वलिदान दिवस स्थगित उपयुक्त समयमा वार्षिक कार्यक्रम गरिने

वलिदान दिवस स्थगित उपयुक्त समयमा वार्षिक कार्यक्रम गरिने

९ जेठ÷काठमाडौं
जेठ तेह«को इच्छुक स्मृति तथा सांस्कृतिक वलिदान दिवस यस वर्ष पनि स्थगित गरिएको छ । महान् सांस्कृतिक सहिद कृष्ण सेन ‘इच्छुक’ले सहादत प्राप्त गरेको दिनलाई मुख्य दिन मानेर जनयुद्धका क्रममा सहादत प्राप्त गर्ने सम्पूर्ण सांस्कृतिक क्षेत्रका सहिदहरूको सम्मान र सम्झनामा सांस्कृतिक बलिदान दिवस मनाउने गरिएको छ । अखिल नेपाल जनसांस्कृतिक महासङ्घले यो दिवस विगत १८ वर्षदेखि मनाउँदै आएको छ । २०६३ सालमा इच्छुकका नाममा स्थापित ‘इच्छुक सांस्कृतिक प्रतिष्ठान’ले पनि यो दिवसलाई आफ्नो वार्षिक कार्यक्रम सँगसँगै मनाउने गरेको छ । कहिले एकल र कहिले जनसांस्कृतिक महासङ्घसँग संयुक्त रूपमा मनाउँदै आएको यो कार्यक्रम गत वर्षझैँ यस पटक पनि कोभिड १९को महामारीका कारण बन्दाबन्दी भएकाले स्थगित गरिएको हो ।

इच्छुक सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष तथा अखिल नेपाल जनसांस्कृतिक महासङ्घका महासचिव हिरामणि दुःखीले आज छुट्टाछुट्टै वक्तव्य जारी गर्दै कार्यक्रम स्थगित गरिएको जनाएका छन् । इच्छुक प्रतिष्ठानद्वारा जारी वक्तव्यमा भनिएको छ – ‘कोरोनाजन्य विश्वमहामारी र बन्दाबन्दीको विषम परिस्थितिका कारण गत वर्ष र यस पटक पनि हामी भौतिक रूपमा समूहमा उपस्थित भएर समारोह सम्पन्न गर्ने अवस्थामा रहेनौँ । तथापि विचार र भावनाका तहमा हामी इच्छुकले जीवनपर्यन्त दृढतापूर्वक बहन गर्नु भएको क्रान्तिकारी संस्कृति र त्यसको आदर्शलाई गम्भीरतापूर्वक आत्मासात् गर्दछौँं ।’ वक्तव्यमा अगाडि भनिएको छ– ‘भौतिक रूपले एक ठाउँमा भेला हुन सक्ने अवस्था नरहे पनि मानसिक र भावनात्मक स्तरमा सांस्कृतिक बलिदान दिवसको गर्व र गरिमाबोध गरिरहेका छौं र कृष्ण सेन ‘इच्छुक’लगायत सम्पूर्ण सांस्कृतिक सहिदहरूका आदर्शलाई साहित्य–कलाका सिर्जना, समीक्षा र प्रकाशनमा अझ घनीभूत र व्यापक बनाएर लैजाने आवश्यकताबोधसँगै प्रतिबद्धता व्यक्त गर्दछौंँ’ ।
प्रतिष्ठानले स्थिति सामान्य भएपछि वार्षिक कार्यक्रम गर्ने र सो अवसरमा पूर्व घोषित पुरस्कारहरू प्रदान गर्ने जनाएको छ । साथै बन्दाबन्दी सकिएर माहामारीको प्रभाव

कम भएपछि प्रतिष्ठानका नियमित कार्यक्रमहरू सुचारु गर्ने पनि वक्तव्यमा जनाइएको छ ।
यसैगरी अखिले नेपाल जनसांस्कृतिक महासङ्घले पनि जेठ १३ गतेको कार्यक्रमलाई प्रविधिको प्रयोग गर्दै मनाउने र प्रत्यक्ष रूपमा भेला भएर गरिने कार्य स्थगित भएको जनाएको छ । सो सङ्गठनका महासचिव हिरामणि दुःखीद्वारा हस्ताक्षरित वक्तव्यमा भनिएको छ ‘विषम परिस्थितिका कारण देश यतिबेला बन्दाबन्दीको अवस्थामा छ । तसर्थ हाम्रा कुनै पनि राजनीतिक सांस्कृतिक गतिविधिहरू समूहमा जम्मा भएर गर्ने अवस्था नभएको कुरा सबैमा अवगत नै छ । त्यसैले जेठ १३ गते मनाउने गरिएको सांस्कृतिक वलिदान दिवस यस वर्ष यही विषम परिस्थितिका कारण स्थगित गरिएको जानकारी हाम्रो सङ्गठनका सम्पूर्ण तह तथा आम जनसमुदायमा गराउन चाहन्छौँ ।’ महासङ्घले प्रत्यक्ष सहभागितामा समूहगत रूपमा कार्यक्रम गर्ने परिस्थिति नभएकाले प्रविधको प्रयोग गरेर पनि विभिन्न रचना सिर्जनामार्फत् सम्पन्न गर्न आफ्ना मातहतका सङ्गठनहरूलाई अनुरोध गरेको छ ।

यसै सन्दर्भमा महासङ्घले वर्तमान सरकारको निरङ्कुश कदमको पनि विरोध जनाएको छ । वक्तव्यमा राष्ट्रपति र प्रधानमन्त्रीमिले आफैँले बनाएको संविधानका सीमित उपलब्धिहरू कुल्चँदै देशलाई फासिवादतर्फ धकेल्ने चेष्टा गरेको जनाएको छ । र, सरकारको त्यस रबैयाको सबै साहित्यकार तथा संस्कृतिकर्मीहरूले डटेर भण्डाफोर गर्न र सङ्घर्षमा उत्रन पनि आह्वान गरेको छ ।

‘समग्रमा वर्तमान संविधान देश र जनताको पक्षमा नभएता पनि कतिपय आंशिक उपलब्धिहरू पनि राष्ट्रपति महोदय र प्रधानमन्त्रीको मिलिभगतमा कुल्चने र देशलाई निरङ्कुतातर्फ धकेलेर प्रतिगामी शक्तिलाई टाउको उठाउने वातावरण निर्माण गर्ने कार्य गरिरहेका छन् । हाम्रो सङ्गठन सरकारको यस निरङ्कुश कदमको विरोध, भण्डाफोर र घोर भत्र्सना गर्दछ । साथै सम्पूर्ण अग्रगामी धाराका संस्कृतिकर्मी, साहित्यकार, कवि, कलाकारहरूमा यसको डटेर विरोध गर्न, आफ्ना कलमहरूमार्फत् भण्डाफोर गर्न र आवश्यक परे निर्ममतापूर्वक सङ्घर्षमा उत्रन पनि हार्दिक आह्वान गर्दछौँ ।’ महासङ्घद्वारा जारी वक्तव्यमा भनिएको छ ।