भर्चुअल माध्यमबाट इच्छुक स्मृति तथा साँस्कृतिक वलिदान दिवस मनाइयो

भर्चुअल माध्यमबाट इच्छुक स्मृति तथा साँस्कृतिक वलिदान दिवस मनाइयो


१३ जेठ÷काठमाडौं । क्रान्तिकारी पत्रकार महासंघ र अखिल नेपाल जनसाँस्कृतिक महासंघको संयुक्त आयोजनामा भर्चुअल माध्यमबाट १९ औं सहिद कृष्णसेन स्मृति तथा साँस्कृतिक बलिदान दिवस सम्पन्न गरिएको छ । अखिल नेपाल जनसाँस्कृतिक महासंघका महासचिव हिरामणि दुःखीको अध्यक्षता र क्रान्तिकारी पत्रकार महासंघको उपाध्यक्ष नारायण पंज्ञानीको सञ्चालनमा सम्पन्न कार्यक्रममा एक मिनेट मुठ्ठि उठाई सहिद कृष्णसेन इच्छुक लगायत सम्पुर्ण ज्ञात अज्ञात सहिदहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरिएको थियो ।
इच्छुककी जीवनसंगिनी तक्मा केसीले कार्यक्रमलाई सम्बोधन गर्दै इच्छुकको आदर्श त्यागेको हुनाले पनि देशको अहिलेको परिस्थिति सिर्जना भएको बताउनु भयो । यतिवेला इच्छुकको आवश्यकता अझ बढि खट्कीएको महसुस भएको बताउनु हुँदै इच्छुकसँग जोडिएका सङ्घ संस्थाहरुले इच्छुकको महत्वलाई अझ बढि घनिभूत रुपमा स्थापित गरेर लैजानुपर्ने आवश्यकता औल्याउनु भयो । कार्यक्रममा यो विषम परिस्थितिमा पनि भर्चुअल माध्यमबाट बलिदान दिवस मनाउने कार्यक्रमको आयोजना गरिएको भन्दै आयोजक साथीहरुलाई धन्यावाद दिनभयो र ‘अटल छ मेरो आस्थाको सगरमाथा’ बन्दी र चन्द्रागीरिबाट इच्छुकको समयसान्दर्भिक कविता प्रस्तुत गर्नुभयो ।
जनसाँस्कृतिक महासंघका उपाध्यक्ष प्रा.डा.जगदीशचन्द्र भण्डारीले सांस्कृतिक बलिदान दिवसबारे मन्तवय राख्नुहुँदै जनयुद्ध संसारकै फरक खालको सङ्घर्ष भएको बताउनु भयो । इच्छुक लगायतका सांस्कृतिक सहिदहरुले आमूल परिवर्तनको आन्दोलनलाई अगाडि बढाउन अझ बढि प्रेरणा दिएको बताउनु भयो । उहाँले कार्यक्रममा ‘हामीसँगै’ शीर्षकको कविता वाचन गर्नुभएको थियो ।
कार्यक्रममा महिला नेतृ अम्बिका मुड्भरीले इच्छुकको बहुआयामिक व्यक्तित्वको चर्चा गर्नुभएको थियो ।
त्यसैगरी क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष इन्द्र राउतले इच्छुकको पत्रकारिता व्यक्तित्वबारे संक्षिप्तमा प्रकाश पार्नुभएको थियो । उहाँले इच्छुकको शब्द र कर्मको एकतत्वबाट उर्जा र उत्प्रेरणा लिन जनपक्षीय पत्रकारहरुले पनि आफूमा क्रान्तिकारी रुपान्तरण ल्याउनु पर्नेमा जोड दिनु भयो ।
माक्र्सवादी साँस्कृतिक मोर्चाका संयोजक इस्मालीले इच्छुक संवद्ध पार्टी सरकारमा जाँदा पनि इच्छुकका हत्यारालाई दण्ड होइन पुरस्कृत गर्ने काम भएको बताउनु भयो । उहाँले आज सेनलाई बजारको विकाउ मालका रुपमा प्रयोग गर्न थालिएको उल्लेख गर्नु भयो ।
कार्यक्रममा डा.ताराकान्त पाण्डेयले कविताको बारेमा विषयहरु बुभ्mदा कविको जीवनबोधको जानकारी हुने र इच्छुकका कविताले जनयुद्धको सौन्दर्य, नयाँ यथार्थबोध प्रकट गरेको बताउनु भयो । उहाँले भन्नुभयो, “आस्थाको सगरमाथा चुम्ने सङ्कल्प बोकेका छन् इच्छुकका कविताले ।”
उहाँले अगाडि भन्नुभयो, “इच्छुकका कवितामा नारा छैनन्, कलाका हिसावले पनि उनका कविता उत्कृष्ट छन् । उनका कवितामा वर्गबोध छ । निकै सन्दर छन् । प्रकृतिको मानवीकरण, मान्छेको प्रकृतिकरणबाट सुन्दर बिम्ब प्रयोग भएका छन् । भाषाका हिसावले पनि सरल, सुबोध्य भाषामा जनपक्षीय विचार प्रस्तुत भएका छन् उहाँका कवितामा ।”
कार्यक्रममा गौरी देवकोटा, पर्शुराम कोइराला, सुशीला आचार्य, रवी पाण्डे,मधुकर थापा (हाइकु), अनु निरौला लगायत स्रष्टाहरुले कविता वाचन गर्नुभएको थियो ।q