कन्सर्नभित्र परेका भेरियन्टलाई ग्रिक अल्फाबेटको आधारमा नाम दिएको हो ।
विश्व स्वास्थ्य संगठनले बेलायतमा भेटिएको भेरियन्टलाई ‘अल्फा’, ब्राजिलमा भेटिएको भेरियन्टलाई ‘गामा’, दक्षिण अफ्रिकामा भेटिएको भेरियन्टलाई ‘बेटा’, भारतमा भेटिएको भेरियन्ट ( बी १.६१७.२) लाई ‘डेल्टा’ नाम दिएको छ । भारतमै फेला परेको अर्को भेरियन्ट ( बी– १.६१७.१ ) लाई ‘कप्पा’ नाम दिइएको छ ।
नेपालमा पनि पछिल्लो समयमा पुष्टि भएका बी– १.६१७.२ र बी– १.६१७.१ भेरियन्टलाई भारतीय भेरियन्ट भन्न थालिएपछि भारतले आपत्ति जनाएको थियो । भारतको सञ्चार मन्त्रालयले ‘भारतीय भेरियन्ट’ लेखिएका सबै पोस्ट हटाउन सामाजिक सञ्जाल कम्पनीलाई निर्देशन नै दिएको थियो ।
बी– १.६१७.२ नेपालमा देखिएको पछिल्लो भेरियन्ट हो । जिन सिक्वेन्सिङ गर्दा यो भाइरस निकै संक्रामक रहेको पाइएको छ । बी– १.६१७.२ लाई विश्व स्वास्थ्य संगठनले १० मेमा भेरियन्ट अफ कन्सर्न अर्थात् घातक भाइरसको सूचीमा राखेको थियो । अन्य भेरियन्टलाई पनि ग्रिक अल्फाबेटको आधारमा क्रमश: नाम दिइने बताइएको छ ।
भेरियन्टहरूको नाम ग्रिक वर्णमालाको आधारमा धेरै विचार–विमर्श गरेर मात्र राखिएको डब्लुएचओले बताएको छ । ठाउँको आधारमा नाम दिँदा सम्बन्धित क्षेत्रलाई असर पर्ने भएकोले ग्रिक वर्णमालाबाट छानिएको हो । जस्तै, इबोला भाइरसको नाम कंगोलिस नदीको नामबाट राखिएको थियो ।
स्पेनिस फ्लुको उदगमस्थल अहिलेसम्म पत्ता लागेको छैन । तर, भाइरसको नाम स्पेनको नामबाट राखिँदा देशको प्रतिष्ठामा असर पुगेको भन्दै अहिलेसम्म पनि विवाद हुने गरेको छ । त्यसैले भाइरसको नामका लागि विकल्प खोजिएको हो– डब्लुएचओले भनेको छ ।