सबै हिसाब राखिनेछ

सबै हिसाब राखिनेछ

              
सबै हिसाब राखिनेछ
एकएक हिसाब राखिनेछ ।

महासय ,
समयको बहिखातामा
दुखी रहेको मनमा
एकोहोरो भइ रहेको मस्तिष्कमा
तिम्रा निर्दयता र निर्लज्जताको
सबै हिसाब राखिनेछ
एकएक हिसाब राखिनेछ ।

तिमी याद राख
र याद राख्ने छौं हामी पनि ,
लकडाउनको नाममा
हजारौं माइल हिडेर
भोकै र प्यासै
घर पुग्न नपाउँदै
बाटोमै ढलेको छोराको
सदगत पनि गर्न नपाएको पीडा
एक गाँस जाउलो ख्वाउन नपाएर
काखैमा कोख उजाडिएको त्यो पल ,
सबै हिसाब राखिनेछ
एकएक हिसाब राखिनेछ ।

पालो पर्खेर बसेको आफन्तको लाश
अस्पतालमा अक्सिजन बेगरको सास
बाँच्ने चाहनामाथी तैंले थोपरेको त्रास
चिताको माथी थोपरिएको कमिसन
लास माथी चुहिन नपाएको आँशुको कथा
एम्बुलेन्स नपाएर उडेको प्राण
बेड नपाएर अस्पतालको चिसो भुइँमा
छट्पटीले तोडिएको बाँच्ने बिश्वास
ढोकाबाट मर्नलागेको आमालाइ
टुलुटुलु हेरेर आँखाबाट बगेको बात्सल्य
सबै हिसाब राखिनेछ
एकएक हिसाब राखिनेछ ।

लाशै लाशैको बिस्कुन लाएर
सत्ताको दोहोरी खेल्दै
कहिले सरकारको नाममा
कहिले प्रतिपक्षको नाममा
तिमिले बजाएका हरेक बेसुरे बाजा
तिम्रो त्यो ताण्डव नृत्य
र तिम्रा सबै हर्कतहरु
सबै हिसाब राखिने छ
एकएक हिसाब राखिनेछ

तिमी लासको कारोबार गर
मृत्युको व्यापार गर
भावनालाइ फर्मानले छेक
विचारलाई लकडाउनले रोक
अक्सिजनको भाँडोमा मात्र हैन
सक्छौ  चिताका हरेक दाउरामा फोटो टाँस
हाम्रो शोकलाइ गिज्ज्याउँदै
तिमिले गरेका ती अट्टहास
सबै हिसाब राखिने छ
एकएक हिसाब राखिने छ ।

सत्ताको भागबण्डा गर
चाहे सत्ताको उन्मादमा
मात्तिएको मैमत्त साढे हौ
चाहे प्रतिपक्षी नामको
बिक्षिप्त साढे होऔ
तिम्रा  सबै झुटको
गरेका सबै अपराधको
तिम्रा कुटिल नियतको
अन्याय र अत्याचारको
सबै हिसाब राखिने छ
एकएक हिसाब राखिनेछ ।

अपमान र ज्यादतीको जालो च्यातेर
शोकलाइ शक्तिमा बदल्दै
समयको बहिखाता खोलिनेछ
आफन्तले फेर्न नपाएको सास
चिताबाट उडदै गरेको धुवाँ
तिमिहरुले जिउँदै मारेको मानवताको
सबै हिसाब गरिनेछ
एकएक हिसाब गरिनेछ ।।

        —  सांस्कृतिक बलिदान दिवस (ज्येष्ठ १३) , २०७८